आणविक बम बनाउने युरेनियम काठमाडौंमा भेटियो

काठमाडौं । प्रहरीलाई एउटा निक्कै आश्चर्यचकित एंव पत्याउनै गाह्रो पर्ने सुचना आयो । बौद्धमा रहेकी एक महिलाले साढे दुई केजी आणविक बम बनाउन मिल्ने मुल्यवान धातु युरेनियम बेच्दैछिन् । शुरुमा प्रहरीले पत्यार नलागेपनि सूचनाअनुसार आफै ग्राहक बनेर पुगेको थियो । बौद्ध टुसालमा घर रहेकी ४० वर्षीय जानुका तामाङले युरेनियम बिक्री गर्नका लागि आफ्ना नजिकका मानिसहरुसँग उनले सम्पर्क गरेकी थिइन् । जानुकाले सबैभन्दा पहिलो युरेनियम घरमा रहेको जानकारी रामेछाप लिखु तामाकोशीका नारायण सिंहलाई सुनाएकी थिइन् । जानुकापनि सोही ठाउँकी भएकीले विश्वास गरेर उनले सुनाएकी थिइन् । उनले त्यसपछि यसको बजार मूल्य अर्ब भन्दा बढी भएको सुनाएपछि बिक्री गर्न तयार भएका थिए ।

बिक्री गर्ने र ग्राहक खोज्ने जिम्मा भने सिन्धुली सुनकोसीका २० वर्षीया मनोज न्यौपाने र रामेछाप बागजोरका २० वर्षिय प्रकाश चौहानलाई दिएकी थिइन् । उनीहरूले मानिस खोजेर बिक्री गरे जनही २ करोड रुपैयाँ कमिसन समेत दिने सहमति भएको थियो । सोही सूचना प्रहरीसमक्ष आएपछि ग्राहक बनेर अपरेसन गरेको थियो । उनीहरूले १ अर्ब ५ करोड रुपैयाँ मूल्यमा बिक्री गर्न तयार भएको थियो । सोही क्रममा प्रहरीले चारै जनालाई पक्राउ गर्न सफल भयो । पक्राउ परेर युरेनियम समेत फेला परेपछि प्रहरीलाई पत्यार नै लागेको थिएन ।

प्रहरीले सो युरेनियमलाई विधिविज्ञान प्रयोगशाला पहिलो पटक परीक्षण गराएको थियो । परीक्षणमा युरेनियम भएको पुष्टि भएपछि शुक्रबार पत्रकार सम्मेलन गरेर चारै जनालाई सार्वजनिक गरेको छ । प्रहरीकाअनुसार सो युरेनियम जानुकाका ससुराले २० वर्ष अघि भारतबाट ल्याएको बयान दिएकी छन् । उनको विवाह भएको २० वर्ष भएको र सो युरेनियम उनको विवाह अगाडिदेखि नै घरमा रहेको पक्राउ परेकी जानुकाले प्रहरीलाई जानकारी दिएकी छिन् ।

‘जसले युरेनियम ल्याएको हो सो व्यक्ति भारतको माइनहरूमा काम गर्ने गरेको देखियो । अहिले उनी विदेशतिरै छन्’, महानगरीय प्रहरी कार्यालयका एआइजी हरिबहादुर पालले भने, ‘ती व्यक्तिले २० वर्ष अगाडि नै युरेनियम नेपालमा ल्याएर प्लास्टिकमा पोको पारेर घरको माथिको कुनामा राखेको देखियो ।’ युरेनियम भारतबाट ल्याउने अमर लामा विदेशमा रहेको प्रहरीले जानकारी दिएको छ । उनी शारीरिक रुपमा अशक्त रहेको प्रहरीले जनाएको छ । ‘प्यारालाइसिस भएर शरीर नचल्ने अवस्था रहेछ । हामीले अमेरिकामा कन्ट्याक्ट गरेका थियौँ । ल्याउने मानिस नै प्यारालाइसिस भएपछि थप खुल्न सकेको छैन’, एआइजी पालले भने ।

प्रहरीले बरामद गरेको युरोनियम–२३८ को मूल्य ५ अर्ब भन्दा बढी पर्ने बताइएको छ । जफत भएको युरेनियम प्राकृतिक युरेनियम हो । युरेनियम २३८ लाई प्रशोधन गरेर युरेनियम २३५ बनाइन्छ । एक किलोग्राम युरेनियम २३५ बाट निस्किने ऊर्जा तीन लाख टन कोइलाबाट निस्किने ऊर्जा बराबर हुने मानिन्छ । प्रहरीले पक्राउ गरेका चार जनालाई विस्फोट पदार्थ ऐन २०१८ अन्तर्गत पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । तर, यतिका ठूलो मात्रमा युरेनियम सर्वसाधारण मानिस कहाँ भेटिनु आफैमा अपत्यारिलो देखिएको छ ।

प्रतिक्रिया