सर्वोच्च अदालतको न्यायाधीशमा चुडाल र सुवेदी सिफारिस

काठमाडाैं । न्याय परिषद्ले उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ। आज बसेको परिषद् वैठकले सर्वोच्चमा रिक्त दुई न्यायाधीश पदमा चुडाल र सुवेदीलाई सिफारिस गर्ने निर्णय गरेको हो। अब संसदीय सुनुवाईपछि उनीहरूलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नेछन्।

त्यसैगरी न्यायपरिषद्ले उच्च अदालतमा रिक्त १८ न्यायाधीश पदमा पनि नियुक्तिको सिफारिस गरेको छ। जसमा न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृतहरूमध्येबाट दुई जना नारायणप्रसाद पौडेल (नायव महान्यायाधिवक्ता) र ऋषि राजभण्डारी (सचिव, कानून मन्त्रालय) रहेका छन्।

त्यस्तै जिल्ला न्यायाधीशहरूमध्येबाट सात जना रहेका छन्। जसमा जगतनारायण प्रधान, माधवेन्द्र रेग्मी, पुरुषोत्तमप्रसाद ढकाल, विष्णु सुवेदी, अर्जुनप्रसाद कोइराला, अमृतबहादुर बस्नेत र मेदिनीप्रसाद पौडेल रहेका छन्। त्यसैगरी न्याय सेवाको प्रथम श्रेणीका अधिकृतहरूहध्येबाट दुई जना उच्च अदालतको न्यायाधीशमा सिफारिसमा परेका छन्। जसमा रामेश्वर रेग्मी (रजिष्ट्रार, उच्च अदालत पाटन) र ममता खनाल (सह–रजिष्ट्रार, सर्वोच्च अदालत) छन्।

त्यस्तैगरी सात जना अधिवक्ता पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्। जसमा रसुवाका फुर्पा तामाङ, श्रीधराकुमारी पुडासैनी (सिराहा), जगदीश घिमिरे (सुनसरी), पुनम सिंह चन्द (कञ्चनपुर), सागर विष्ट (काभ्रेपलान्चोक), गणेश ठाकुर (सिराहा) र निर्मला शाक्य (भक्तपुर) रहेका छन्।

प्रतिक्रिया