नवीन्द्रले ल्याए पाश्चात्य कला

काठमाडौं । कलाकार तथा लेखक नवीन्द्रमान राजभण्डारीद्वारा लिखित ‘पाश्चात्य कलाः संक्षिप्त इतिहास’ दोस्रो भाग बजारमा आएको छ । शनिबार लाजिम्पाटस्थित सिर्जना कलेज अफ फाइन आर्टस्मा आयोजित पुस्तक विमोचन तथा अन्तरसंवाद कार्यक्रममा प्रा.डा. अभि सुवेदी, अग्रज कलाकार तथा कलालेखक मदन चित्रकार, न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालका पूर्वसहायक स्थायी प्रतिनिधि डा. विनोद विष्ट, पूर्वसचिव शरदचन्द्र पौडेल, साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश सायमी र कवि डा. गीता थपलिया त्रिपाठीले उक्त कृतिको संयुक्तरुपमा विमोचन गरे ।

उक्त कृतिमाथि चर्चा गर्दै कलाकार तथा कलोखक मदन चित्रकारले पाश्चात्य कला शैलीको विकासका बारेमा सहज ढंगले बुझ्न पुस्तकले सघाउने विचार व्यक्त गरे । उनले पुस्तकमार्फत युरोपको राजनीतिक तथा सांस्कृतिक परिवर्तनसँगै कलामा देखिएका नयाँ आधारलाई कलाले अंगिकार गरेका विषयसमेत थाहा पाउन सकिने जिकिर गरे । उनले भने, ‘विश्व कलाका विविध आयाम र चिन्तनलाई नजिकबाट नियाल्न पुस्तक निकै उपयोगी रहेको छ । साथै पुस्तकले कलाको सिलसिलेबार विकासक्रम र त्यसको आधारलाई केलाएको छ ।’

कार्यक्रममा प्रा.डा. सुवेदीले नेपाली भाषामा विश्वकलाका विभिन्न पक्षलाई समेटेर निकालिएको यो पुस्तक कलाकार, विद्यार्थी तथा कलाप्रति रुचि राख्ने जोकोहीका लागि उयपोगी हुने विचार व्यक्त गरे । उनले भने, ‘पश्चिमी कलाका बारेमा खासै नेपालीमा पुस्तक लेखिएको छैन । यसरी सिस्टमेटिक ढंगले पनि लेखिएको छैन । हामीले विश्वका कलाका प्रदर्शनी हेर्न पाउँदैनौ । यस्तै पुस्तकबाट ती कला र कलाकारका बारेमा थाहा पाउने हो । यस दृष्टिले यो पुस्तक निकै महत्वको रहेको छ ।’
त्यस्तै, डा. विनोद विष्टले पुस्तकले पश्चिमी कलाको इतिहासलाई उजागर गरेको बताए । उनले लेखकले कलाका विभिन्न शैलीलाई तथ्यपरक ढंगले पुस्तकमा चित्रण गरेको विचार व्यक्त गरे ।

पूर्वसचिव तथा लेखक शरदचन्द्र पौडेलले पुस्तकमा कलाको क्रमिक विकासलाई उतारिएको धारणा व्यक्त गरे । उनले भने, ‘पुस्तक नेपाली कला तथा साहित्य क्षेत्रका लागि महत्व राख्ने गरी प्रकाशित भएको छ ।’ लेखक तथा चलचित्र निर्देशक प्रकाश सायमीले पाश्चात्य कलाका विविध आयाम र परिवेशलाई बुझ्न पुस्तक निकै महत्वको रहेको बताए । उनले भने, ‘पुस्तकले कलाका आन्दोलन र त्यसको प्रभावलाई केलाउन सफल भएको छ ।’ कार्यक्रममा डा. गीता थपलिया त्रिपाठीले कलाका विभिन्न वाद बुझ्नका लागि पुस्तक उपयोगी रहेको बताइन् । भाषिक पक्ष राम्रो रहेको बताउँदै उनले कलालाई नजिकबाट नियाल्न र यसका विविध पाटाका बारेमा जान्न पुस्तक सहयोगी हुने विश्वास लिएको बताइन् । पुस्तकका लेखक नवीन्द्रमान राजभण्डारीले कलाका बारेमा जान्न चाहनेका फाइदा हुने विश्वासका साथै कृति प्रकाशित गरेको बताए । उनले भने, ‘नेपाली कलाकार, विद्यार्थी तथा कलापारखीका लागि पुस्तक एउटा पाठ्यसामग्री हुने विश्वास लिएको छु ।’ सिर्जना कलेज अफ फाइन आर्टस्ले प्रकाशन गरेको पुस्तकको मूल्य एक हजार रहेको छ ।

यसअघि राजभण्डारीको ‘पाश्चात्य कला : संक्षिप्त इतिहास’ पहिलो भाग प्रकाशित भइसकेको छ । चित्रकार तथा कला अध्यापकसमेत रहेका राजभण्डारीले विभिन्न पुस्तक, जर्नल तथा पत्रपत्रिकाको सम्पादन गरेका छन् । राष्ट्रिय ललितकला प्रदर्शनीमा प्रथम पुरस्कार पाइसकेका उनी नेपाल सरकारको निशानाछापको मुख्य डिजाइनरसमेत हुन् ।

प्रतिक्रिया