अमिताभलाई एफआइएएफ अवार्ड

मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चन अन्तर्राष्ट्रिय फेडरेसन अफ फिल्म आर्काइभ्स (एफआइएएफ) द्वारा सम्मानित हुँदैछन् । उनी यो अवार्डबाट सम्मानित हुने पहिलो भारतीय अभिनेता हुनेछन् । चलचित्र क्षेत्रप्रतिको समर्पण र चलचित्र विरासतको संरक्षणमा दिएको योगदानका लागि अमिताभलाई एफआइएएफ अवार्डबाट सम्मान गर्न लागिएको हो । हलिउड चलचित्र निर्माताहरू र एफआइएएफ पुरस्कारका अघिल्ला प्राप्तकर्ताहरू, मार्टिन स्कोर्सेज र क्रिस्टोफर नोलनले यही १९ मार्चमा अमिताभलाई पुरस्कार प्रदान गर्नेछन् । कोरोना कहरका कारण यो कार्यक्रम भर्चुअल माध्यमबाट गरिने जनाइएको छ ।

एफआइएएफ एक विश्वव्यापी संगठन हो । यसले विश्वभरको चलचित्र अभिलेख र संग्रहालय समावेश गर्दै आइरहेको छ । अध्यक्ष फ्रेडरिक मैरेले विज्ञप्ति जारीद्वारा गर्दै भनेको छ, ‘यस वर्षको एफआइएएफले आफ्नो पुरस्कारको बीसौं वार्षिकोत्सव मनाउँदैछ । यो अवसर महत्वपुर्ण बनाउन संसारको सबैभन्दा ठूलो फिल्म स्टारभन्दा राम्रो प्राप्तकर्ता अरू कोही हुन सक्दैन ।’ उनले चलचित्रको क्षेत्रको संरक्षण र महत्वलाई एफआइएएफ काम गर्दै आएको जनाएका छन् । उनले विज्ञप्तिमा लेखेका छन्, ‘जसले चलचित्र संरक्षणको महत्व बुझेको छ, त्यसलाई अँगालेको छ । र यसबारे प्रचार गरेको वर्षौं भइसक्यो ।’

विज्ञप्तिमा बलिउड अभिनेता अमिताभलाई अवार्डबाट सम्मान गर्न लागेको जनाएका छन् । उनले लेखेका छन्, ‘यो अवार्डबाट अमिताभ बच्चनलाई सम्मान गर्दै विश्वलाई हामी विविधतामा कति धनी छौं भन्ने देखाउन चाहन्छौं । यस्तो नाजुक धरोहरलाई सम्हाल्न बच्चनले गरेको कामका लागि हामी सार्वजनिक रूपमा धन्यवाद समेत दिन चाहन्छौं ।’ अभिनेता अमिताभलाई एफआइएएफ अन्तर्गतको फिल्म हेरिटेज फाउन्डेसनद्वारा मनोनयन गरिएको थियो । भारतीय समाचार माध्यमका अनुसार एफआइएएफ अवार्डबाट सम्मानित हुन पाउँदा अमिताभले खुसी व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘एफआइएएफ २०२१ को अवार्ड पाउने खबरमा निकै सम्मानित महशुस गर्दैछु । हामीले फिल्म निर्माण जति आवश्यक हुन्छ त्यति नै फिल्म संग्रह गर्नु पनि महत्वपुर्ण हुन्छ भन्ने बुझ्नुपर्छ ।’ ७८ वर्षीय अमिताभ सन् २०१५ मा फिल्म हेरिटेज फाउन्डेसनको एम्बेसेडर भएका थिए । त्योबेला उनले चलचित्र संरक्षणको महत्वबारे बुझेको बताए ।

प्रतिक्रिया