नयाँ रणनीतिमा देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आन्तरिक समिक्षामा जुटेका छन् । तत्कालिन नेकपाको दाहाल–नेपाल खेमाको सहयोगमा प्रधानमन्त्री बन्ने रणनीति अन्तिम अवस्थामा तुहिएपछि कांग्रेस सभापति देउवा आन्तरिक आत्मासमिक्षामा जुटेका हुन् । कांग्रेस सभापति देउवा र पुष्पकमल दाहालबीच फागुन २१ गते राती तीन बुँदे गोप्य सहमति बनेको उनि निकट स्रोतले दावी गरेको छ । सहमतिमा २३ गते संसदको पहिलो बैठकमै अविश्वासको प्रस्ताव पेश गर्ने र सभामुखमाफैत फाष्टट्रयाकमा प्रस्ताव अघि बढाउँदै २५ गते भित्रै ओलीलाई विस्थापित गरेर देउवालाई प्रधानमन्त्री बनाउने रणनीति थियो ।

प्रधानमन्त्रीको सपथ ग्रहणका लागि देउवाले ज्योतिषीसँग समेत साइत हेराई सकेको बताइएको छ । ज्योतिषीले फागुन २५ गते मंगलबार साँझ उत्तम साइत निकालेका थिए । त्यो साइतमा नभ्याए २७ गते विहिबार उपयुक्त हुने बताएका थिए । ज्योतिषीले फागुन भित्र प्रधानमन्त्री नबने आगामी फागुनसम्म पर्खनु पर्ने सल्लाह दिएको थियो । २३ गते सर्वोच्च अदालतले नेकपालाई एकीकरण पूर्वकै अवस्थामा फर्काएपछि देउवा छाँगाबाट खसेझैँ भएका छन् । उनी न्यायधीश कुमार रेग्मीसँग धेरै नै आक्रोसित भएको देउवा निकट नेताहरु बताउँछन् ।

रेग्मी सर्वोच्च अदालतको न्यायधीश बन्नुमा देउवा पत्नी आरजु राणाको धेरै ठूलो योगदान रहेको बताइएको छ । सर्वोच्च अदालतमा रिक्त सबै न्यायधीशको नियुक्ति २०७४ भदौमै गर्ने तयारी तत्कालिन कानूनमन्त्री यज्ञवहादुर थापाले अघि बढाएका थिए । तर, त्यतिबेला रेग्मीको योग्यता ८ महिना कम हुने देखिएपछि तत्कालिन प्रधानमन्त्री देउवाले नियुक्ति थाति राखेका थिए । प्रधानमन्त्री केपी ओलीसँग विशेष अनुरोध नै गरेर रेग्मीलाई देउवाले न्यायधीशमा छिराएको बताइन्छ । यति महत्वपूर्ण फैसला गर्दा समेत आँफूलाई नसोधेको भन्दै रेग्मीसँग देउवा आक्रोसित बनेको कांग्रेस नेताहरुको भनाई छ ।

एमाले र माओवादी केन्द्र ब्युँतिएको अवस्थामा नेपाली कांग्रेस सत्ता समिकरणको निर्णायक शक्तिको हैसियत पनि गुमाएको छ । एमाले र माओदी केन्द्र नब्युँतिदासम्म नेपाली कांग्रेसको सहयोग विना सरकार नै नबन्ने अवस्था थियो । तर यी दुई पार्टी ब्युँतिएपछि नेपाली कांग्रेस सँग सत्ताको साँचो छैन । माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आफ्ना सांसद यथावत राख्न सकेको अवस्थामा मात्रै यी तीन पार्टी वीच झिनो बहुमत पुग्ने अवस्था छ ।

दुई पार्टी ब्युँतिएपछि गत मंगलबार नयाँ सरकार गठनको प्रस्ताव लिएर गएका माओवादी केन्द्रका अध्यक्ष दाहालसँग कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीलाई विस्थापित गर्ने बलियो गृहकार्य गरेर मात्रै भावि रणनीति तयार गर्न सुझाव दिएका थिए । देउवाको भनाई थियो, ‘तपाईहरुका १०–१२ जना सांसद उता लागिदिए भने के गर्नु हुन्छ ?, मधेसीदलको विश्वास कसरी गर्ने ? यसको निक्र्योल हुन कम्तिमा एक महिना लाग्छ, त्यस अवधीसम्म आन्तिरिक गृहकार्यमा जुटौं ।’

देउवाले नयाँ रणनीति बनाउन दाहालसँग भनेपनि आगामी मंसीरमा मध्यावधी निर्वाचन गर्ने सहमति जसले दिन्छ उही पक्षसँग समिकरण बनाउनु पर्ने मत कांग्रेस भित्र बलियो बन्दै गएको छ । इतर पक्षले त यो माग सुरु गरिसकेको छ । संस्थापन पक्ष भित्र पनि बिमलेन्द्र निधिदेखि गोपालमान श्रेष्ठसम्म र एनपी साउद देखि पूर्णबहादुर खड्कासम्मका नेताहरुले ‘अर्ली इलेक्सन’ को कुरा उठाइसकेका छन् । नेपाली कांग्रेसका प्राय प्रभावशाली नेताहरुले गत निर्वाचनमा हारेका कारण पनि ‘अर्ली इलेक्सनको’ कुरा अघि बढेका हुन् ।

कांग्रेस सभापति देउवा भित्री रुपमा भने ओलीसँग समिकरण गर्ने पक्षमा छन् । प्रधानमन्त्री आफुले नपाए ओलीलाई सहयोग गर्नुपर्ने उनको चाहाना रहेको छ । पार्टी भित्रको समिकरणका कारण उनले सो कुरा खोलेर पनि भन्न सकेको छैनन् । ओलीसँग समिकरण गर्दा धेरै मन्त्रालय पाइने, सरकारमा दुई तिहाई बहुमत हुने भएकोले सभामुख र उपराष्ट्रपति पाउने संभावना पनि रहने भन्दै देउवा निकटस्थ व्यापारी व्यवसायीहरुले नेता ज्ञानेन्द्रबहादुर कार्कीमार्फत देउवालाई लविङ गरिरहेका छन् ।

नजिकको पारिवारिक सम्बन्धका कारण राष्ट्रपति विद्या भण्डारीसँग कांग्रेस नेता कार्कीको प्राय जसो भेटघाट भइरहन्छ । आफू प्रधानमन्त्री नबने पनि सरकारमा तथा विभिन्न पदमा धेरैलाई नियुक्ति दिलाउन सके आगामी भदौमा हुन गइरहेको १४ औं महाधिबशेन आफ्ना लागि सहज हुने जोड घटाउमा देउवा रहेका छन् । देउवाले सार्वजनिक रुपमै भनेका छन्,‘ प्रधानमन्त्री बन्ने भन्दा फेरी पार्टी सभापतिमा निर्वाचित हुने मेरो प्राथमिकता हो ।’ त्यसैले जुन समिकरणमा लाग्दा धेरैलाई मन्त्री बनाउन सकिन्छ वा राजनीतिक नियुक्ति दिलाउन सकिन्छ त्यतै लाग्ने तरखरमा देउवा रहेका छन् ।

प्रतिक्रिया