अन्यौल र अलमलमा जसपा

काठमाडौं । सरकार निर्माणमा निर्णायक जस्तै देखिएको जनता समाजवादी पार्टी (जसपा) अन्यौल र अलमलमा देखिन थालेको छ । सबै दलसँग समानान्तर रुपमा वार्तामा बसेपनि कसैसँग पनि सहमति गर्न सकेको छैन । सरकारका विषयमा जसपाभित्रै दुई लाइन देखिएपछि उसले निर्णय गर्न नसकेको हो । अध्यक्ष महन्थ ठाकुर सरकारका विषयमा खुल्ला देखिएका छन् भने उपेन्द्र यादव र डा. बाबुराम भट्टराई कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउनुपर्ने पक्षमा उभिएका छन् । तर, जसपाको कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली र एमालेको कार्यदलसँग निरन्तर छलफल पनि गरिरहेको छ । शुक्रबार जसपाले कांग्रेस र एमालेसँग छलफल गरेपनि कुनै ठोस सहमति बन्न सकेको छैन ।
जसपाका यादव–भट्टराई समुहले तीन दल मिलेर ओली नेतृत्व सरकारको विकल्प दिनुपर्ने प्रस्ताव कांग्रेससमक्ष राखेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा शुक्रबार साँझ कांग्रेस र जसपाका शीर्ष नेताहरुको छलफलमा वर्तमान सरकारको विकल्पमा कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर अगाडि बढ्नु पर्ने प्रस्ताव आएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

बैठकपछि कांग्रेस प्रवक्ता शर्माले भने, ‘संसद्को पुनः स्थापनापछि अबको राष्ट्रिय राजनीति हिँड्ने बाटोको सन्दर्भमा खासगरी प्रमुख प्रतिपक्षी दलले अग्रसरता लिनुपर्छ भन्ने सन्दर्भमा उहाँहरुले अपेक्षा पनि राख्नु भयो । सँगै राजनीतिले निकास लिनु पर्ने, त्यो निकासतर्फ अगाडि बढ्दै गर्दा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र जसपा एउटै ठाउँमा उभिँदा उचित हुन्छ भन्ने धारणा उहाँहरुबाट आयो ।’ प्रवक्ता शर्माले खुला र राष्ट्रिय रुपमा साझा धारणा निर्माण हुनुपर्ने सन्दर्भमा मत–अभिमत सबैबाट प्रकट भएपनि टुंगोमा पुगिनसकेको बताए ।
उनले शुक्रबार नै देउवा निवासमा बसेको कांग्रेस वर्तमान र पूर्वपदाधिकारीको बैठकमा पनि ओलीको विकल्पमा जानुपर्ने नेताहरुको मुख्य जोड रहेको जानकारी गराए । प्रवक्ता शर्माले संसद्को अर्को दल माओवादी केन्द्रसहितको बृहत् छलफलपछि केही दिनमै निष्कर्षमा पुगिने विश्वास व्यक्त गरे ।

छलफलबाट बाहिँरिने क्रममा सञ्‍चारकर्मीसँग बोल्दै जसपा अध्यक्ष महन्थ ठाकुरले समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए । ‘कांग्रेससँग सबै विषयमा कुराकानी भयो । अहिलेको अवस्थामा मिलेर जाने, हामीले पनि आफ्ना एजेन्डा राख्यौं । हाम्रा साथीहरु जेलमा छन् । राजबन्दीहरुलाई छोड्नु पर्छ । नागरिकताको समस्या समाधान गर्नुपर्छ, मुद्दा फिर्ता गर्नुपर्छ, यी सबै कुराहरु हामीले भन्यौं’, उनले भने ।
अध्यक्ष ठाकुरले कांग्रेसका नेताहरुले सबै मिलेर जाऔं भनेको तर सहमति भइनसकेको बताए । अब बृहत् छलफलको आवश्यकता रहेको भन्दै माओवादी केन्द्रसँग पनि छलफल गर्ने उनको धारणा थियो । जसपासँगको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री सशांक कोइराला लगायत नेता थिए । त्यस्तै जसपाबाट अध्यक्षहरु महन्थ ठाकुर, उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता राजेन्द्र महतो लगायत थिए । सिंहदरबारमा संसदीय दलको बैठक सकिएपछि जसपा नेताहरु बुढानिलकण्ठ गएका थिए ।

प्रतिक्रिया