काठमाडौं । राष्ट्रिय विभूति अरनिकोको कलायात्रा र योगदानका बारेमा परिचर्चा गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अरनिकोले सिर्जना गरेका वास्तु, मूर्ति तथा चित्रकलाका बारेमा चिनियाँ भाषामा थुप्रै ग्रन्थ लेखिए पनि तिनको विस्तृत रुपमा खोज अनुसन्धान हुन नसकेको विज्ञले जनाएका छन् ।
चिनियाँ भाषामा लेखिएका विभिन्न ग्रन्थको अध्ययन, खोज र अनुसन्धानबाट विभूति अरनिको बारेमा धेरै विषय बाहिर आउने उनीहरुले जिकिर गरे । प्रतिष्ठानद्वारा अरनिको स्मृति दिवस पारेर राजधानीमा आयोजना गरेको कार्यक्रममा गोष्ठी, वृत्तचित्र तथा तस्बिर प्रदर्शनी गरियो । राष्ट्रिय विभूति अरनिकोको जन्म, परिवार, कलाकृति लगायतका बारेमा चिनियाँ ग्रन्थको मिहिन अध्ययन गर्नुपर्ने डा. नरेश शाक्यले जोड दिए ।
उनले अरनिकोसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै चिनियाँ गुफा, गुम्बामा नेपाली कलाकृतिको भण्डार रहेको चर्चा गरे । डा. शाक्यले तिनको अध्ययनका साथै चिनियाँ ग्रन्थको अध्ययनबाट अरनिकोका विषयमा धेरै जानकारी प्राप्त गर्न सकिने विचार व्यक्त गरे । चीनमा नेपाली कलाकारले बनाएका चित्र र मूर्ति प्रशस्त रहेको चर्चा गर्दै युनान वंशको समयमा बनेका चित्र, मूर्ति र वास्तुकलामा नेपाली कलाको प्रष्ट छाप देखिने जिकिर गरे ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले राष्ट्रिय विभूति अरनिको १७ वर्षको उमेरमा नेपाली कलाकारको नेतृत्व गर्दै चीन गएको इतिहासमा पाइएको चर्चा गरे । उनले त्यसअघि अरनिको नेपालको कुन ठाउँका थिए, के कस्ता कलाकृति बनाएका थिए भन्ने विषयमा गहन खोज अनुसन्धान गर्नुपर्ने बताए । सो अवसरमा कुलपति कर्माचार्यले अरनिकोले चीनमा निर्माण गरेका कलाकृति एवं अरनिकोका तस्बिर प्रदर्शनीको उद्घाटन गरे ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव विपिनकुमार घिमिरेले अरनिकोले नेपाली कलालाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याए पनि उनका बारेमा यथेष्ट खोजी कार्य हुन बाँकी रहेको बताए । उपकुलपति गोपाल चित्रकारले कलाकार अरनिकोका बारेमा व्यवस्थित ढंगले खोज कार्यमा विज्ञ लाग्नुपर्ने विचार व्यक्त गरे । प्राज्ञ धर्मराज शाक्यले अरनिकोले नेपाली कला र कलाकारलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।
उनले अरनिकोको सम्मानले नेपाली कलाकारको शिर उँचो हुने भएकाले प्रतिष्ठानले स्मृति दिवस मनाउन थालेको जनाए । प्राज्ञ शाक्यले प्रतिष्ठानले अरनिकोकको सम्मान गर्दै १७ फिटको प्रतिमा कलाकार गंगाधर सारुको नेतृत्वमा देवेन्द्र पाण्डे, चन्द्र मगर र दीपक लामाले निर्माण गरिरहेको जानकारीसमेत दिए । सो कार्यक्रममा प्राज्ञ रमेशनाथ घिमिरे, कलाकार शंकरनाथ रिमाल, परम्परागत कलाकार निमा लामा, सञ्जय शाक्य लगायतले अरनिकोका बारेमा चर्चा गरेका थिए ।
सोही अवसरमा अरनिकोका विषयमा सञ्चारकर्मी सीताराम बडालले तयार पारेको वृत्तचित्र प्रदर्शनी गरिएको थियो । अरनिकोको सम्मानमा हुलाक सेवा विभागले २०२८ सालमा अरनिकोको चित्र अंकित हुलाक टिकट प्रकाशन गरेको थियो । सो टिकटको डिजाइन गरेको कुलपति कर्माचार्यले गरेका थिए । जसमा अरनिकोलाई दौरासुरुवा, टोली लगाएको र पटुका बाँधी काँधमा खास्टो भिरेको देखाइएको छ ।
त्यसपछि सोही चित्रलाई आधार बनाएर विभिन्न कलाकारले अरनिको प्रतिमा तथा चित्र बनाउँदै आएका छन् । त्यस्तै, अरनिकोका बारेमा इतिहासकार बाबुराम आचार्य र शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले पुस्तक गरेका छन् । अरनिकोविद् जोशीले अरनिकोले नेपाली गौरवलाई विदेशमा चिनाएकाले उनका बारेमा अझै खोज अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया