परम्परागत सीपमा नयाँ पुस्ताको चासो

दैलेख । जिल्लामा परम्परागत सीपमा नयाँ पुस्ताको चासो देखिएको छ । रोजगारका लागि बिदेसिएका धेरैजसो नागरिकहरू विदेशमा सिकेको सीप गाउँमै लगानी गर्न चाहान्छन् । गाउँमा भएका केही पुरानो पुस्ताले सिकेका सीपहरू अहिले लोपहुने स्थितिमा पुगेको बेला दैलेखको भगवतीमाई गाउँपालिका–५ र ६ का केही युवाहरू यस्तो सीप संरक्षण र प्रवद्र्धन गर्न लागिपरेका छन् । आजभोलि गाउँमा भिभिन्न कामका लागि प्रयोगमा आउने निगालो तथा बाँसका डोका, सुपो, नाग्लो, वर्षात्को समयमा ओढ्नका लागि बनाइने स्याकु लगायतका सामग्री नयाँ पुस्ताले बनाउन लागेका छन् । नयाँ पुस्तालाई सीप सिकाउँदै भगवतीमाई गाउँपालिका–६ का ६१ वर्षीय मानबहादुर थापाले भने अहिलेका युवाहरू प्रविधिसम्बन्धी नयाँ सीप सिक्दै कम्प्युटर, मोबाइल लगायतका अन्य अहिलेका नयाँ सीप सिक्न लागेकाले परम्परागत रूपमा सञ्चालन हँुदै आएका सीपहरूमा ध्यान नपुगेका यस्ता सीपहरूको व्यावसायिक रूपमा विकास गर्दै नयाँ पुस्तालाई सीप हस्तान्तरणका लागि आफूले तालिम दिइरहेको थापा बताउँछन् ।

दिनभर सीप सिकिरहेका ३२ वर्षीय रामबहादुर थापा भन्छन्, ‘पाँच जनाको गुजारा चलाउन भारतमा मजदुरी गरिरहेको थिएँ । यस वर्ष कोरोना महामारीले भारतमा गरिरहेको मजदुरी खोसियो । लक डाउनकै समयमा घर फर्केर पाँच जनालाई कसरी गुजारा चलाउने भन्ने लागिरहेको थियो । त्यसै बीचमा युवा क्लबको सहकार्यमा तालिममा सहभागी हुन पाउँदा खुसी भएको छु । गाउँमा पहिले डोको बुनेको देखे पनि आफूले बुन्न नजानेको भए पनि अहिले सिक्दै छु । आपूmले सिकेको सीप व्यवहारमा लागू गर्दै गाउँमै केही गर्ने सोच बनाएको छु ।’

कोरोना माहामारीले थापाजस्तै धेरैको रोजगारी गुमेको संदर्भमा गाउँपालिकाको ५ र ६ नं वडामा ‘नेपाल कोभिड–१९ आर्थिक पुनर्लाभ परियोजना २०२०’ अन्तर्गत जीविकोपार्जन कार्यक्रमअनुसार कोरोनाबाट प्रभावित तथा वैदेशिक रोजगारबाट फर्केका आठ जनालाई एकहप्ते सीपमूलक तालिम दिइएको छ । युवाहरूलाई स्वरोजगार बनाउनका लागि गाउँपालिकाको समन्वयमा कारितास जर्मनी र कारितास नेपालको आर्थिक सहयोगमा गाउँका धेरै युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले निगालो, बाँसबाट तयारी सामग्री बनाएर पछिल्लो समयमा युवाहरूले यस्ता कामहरूप्रति चासो नदेखाउनुले सीप विकास नभई यस्तो सीप नै धरापमा पर्दै गएको छ । यस्तो बेलामा गाउँका युवाहरूलाई सीपप्रति जागरुप गराई हराउँदै गएको परम्परागत सीपलाई विकास हुनुपर्ने आवश्यकता ठानी उनिहरूलाई तालिममा सहभागी गराएको र उनीहरूले बनाएका सामग्रीलाई बजारीकरणमा समेत समन्वय गर्ने कारितास नेपालअन्र्तगत एकता फाउन्डेसन नेपालका कार्यक्रम अधिकृत जनकप्रसाद अधिकारीले बताए ।

परियोजनाले गाउँपालिकाका नागरिकलाई कामका लागि नगद दिएको छ । गाउँपालिका भित्रका पर्ने विभिन्न योजना बनाई उनीहरूलाई रोजगारीसमेत दिएको हो । उनीहरूले काम गरेको दिन ५ सय १७ रुपैयाँका दरले नगद पाउनेछन् । गाउँपालिका–५ र ६ वडाका पाँच वटा योजनामा १ सय २४ जनाले रोजगारी पाएका छन् ।
स्थानीय सरकारको समन्वयबाट गोरेटोबाटो मर्मत गर्न थालिएको छ । भगवतीमाई गाँउपालिका–६ मौलेसाल देखि शेरा हुदै चिपिनतडा जाने बाटोको लागि २ लाख ५० हजारको बजेटमा २५ जनाले काम गरिरहेका छन् । वेस्तडा बजारदेखि डाइनाखोला हुँदै जुम्लाकाफलसम्म गोरेटो बाटो मर्मतका लागि तीन लाख बजेटमा ३० जना, मलुका माइकाथानदेखि आख्रेनीसम्म गोरेटो बाटो मर्मतका लागि २ लाख ५० हजारको बजेटमा २५ जना, भगवतीमाई–६ को लक्ष्मी प्राथमिक विद्यालय खानेपानी मर्मतका लागि २२ जना र आदर्श आधारभूत विद्यालय सनिगाउँ खानेपानी मर्मतका लागि २२ जना गरी २ लाख ४० हजार बजेटमा ४४ जनाले रोजगार पाएका छन् । यिनीहरूले करिब २० दिन काम गर्नेछन् ।

प्रतिक्रिया