नदीमा हाम्फालेर सामुहिक आत्महत्या : मदिराले पारिवारिक कलह !

दैलेख । आठबीस नगरपालिका–३ निमायलका मानसिह बडुवाल गत आइतवार मदिरा सेवन गरी बजारमा होहल्ला गरिरहेका थिए । होहल्ला गरेको थाहा पाएपछि उनकी श्रीमती ३५ वर्षिया सुकी बडुवालले गएर घरमा ल्याएकी थिइन् । आइतबार घरमै रहेका उनिहरु सोमबार विहान चार बजे नै सुकी चार सन्तानसहित घरबाट निस्किइन् । विहानै झिसमिसेमा घरबाट निस्किएकी उनिहरु पाँचै जना बेपत्ता भए । खोज्दै जाँदा आमा सहित बेपत्ता भएका मध्ये १५ बर्षीया कल्पना वडुवाल र १२ बर्षीया सरिता बडुवालको शव सोमवार दिउँसो फेला प¥यो । उनिहरुको शव अछामको पञ्चदेवल विनायक नगरपालिका –४ बेलखेतस्थित कर्णाली नदीमा माछा मार्ने प्रयोग गरिएको पासोमा बेरिएको अवस्थामा फेला परेको हो ।

स्थानीयकाअनुसार दुई बहिनी कल्पना सरिता बाधेर हाम फालेको अवस्थामा फेला परको बताएका छन् । शव भेटिएको स्थानबाट खोज्दै जाँदा मध्यपहाडी पुष्पलाल लोकमार्गको अक्षाम जोड्ने पुल भन्दा दुई सय मिटर पर रहेको लाड्नेको भीरबाट हामफालेको पुष्टि भएको छ । दुई बहिनीमा बाँधेको बरियो घरमा डोकोमा लगाइएको थियो । घरमा समय लाग्ने र सबैले थाहा पाँउने भएपछि डोको सहित त्यहाँ ल्याएको देखिन्छ । त्यहाँ डोको मात्र नभएर चप्पल पनि भेटिएको छ । त्यसैका आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाहरू खटिए पछि मंगलवार १२ बजे आमा सुकी बडुवाल र उनका छोरा १० बर्षीया ललित बडुवालको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले थप दुई जनाको शव पनि कर्णाली नदिमै भेटिएपछि पाँचै जनाले कर्णाली नदिमा हाम फालेको पुष्टि भएको बताए । उनले भने, ‘अनुसन्धानमा थप केही प्रमाण भेटिएलान तर प्रारम्भिकमा हेर्दा सबैले आत्महत्या गर्न कर्णालीमा हाम फालेको देखिन्छ ।’

नावलक छोरा र तीन छोरी सहित आमाले कर्णालीमा हाम फालेर ज्यान गुमाए पछि निमायलमा रहेका ७० घरधुरीका स्थानीय कसैको आँखा ओभानो छैन । निमायल गाउँमात्र नभएर आठबीस नगरपालिका पूरै शोकमग्न छ । कर्णाली नदिमा हाम फालेर मृत्यु भएका परिवार र आफन्तलाई समबेदना दिन त्यहाँ पुगेको आफन्तजन सबै भावबिह्वल छन् । मृतक सुकी बडुवालले भाई मानेकी हरिबहादुर शाहीले भने घरमा सामान्य बिवाद हुने गरेको बताए । उनले घरमा श्रीमानले मदिरा सेवन गरेर आउँने र गाली गर्ने समस्याले यो घटना निम्त्याएको हुन सक्ने अनुमान गरे । उनले घरमा छोरीहरु दिन प्रतिदिन ठूलो हुँदै गए पनि बाबुले गर्ने व्यवहारले दिक्क भएर यो निर्णयमा सबै जना पुगेको हुन सक्ने बताए ।

उनीसहित उनका दुई छोरी र १० वर्षीय छोरा ललितको शव भेटिएपनि ७ वर्षिया छोरी रजनी बडुवाल अझै बेपत्ता छिन् । घटनापछि प्रहरीले मृतक सुकीका श्रीमान मानसिहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी प्रमुख श्रेष्ठका अनुसार स्थानीय नागरिकका अनुसार श्रीमान मदिरा सेवन गर्ने र घरमा विबाद हुने कुरा आएको छ । त्यसलै यो घटना घट्न गयो वा अन्य कुनै कारण हो त्यो अनुसन्धान गर्न पनि नियन्त्रणमा लिनु पर्ने भएका कारण अहिले इलाका प्रहरी कार्यालय राकमकर्णालीमा राखेको बताए । मृतक चारै जनाको शव पोष्टमार्टमका लागि अछाम लगिएको छ ।

प्रतिक्रिया