सुनको कोटा बढाउन व्यवसायीको माग

काठमाडौं । कोभिड महामारीको कारण अर्थतन्त्रमा पर्ने असर न्यूनिकरणको लागि भन्दै सरकारले गत वर्षदेखि घटाएको सुनको कोटा बढाउन ब्यवसायीले माग गरेपनि कार्यान्व्यनमा आउन सकेको छैन । सरकारले गत वर्षको चैत १५ गतेदेखि सुनको आयात प्रतिदिन १० केजीमा सिमित गरेको थियो । सोभन्दा अघि दैनिक २० केजी र माग बढी हुने विवाहको लगन परेका महिनामा प्रतिदिन २५ केजीसम्म सुन आयात गर्न पाइने व्यवस्था थियो । सरकारले सुन आयातमा गरेको कडाइ फुकुवा नगर्दा आफूहरुको व्यवसाय नै संकटमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । कोभिड महामारीको कारण देखाएर सरकारले आयात कम गरेको भएपछि अहिले अवस्था समान्य भएको र कोभिड विरुद्धको खोप पनि प्रयोगमा आइसकेकोले कोटा बढाउनु पर्ने उनको भनाइ छ ।

‘कोभिड संक्रमण विस्तार रोक्न भन्दै देशव्यापी लकडाउन जारी गरेपछि गत वर्षको चैत १५ गतेको मन्त्रिपरिषद बैठकले दैनिक १० केजी मात्रै सुन आयात गर्न पाउने व्यवस्था गरेको थियो, अहिले कोभिड संक्रमण दर निकै घटिसकेको , सन्त्रास कम भएको , खोप लगाउन थालिसकिएको हुँदा मन्त्रिपरिषदले निर्णय नगरिदिँदा व्यवसायी समस्यामा परेका छन्,’ उनले भने । यसअघिसम्म उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल राष्ट्र बैंकका अधिकारी संलग्न समितिले सुनको कोटा निर्धारण गर्न सक्ने भएपनि गत वर्ष सरकारले मन्त्रिपरिषदबाटै निर्णय गरेपछि अब कोटा बढाउन पनि मन्त्रिपरिषदले नै निर्णय गरिदिनुपर्ने वाध्यता परेको हो । व्यवसायीले दैनिक ३० केजीसम्म सुन आयात गर्न पाउने गरी व्यवस्था गर्नुपर्ने माग गरेका छन् । एक वर्षदेखि आयातमा कडाइ गरिएको, विवाहको लगन सुरु भएको तथा अहिले सुनको भाउ पनि कम भएकोले दैनिक ३० केजीसम्म सुन आयात गर्ने व्यवस्था मिलाउन आवश्यक भएको पूर्व अध्यक्ष शाक्यले बताए ।

‘यो वर्षको माघ र फागुनमा विहेको लगन थिएनन्, बैशाखमा अब सुनको माग धेरै बढ्ने देखिन्छ, औपचारिक माध्यमबाट दैनिक १० केजी मात्रै सुन आइरहेको छ, यति सुनले माग धान्न सक्दैन, हामीहरु अर्डर लिनै नसक्ने अवस्थामा छौं, फेरि गत साउनमा प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्य अहिले प्रतितोला ८६ हजार ६ सय रुपैयाँ भएको छ, मूल्य पनि कम भएकोले सुनको माग बढेको देखिन्छ, त्यसैले तत्काल दैनिक ३० केजीसम्म सुन आयात गर्ने व्यवस्था आवश्यक देखिएको हो,’ पूर्व अध्यक्ष शाक्यले भने ।

प्रतिक्रिया