महिला दिवसमा ‘लैंगिक समानता र हाम्रो धर्म’ विषयक गोष्ठी

स्याङ्जा । देशभर १११औँ अन्तर्राष्ट्रिय महिला दिवस भव्यताको साथ मनाइएको छ । त्यसैक्रममा स्याङ्जाको पुतलीबजार नगरपालिकाले आजको दिनलाई ‘लैंगिक समानता र हाम्रो धर्म’ विषयक कार्यशाला गोष्ठीको आयोजना गरेको छ । लैंगिक विभेद र समानतामा धर्मको व्याख्या कसरी भएको छ भन्ने विषयमा गोष्ठी गरिएको हो । लैंगिक विभेदको कारण धर्म हो वा हाम्रो व्यवहार हो भन्ने विषयमा गोष्ठीको आयोजना गरिएको पुतलीबजार नगरपालिकाका नगरप्रमुख सीमाकुमारी क्षेत्रीले बताइन् । उनले भनिन्, ‘चार वटा धर्मको कार्यपत्र प्रस्तुत भयो तर कुनै धर्मले महिला र पुरुषबीच विभेद गरेको पाइएन । हाम्रो समाजमा महिला हिंसा र असमानता भने कायमै छ, मानवीय व्यवहार परिवर्तन गर्नु आजको आवश्यकता हो ।’

उक्त गोष्ठीमा चार जना धर्म गुरुले कार्यपत्र प्रस्तुत गरेका थिए । इसाई धर्मको तर्फबाट जयनारायण श्रेष्ठ, इस्लामको तर्फबाट शेर अली मिया, बौद्धको तर्फबाट भगवत गुरुङ र हिन्दूको तर्फबाट डा.शालिग्राम सुवेदीले कार्यपत्र प्रस्तुत गरेका थिए । कुनै धर्मले महिला पुरुषलाई विभेद नगरेको कार्यपत्र प्रस्तुत गरिए पनि समाजमा विद्यमान महिला हिंसा, लैंगिक विभेदजस्ता विषयलाई निराकरण गर्नुपर्ने जिल्ला समन्वय समिति महासंघका अध्यक्ष सीता सुन्दासले बताइन् । नेपालको संंविधानले महिलाको हकअधिकारलाई सुनिश्चित गरेको भए पनि व्यवहारमा लागू हुन नसकेको सुन्दास बताउँछिन् ।

यस्तै धर्मको नाममा हुने महिला हिंसा अन्त्य गनुपर्ने र धर्मले कसैलाई विभेद नगरेको विन्ध्यवासिनी संस्कृत विद्यापीठका प्राध्यापक डा.शालिग्राम सुबेदीले बताए । सुवेदीले भने, ‘हिन्दू सनातन धर्मले देवीलाई नारी र नारीलाई शक्तीको रूपमा परिभाषित गरेको छ । धर्ममा कुनै विभेद छैन ।’ दिवसको रूपमा मात्र नभई नगरभित्र लैंगिक विभेदको अन्त्य गर्न अभियानकै रूपमा नगरपालिकाले कार्यक्रम सञ्चालन नगरपालिकाले जनाएको छ ।

सुशील सुवेदी

स्याङ्जा

प्रतिक्रिया