‘ओलीले तत्काल राजीनामा दिनुपर्छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । त्यस्तै बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय पनि गरेको छ । सिंहदरबारमा मंगलबार बसेको बैठकले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई सर्वोच्चले नै उल्टाई दिएको अवस्थामा प्रधानमन्त्री पदमा रहन नमिल्ने ठहर गरेको सांसद बर्षमान पुन अनन्तले जानकारी दिए।

उनले सरकारलाई दिएको समर्थन फिर्ता लिने बारेमा पनि कुनै छलफल नभएको बताए । त्यस्तै उनले माओवादीका ६ जना सांसदहरु अर्को दलमा गएको भन्ने विषयमा आफ्नो धारणा पेश गर्न पनि पत्राचार गर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै बैठकले पुष्प कमल दाहाल प्रचण्डलाई दलको नेता र देव गुरुङलाई मुख्य सचेतकमा कायमै राख्ने निर्णय भएको पुनले बताए । बैठकमा संसदीय दलका नेता प्रचण्डले राजनीतिक घटनाक्रममा बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया