खोजखबर

दिनैपिच्छे देउवाको फरक मुड

सौर्य अनलाइन २०७७ फागुन २३ गते ६:५२ मा प्रकाशित

काठमाडौं । भावी प्रधानमन्त्रीका रुपमा हेरिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दैनिक जसो अभिव्यक्ति फरक फरक आउन थालेका छन् । चितवन पुगेर आफुलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका देउवा शनिवार आफ्नै निवासमा आयोजित कार्यक्रममा भने आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्टोक्ति दिएका छन् ।

शनिबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ पुस्तकको विमोचन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूलाई प्रधानमन्त्री हुने चाहना नभएको बताएका हुन् । ‘म प्रधानमन्त्री हुने रेसमै छैन । म प्रधानमन्त्री हुनै चाहेको छैन’, उनले भने, ‘विपक्षी दलको नेता प्राइममिनिस्टर इन वेइटिङ हो । तर मलाई प्रधानमन्त्री हुनु पनि छैन । यी सबै कुरामा नलाग्नु होला ।’

यस्तै प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन भएकोले कांग्रेस सडकमा प्रस्तुत नभएको पनि उनले दाबी गरे । उनले भने, ‘प्रतिनिधिसभा विघटनको गैरसंवैधानिक कदमको अदालतमा विचाराधीन मुद्दा भएकोले सडकमा जानु हुँदैन, अदालतलाई प्रेसर गर्न, धम्क्याउन हुँदैन भन्ने हाम्रो मान्यता हो । यसकारण भोलि संसदीय व्यवस्था नै चल्दैन ।’

प्रमुख प्रतिपक्ष कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीविरुद्ध दर्ता गरिने अविश्वासको पक्षमा उभिने–नउभिने भन्ने विषयमा तत्काल निर्णय नगर्ने भएको छ । नेकपा ओली र दाहाल–नेपाल समूह आइतबारबाट हुने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुन्छन्, त्यहीअनुसार रणनीति तय गर्ने कांग्रेसको योजना छ । व्यावहारिक रूपमा नेकपा दुई समूहमा विभाजित भए पनि पार्टी विभाजन औपचारिक रूपमा नभएकाले कांग्रेसले ‘पर्ख र हेर’ को रणनीति अपनाएको हो । कांग्रेसका अधिकांश सांसदले अहिले सरकारमा जान नहुने दबाव देउवालाई दिईरहेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय