मुस्कानलाई अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड

काठमाडौं । एसिड पिडित बनेकी मुस्कान खातुनलाई प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड (आईडब्लूओसी)’ प्रदान गरिने भएको छ । अमेरिकाको विदेश मन्त्रालयले प्रदान गर्ने यो पुरस्कार पाउने उनि पहिलो नेपाली महिला हुन् । नेपालस्थित अमेरिकी दूतावासले तेजाब हमला अन्त्यका लागि उनले गरेको कामको प्रशंसा गर्दै यो अवार्ड प्रदान गर्न लागेको जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा २४ फागुनमा यो अवार्ड प्रदान गरिने भएको छ । १५औँ वर्षमा रहेको आईडब्ल्यूओसी पुरस्कारले व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैंगिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्दछ । यसका अघिल्ला विजेतामध्ये पाकिस्तानमा महिला तथा किशोरीहरूका लागि वकालत गर्ने कामका लागि सम्मानित मलाला युसुफजई पनि छिन् ।

अमेरिकी प्रथम महिला जिल बाइडन र विदेशमन्त्री टोनी ब्लिंकनले भर्चुअल कार्यक्रमको आयोजना गरी यो अवार्ड प्रदान गर्ने अमेरिकी दूतावासले जनाएको छ । दुई वर्षअघि एक किशोरको प्रेम प्रस्ताव अस्वीकार गर्दा मुस्कानमाथि तेजाब आक्रमण गरिएको थियो । अहिले पनि उनको उपचार जारी रहेको छ । तेजाब आक्रमणमा परेकी मुस्कानले हिम्मत हारिनन् । उनले तेजाब आक्रमणविरुद्ध कडा कानुन र सजायका लागि प्रयास गरिरहिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेपछि तेजाब हमलाविरुद्धको कानून ल्याउन आग्रह गरिन् । सरकारले एसिड पिडितहरुको आवाजलाई मजबुत बनाउन अध्यादेशमार्फत कानुन ल्याएको थियो । विगतको फितलो कानुनलाई सरकारले थप मजबुत बनाएपछि पिडितहरुले अब भने न्याय पाउने आशा व्यक्त समेत गरेका थिए । यसका लागि मुस्कानले गरेको नेतृत्वदायी भूमिकाका लागि यो अवार्ड प्रदान गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

‘नेपालस्थित अमेरिकी दूतावास मुस्कान खातुनलाई तेजाब हमला अन्त्यतर्फ लक्षित उनको कार्यका लागि प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गरिने घोषणा गर्न पाउँदा हर्षित छ’, अवार्डको घोषणा गर्दै नेपालस्थित अमेरिकी दूतावासले भनेको छ, ‘नेपालस्थित अमेरिकी दूतावासलाई उनको समर्थन र नेपालमा महिला तथा किशोरीहरूको अधिकारको प्रगतिलाई प्रोत्साहन गर्नमा गर्व छ ।’ नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले पनि ट्वीट गर्दै खुशी जनाउदै मुस्कानलाई बधाई दिएका छन् ।

प्रतिक्रिया