बलेवामा विकासको लहर

अनेक हिसाबले चर्चामा रहन्छ बागलुङको बलेवा क्षेत्र । ढोरपाटन, गलकोट, कुश्मीशेरा र बलेवा क्षेत्र बागलुङ प्रवेश गरेपछि धेरैले सुन्ने नाम हुन् । बलेवा आर्थिक सामाजिक, सांकृतिक र धार्मिक हिसावले समेत चर्चामा रहने क्षेत्र हो । बागलुङ बजार पछिको सहरी क्षेत्र बिस्तारको सम्भावना रहेको बलेवामा पछिल्लोपटक भइरहेका पूर्वाधार विकासले बलेवाको उज्ज्वल भविष्यको बाटो बनाइरहेका छन् ।

साविकका तीन गाउँ विकास समिति अर्थात् हालको बागलुङ नगरपालिका–१२, १३ र १४ वडा, अमलाचौर, पैयूँपाटा र नारायणस्थानलाई बलेवा नामले बढी चिनिन्छ । यद्यपि, तत्कालीन बाइसे चौविसे राजाका पाला बलेवा कोटमा समाबेश भएका रायडाँडा, भकुण्डे र कुश्मीशेरा पनि बलेवा क्षेत्रअन्तर्गत पर्छन् ।

पछिल्लो समय बलेवा विकासका कामले चर्चामा देखिएको छ । नियमित सञ्चालन हुन नसकेका कारण गौचरणमा परिणत भएको बलेवा बिमानस्थल अहिले कालोपत्रे हुने अन्तिम तयारीमा छ । कुनै अबरोध नआएमा आगामी असार मसान्तभित्रै काम सक्नेगरी निर्माण कम्पनीले धमाधम काम गरिरहेको छ । विमानस्थल क्षेत्रको भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीको दावी छ ।

‘रनवे’ धावनमार्ग कालोपत्रे गर्ने तयारी हुँदै गर्दा ०४८ साल अघिको जस्तै उत्साह स्थानीयमा छ । ‘कालोपत्रे भएपछि जहाज चल्छन् भन्ने लागेको छ’ स्थानीय उमानाथ सिग्देलले भने, ‘जहाज चल्दा हामी यहाँका मान्छेको दैनिकी नै फेरिन्छ ।’ उमानाथको आशा जस्तै बलेवा बिमानस्थलले धेरै क्षेत्रमा प्रभाव राख्न सक्छ । विमानस्थलको भौतिक प्रगति ७५ प्रतिशत रहेको विमानस्थल निर्माण कम्पनीका इञ्जिनियर चिरञ्जीवी खडकाले जानकारी दिए । ‘अरु धेरै निर्माणका काम सकिएका छन्, अब धावनमार्ग सम्याउने र कालोपत्र गर्ने काम बाँकी छ, समयमै सकिन्छ’ उनले भने । आगमी जेठ महिनासम्म तयारी विमानस्थल नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गर्ने तयारी निर्माण कम्पनीले गरेको छ ।

गत फागुनमा सम्पन्न हुनुपर्ने विमानस्थलको काम कोरोना महामारीका कारण प्रभावित भएको थियो । सरकारले थप गरेको समय सीमाभित्र नै निर्माण काम सकिने निर्माण कम्पनीको भनाइ छ । करिब २६ वर्ष बन्द अवस्थमा रहेको विमानस्थल बागलुङ नगरपालिकालमा जनप्रतिनिधि आएपछि जनप्रतिनिधिको पहलमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालनमा आएको थियो । नेपाल एयरलाइन्स र तारा एयरलायन्सका जहाजले केही महिना उडान भरे पनि हिलो र धुलोका कारण नियमित उडान हुन सकेको थिएन ।

राष्ट्रिय गौरवको सडक आयोजना कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल बागलुङ बजारदेखि १३ किलोमिटर दक्षिणमा पर्छ । हवाई सेवा नियमित भएमा बागलुङका साथै छिमेकी पर्वत, म्याग्दीका जनतालाई सुविधा पुग्नेछ । ०४८ सालमा पोखरा–बागलुङ सडक सञ्चालनमा आउनुपूर्व बलेवाको आकाशमा दैनिक हवाईजहाज उडेको देख्नेहरू अहिले कालोपत्रेपछि फेरी जहाज उड्ने आशामा छन् । बलेवा बिमानस्थल बागलुङको चर्चित ठाउँ बलेवाको पहिचान पनि हो । यहाँका अन्य विकासका संरचनासँग समेत बिमानस्थलको पारस्परिक सम्बन्ध रहन्छ ।

बलेवामा विकास भइरहेको अर्को पाटो सडक हो । बागलुङ–कुश्मीशेरा सडकको २१ किलोमिटर खण्डमध्ये झण्डै १६ किलोमिटर सडक बलेवा क्षेत्रमा पर्छ । गण्डकी प्रदेश सरकारले यो सडकको १० किलोमिटर खण्ड बलेवा पैयूँपाटाको पाग्जादेखि अमलाचौरको सरंगेसम्म कालोपत्रे गरिरहेको छ । कामको जिम्मेबारी पाएको निर्माण कम्पनीका अनुसार आउँदो वैशाखभित्रै यो सडक कालोपत्रले टल्किने छ । ‘हामी काम गरिरहेका छौं, पाएको अबधि भन्दा केही समय पहिला नै हस्तान्त्रण गर्दैछौं’ निर्माण कम्पनी प्यासेफिक कर्ण जेभीका प्रतिनिधि सन्दिप श्रेष्ठले भने ।

यो सडक कालोपत्रे हुँदा बलेवा क्षेत्रमा मात्रै कालोपत्रे सडकको क्षेत्र १४ किलोमिटर पुग्छ । बलेवाकै टाकुरीमा भएको कालोपत्र, गलुवादेखि पाग्दासम्मको कालोपत्र र कैयामा भएको कालोपत्र जोडिँदा कालोपत्रे सडक धेरै हुने गाउँमा बलेवा सूचिकृत हुनेछ । बागलुङ नगरपालिका र नेपाल सरकारको समपुरक साझेदारीमा प्रसिद्ध कालभैरव मन्दिर जाने सडकको स्तरोन्नती र कालोपत्रको काम चलिरहेको छ ।

तीन वर्ष अबधि रहेको यो सडकको कामले समेत गति लिएकाले बलेवा विकासको अर्को पाटो यो सडक हुनेछ । पाग्जादेखि बास्कोटसम्म कालोपत्र भएको सडकलाई केही वर्षभित्रै कालभैरव मन्दिर अमलाचौरको काउलेसम्म जोडिने छ । यो सडक सहज भएमा बलेवा कालभैरवको गरिमा थप चुलिने र त्यहाँ पुग्ने दर्शनार्थीको संख्या बढ्ने कालभैरव र बलेवा कोटका अध्येता डा.टिकाराम आचार्यले बताए ।

‘इतिहासको अध्ययन गर्दा बलेवाको गौरवपूर्ण आफ्नै इतिहास रहेको पाएँ’ आचार्यले भने, ‘धार्मिक पर्यटनको सम्भावना प्रचुर देखिन्छ, जसका लागि पूर्वाधार आवश्यक हो ।’ आचार्यले बलेवामा भइरहेको विकासले अहिलको दैनिकी र आवश्यकताको पूर्ति गर्दै आर्थिक उन्नयनमा सहयोग गर्ने बताए ।

सम्भावनाका हिसावले प्रचुर आर्थिक लाभ लिन सकिने बलेवामा साहसिक प्याराग्लाइडिङको तयारी पनि छ । बिमानस्थल र प्याराग्लाइडिङ सञ्चालन एक अर्काका बाधक बन्न सक्छन् तर बलेवाका तीन गाउँमध्ये कुनै एक गाउँमा प्याराग्लाइडिङको व्यवस्थापन गर्नेगरी अहिले धमाधम पूर्वाधार निर्माणको काम भइरहेको छ । ‘पैयूँपाटाको पहरेमा हामीले प्याराग्लाइडिङ उडाउनका लागि पूर्वाधार बनाइरहेका छौं’ निर्माण समितिका सचिव भरत पौडेलले भने, ‘बलेवामा प्याराग्लाइडिङ उड्छ, पोखरासँग बलेवालाई जोडेर साहसिक पर्यटक भित्राउने लक्ष छ ।’

यहाँ प्याराग्लाइडिङ सञ्चालन भएमा बिमानस्थल सञ्चालन, होटल तथा रेष्टुरेन्ट व्यवसाय, पर्यटकीय क्षेत्रको थप प्रचार र अन्य आर्थिक क्षेत्रमासमेत सकरात्मक प्रभाव पर्ने उनको विश्वास छ । कालिगण्डकीको तिरदेखि भकुण्डेको शिर जोड्ने बलेवालीको अभियान सफल बनाउने सेतु पनि प्याराग्लाइडिङ बन्न सक्छ । उड्ने ठाउँ र झर्ने डाउँलाई जोड्नका लागि सडकलाई सवल बनाउनुपर्ने भएकाले बागलुङ बजार र बलेवाका तीन वडा जोड्ने रिङ रोड बनाउन थप दबाब सिर्जना हुनेमा स्थानीय आशावादी छन् ।

बलेवाको विकास देखिनेगरी सरकारी तवरबाट जसरी कामहरू भइरहेका छन् निजी क्षेत्रको लगानीले पनि बलेवा क्षेत्रको उज्यालो देखाइरहेका छन् । प्रायः पर्वतको भनेर परिचय गराइने साहसिक खेल बञ्जी जम्पको आधार क्षेत्र बलेवा नै हो । पर्वतको कुश्मा र बागलुङको बलेवा नारायणस्थान जोड्नेगरी झोलुंगे पुल बनायर ‘द क्लिफ’ प्रा.लिले बञ्जीजम्प सञ्चालनमा ल्याएको छ ।

कम्पनीमा अधिकांश लगानीकर्ता पर्वतका भएकोले पर्वतको बञ्जी भनेर प्रचार हुने गरेको छ तर बञ्जीको आधार क्षेत्र भने बलेवा नै हो । झण्डै २३ रोपनी जमिन खरिद गरेर बलेवामा ‘द क्लिफ’ले संरचना बनाएको छ । सँगै रिसोर्ट सञ्चालनमा रहेकाले रात बिताएर बञ्जी गर्न आउनेहरूको बसोबास एक रात भएपनि बलेवामा हुने गरेको छ । पहिले सीरु फुल्ने नारायणस्थानको नेपानेमा अहिले भने बाँसको तामाको मूल्य पर्छ । सो कम्पनीका अध्यक्ष राजु कार्कीका अनुसार बलेवा क्षेत्रका छ जना बढीले उक्त कम्पनीअन्तर्गत रोजगारी पाएका छन् ।

कुश्मा र बलेवासँग जोडिएको अर्को पूर्वाधार हो यान्त्रिक पुल । उद्योग बाणिज्य संघ पर्वतको पहलमा सञ्चालनमा रहेको यो पुल कुश्मा कैया झोलुंगे पुल निर्माण पूर्व निकै चर्चामा थियो । पर्वतको सरदमुकाम कुश्मा बजारलाई बलेवासँग जोड्न कालिगण्डकीमाथि बनेको यो पुलले बलेवाको पर्यटन र बागलुङको दक्षिण क्षेत्रलाई शहरसँग जोड्न ठुलो योगदान पु¥यायो । अहिले पनि निरन्तर सञ्चालनमा रहेको यो पुलका संरचना समेत सबै बलेवामा बनेका छन् । यान्त्रिक पुल सञ्चालनका लागि आवश्यक जनशक्ति बलेवाकै प्रयोग भएकाले रोजगारीसँग युवाहरू जोडिएका छन् ।

धार्मिक पर्यटनका हिसावले महत्वपूर्ण मानिने कालभैरव, साहसिक पर्यटनका हिसावले महत्वपूर्ण मानिने प्याराग्लाइडिङ र बञ्जीजम्प, पूर्वाधारको महत्वपूर्ण आधार सडक तथा बिमानस्थल सबै क्षेत्रको काम एकैपटक भइरहेकाले अबका केही वर्षमा बलेवाले थप उज्यालो बाटो अंगाल्ने जानकारहरू बताउँछन् । ‘समय सधैँ एकैनाश रहँदैन, हिजो राजाका पालाको शाख जोगाउन अहिले भइरहेको प्रयास बलेवाको उन्नतीमा सकरात्मक छ’ डा. आचार्यले भने ।

कलकल बग्ने काली गण्डकीको किनार, लहलह खेतीपाती हुने दम्कको फाँट, सलक्क बसेको जमिनमा घनाबस्ती रहेको नारायणस्थानको हटिया, टल्केका हिम शृंखला देखिने पहरेको लेक, आस्थाको धरोहर कालभैरव मन्दिर बलेवाका सान हुन् । बलेवामा रहेको जैविक विविधताको प्रचार, धार्मिक तथा प्राकृतिक पर्यटनको प्रचार र सांकृतिक तथा पौराणिक कथनहरूको प्रयोग बलेवा बिकासका आधारहरू हुन् । बलेवाको विकासले जिल्लाको मात्रै होइन छिमेकी जिल्ला पर्वतसँग समेत महत्वपूर्ण अर्थ राख्छ ।

शिक्षा क्षेत्रमा समेत बलेवा अगाडि रहेको छ । पछिल्लो समय विद्यार्थीको खोजी र चाहनाअनुसार बलेवामा प्राबिधिक शिक्षाका लागि धवलागिरी पोलिटेक्निक इन्स्टिच्युट, पैयूँपाटामा कृषि विज्ञान र नारायणस्थानको गाणेश माध्यमिक विद्यालय गण्डकी प्रदेशकै उत्कृष्ट विद्यालय बन्नु बलेवा क्षेत्रको अर्को गौरव हो । न्युन दृष्टि भएकाहरूको लागि आवासीय सुविधासहित ब्रेल लिपीको पठनपाठन समेत बलेवाकै जनताधन माध्यमिक विद्यालयमा उपलब्ध छ । जिल्लामै पहिलो पटक लिफ्टिीङ प्रबिधिको ठूलो आयोजना सञ्चालनमा ल्याएर नारायणस्थानले थप नमुना प्रस्तुत गरेको छ ।

कृषिमा सामूहिक नगदेबालीको प्रयास बलेवामा सुरु भएको छ । चासो कृषक समूहले अमलाचौरको सहेँला फाँटमा जमीन एकीकृत गरेर सुरु गरेको कागती खेती यसको नमुना हो । यसको प्रतिफल आउने बेलासम्ममा यो जिल्लाकै नमूना सामूहिक खेती हुनेमा समूहका अध्यक्ष केशव सुवेदी विश्वस्त छन् । अमलाचौरको टाकुरीमा दैनिक पाँच सय लिटर दूध उत्पादन हुन्छ । दूध बिक्रीबाट भएको आम्दानीका कारण दूध उत्पादनमा युवाहरूको सहभागिता बढ्दै गएको छ ।

उता पैयूँपाटाका किसानले घर घरमै व्यावसायिक तरकारी खेतीका लागि बनाएका प्लाष्टिक घरले कृषिमा नयाँ आयाम दिनेछ भने वडा नं १४ नारायणस्थानले एक घर एक फलफूलका बिरुवा कार्यक्रम ल्याएर कृषिमा अर्को प्रयास थालेको छ । समग्रमा बलेवाका हरेक गाउँमा विकासका कुनै न कुनै नवीन प्रयासहरू जारी छन् ।

प्रतिक्रिया