खनाल-नेपाल पक्षले ओलीपक्षको व्यवहारको लिखित रुपमा विरोध जनाउने

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका गतिविधिप्रति एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले लिखित रुपमा विरोध जनाउने भएको छ । सर्वोच्च अदालतले एमाले ब्युँताइदिएपछि खनाल-नेपाल पक्षलाई ओली पक्षद्वारा गरिएको व्यवहारलाई लिएर विरोध जनाउने निर्णय बिहीबारको स्थायी कमिटीको भेलाले गरेको हो ।

खनाल-नेपाल पक्षका एक स्थायी कमिटी सदस्यका अनुसार ओली पक्षले पार्टी कार्यालय कब्जा गर्ने, आफ्नो पक्षका नेता/कार्यकर्तालाई अपमानित गर्नेलगायत काम गरेकाले त्यसको लिखित भत्सर्ना गर्न लागिएको हो । स्थायी कमिटी भेलाले विगतको समीक्षा गर्दै पार्टी एकताका लागि आफ्नो तर्फबाट पहल गर्ने निष्कर्ष निकालेको छ । आफूनिकट नेता/कार्यकर्तालाई पार्टी एकीकरणका लागि अग्रसर हुन तर ओली पक्षको अराजकताको डटेर सामना गर्दै उचित जवाफ दिन निर्देशन दिने पनि बताइएको छ ।

ओली पक्षले राजनीतिक व्यवहार नगरेको भन्दै तल्लो तहका नेता कार्यकर्ताले फरक पार्टी निर्माणका लागि नेताहरुलाई प्रस्ताव गरेको कुरा पनि बैठकमा उठेको थियो । तत्काललाई कार्यकर्ताको गुनासो सम्बोधन हुने गरी लिखित विरोध जनाउने निर्णय गरिएको बताइएको छ । ओली पक्षले आगामी दिनमा गर्ने व्यवहारका आधारमा थप रणनीति तय गर्ने तयारी खनाल-नेपाल पक्षको छ ।

प्रतिक्रिया