‘चुल्ठो’ मा विद्रोहका स्वर

कास्की । कवि कल्पना चिलुवालको हालै सार्वजनिक गरेको ‘चुल्ठो’ कविता संग्रहमा विद्रोह चेतका कविताको प्रधानता रहेको छ । कवितामा विम्ब र प्रतीकको प्रयोग गरेर क्लिष्ट शैलीमा नभई सरल र सहज शब्दबाट बेजोड प्रहार गर्न सक्ने विद्रोही चेतकी कवि चिलुवालको चुल्ठो पहिलो कविता संग्रह हो । संग्रहमा हरेक दिन हरेक परिवेश घर, परिवार, समाज र राज्य सत्ताका शासकको असहिष्णु व्यवहारका भोगाइको कटाक्ष गरिएको छ ।

संग्रहका बारेमा कवि सरस्वती प्रतीक्षा चुल्ठोका हरेक शब्दमा दमित आवाजको रागिलो प्रहार भएको जिकिर गरिन् । उनले भनिन्, ‘कवि चिलुवाल बाहिर शान्त स्वभावकी तर विद्रोही चेतकी एक हस्ताक्षर हुन् । उनका हरेक कवितामा रिस छ तर पनि त्यो रिस बेजोड सुन्दर रूपमा कवितामा उत्रिएको छ ।’ कवि प्रतिक्षाले चिलुवालको जवानीमा पनि मायाको उन्माद नभई रिसको बेगले नै कविता कोरिएको बताउँदै नारीवाद मात्र होइन अन्य धेरै वादको कोलाज कवितामा रहेको बताइन् ।

साहित्यकार सुमिना चुल्ठोले समाज रूपान्तरणमा विद्रोहको उद्घोष गरेर निदाएको समाजलाई उठाउन संग्रहभित्रका हरेक कविता अस्त्र बनेको विचार व्यक्त गरिन् । उनले परिवर्तनको उद्घोष गरेका हरेक कवितामा लेखकीय दम रहेको बताइन् । साहित्यकार डा कृष्णराज अधिकारी विम्ब र प्रतीक कम प्रयोग गरिए पनि कविताले समाजको यथार्थलाई पस्कन सफल भएको टिप्पणी गरे । उनले भने, ‘समाजका कथित मूल्यमान्यताले दबाइएका आवाज चुल्ठोमा रहेको छ । आधुनिकता र परम्पराबीचको यथार्थ, श्रमिकका दमित आवाज, लाहुरेको कथा, उपभोक्तावादले मान्छेमा गरेको शोषण, वातावरणीय न्यायका सवालमा सबै पक्षबाट चुल्ठो सशक्त कविता कृति भएर उदाएको छ ।’

कवि चिलुवालले समाज रूपान्तरणका लागि सानैदेखि सशस्त्र विद्रोहमा लागे पनि कालान्तरमा समाजले अझै काँचुली फेर्न नसकेको अवस्थाले पिरोलिरहँदा तिनै मौनतामा रहेका आवाजलाई शब्दमा उतारेको बताइन् । उनले भनिन्, ‘मैले कविता लेखेर कवि हुन चुल्ठो ल्याएकी हैन, दुई दशकदेखि म साहित्य सिर्जनामा छु । राजनीतिक चेतसँगै सामाजिक यथार्थका मुद्दा संग्रहमा बढी केन्द्रित छन् ।’ उनले कविता हरेक परिवेश र घटनाक्रमका साक्षी र आफ्नो समयको दस्तावेज रहेको बताइन् । उनले भनिन्, ‘म स्वयं नारी भएकाले मैले अनुभूत गरेका कुरा छुटाउन भएन जुन व्यक्तिगत नभई आम महिलासँग जोडिएका छन् ।’ चिलुवालले संग्रह एउटा दस्तावेजका रुपमा आएको जिकिर गर्दै भनिन्, ‘जो वर्षौँपछि पढ्दा पनि समाजको यथार्थ बुझन सकिन्छ ।’ उनले कविताको बारेमा आमपाठक नै न्यायाधीश भएकाले यसको निर्णय गरेर फैसला सुनाउने जिम्मा पाठकलाई छोडिदिएको सुनाइन् । बेला प्रकाशनले बजारमा ल्याएको ‘चुल्ठो’ मा ५५ वटा कविता संगृहित छन् ।

प्रतिक्रिया