नयाँ सरकार गठनको सकस : नेकपाको कानुनी विभाजन कुर्दै कांग्रेस

नेकपाको दाहाल–नेपाल पक्षसँग मिलेर सरकारको नेतृत्व लिन देउवालाई सांसदको सुझाव, देउवा भन्छन् : अहिले सरकारको कुरै नगरौं ।

काठमाडौं । नयाँ सरकार निर्माणका विषयमा निर्णय लिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कानुनी विभाजन कुरेर बस्ने भएको छ । सरकारमा जाने अनौपचारिक निर्णय गरिसकेको कांग्रेस नेकपा औपचारिक विभाजन नभएसम्म अविश्वासको प्रस्ताव पनि नलैजाने र सरकारका विषयमा पनि निर्णय नगर्ने भएको हो ।

आइतवारबाट शुरु हुने प्रतिनिधिसभा बैठक अघि बसेको संसदीय दलको बैठकमा सभापति एंव दलका नेता शेरबहादुर देउवाले अहिले सरकारका विषयमा निर्णय गर्न नहुने बताए । निर्वाचन आयोगले नेकपाको विभाजनका विषयमा अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक नगरेकाले कुन पक्ष कानुनी रुपमा बलियो हुन्छ भन्नेमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा बसेको हो । यद्यपी कांग्रेसभित्र नै सरकारमा जान हुने नहुने विषयमा मतभेद देखिदै आएको छ ।

संसदीय दलको बैठकमा सभापति देउवाले पार्टीले सरकारको नेतृत्व गर्ने विषय परिपक्व भईनसकेको बताएका छन् । उनले सत्तारुढ पार्टी विभाजन भइनसकेकोले तत्कालै सरकारबारे पार्टीले निर्णय लिन आवश्यक नरहेको धारणा राखे । सांसदहरुलाई अब पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे सुझाव दिन आग्रह गर्दै वैठक सुरु गरेका देउवाले सरकारमा जाने वा नेतृत्व गर्नेबारे छलफल गर्ने बेला भइनसकेको बताए । देउवाले बैठकको शुरुमै भने, ‘अहिले संसदमा कसरी प्रभावकारी भूमिका खेल्ने भनेर सुझाव दिनुहोला । सरकारबारे कुरा गर्ने बेलै भाको छैन ।’

सरकारका विषया निर्णय गर्न बोलाएको अनुमान गरेका सांसद देउवाको भनाई पछि अचम्ममा परेका थिए । सरकारविरुद्ध अविश्वासको प्रस्ताव लैजाने वा सरकारमा जाने नजाने विषयमा छलफल होला भनेर आएको भएपनि त्यसो नभएको सांसदहरुले बैठकपछि बताए । आइतबार सुरु हुने प्रतिनिधिसभा अधिवेशनमा नेकपाको दुवै पक्षले लिने रणनीति अनुसार कांग्रेसले ‘धैर्य’ गरेर निर्णय लिनुपर्ने सभापति देउवाको भनाई थियो । ‘अहिले नयाँ सरकार बनिहाल्ने गुञ्जायस छैन । जब बेला आउँछ त्यतिबेला छलफल गरौंला नि’, उनले भने ।

संसदमा सरकार परिवर्तन र नयाँ सरकार गठनको विषय आएपछि मात्रै कांग्रेसले निर्णय लिने पनि उनले बताए । देउवाले सरकारका विषयमा कुरा नगर्न भनेपनि शुक्रबारको बैठकमा बोल्ने २९ सांसदले त्यही विषयमा धारणा राखेका छन् । ‘शेरबहादुर दाईले ३–४ पटक सरकारको बारेमा अहिले कुरा नगरौं भन्नुभयो तर बोल्नेजति सबैले सरकार र सत्ता समीकरणबारे नै धारणा राखेका छन’, एक सांसदले भने । सरकारका विषयमा सांसदहरुको मिश्रित धारणा आएको छ ।

आफ्नै नेतृत्वमा सरकार गठन गर्नुपर्ने, पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षलाई सहयोग गर्नुपर्ने र केन्द्रीय कमिटीको बैठकमा छलफल गर्नुपर्ने बताएका छन् । ‘हामीले नै ओलीले असंवैधानिक काम गरेको आरोप लगाएका छौं त्यसैले ओलीसँग मिल्नेबारेमा सोच्नसम्म हुन्न । ओलीको सरकार हटाउन अरुसँग सहकार्य गर्न सकिन्छ’, सांसद भीमसेनदास प्रधानले भने ।

बैठकमा सांसद गगन थापाले प्रधानमन्त्री ओलीलाई संसदबाटै हटाउनुपर्ने र दाहाल–माधव पक्षसंगको सहकार्यमा पनि सचेत हुनुपर्ने बताएका थिए । सांसद जीपछिरिङ लामाले देउवासामु फेरी प्रधानमन्त्री बनेर मुलुकलाई निकास दिने अवसर आएको बताए । सांसदहरुले धारणा राखिसकेपछि सभापति देउवाले सरकारबारे पार्टीभित्र शीर्ष तहमा छलफल हुने, पार्टी केन्द्रीय समितिले आवश्यक सैद्धान्तिक निर्णय गर्ने र सांसदहरुसंग उपयुक्त बेलामा छलफल हुने बताए ।

‘संसदमा राम्रो भूमिका खेल्नुहोला । कोभिडको भ्रष्टाचारको कुरा उठाउनुहोला । सरकारबारे बेला आएपसी भनिहाल्छौ’, सभापति देउवाले भने । बैठकमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सांसदहरुले केन्द्रीय समितिको बैठक बोलाउन माग समेत गरेका थिए । कांग्रेस मुख्य सचेतक बालकृष्ण खाँडले संसदीय दलमा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल भएको बताए । अविश्वासको प्रस्ताव ल्याउने वा सत्ता सहकार्यबारे बैठकले कुनै निर्णय नगरेको भन्दै खाँडले सत्ताको विषय संसदमा प्रवेश गरेपछि मात्रै कांग्रेसले बोल्ने बताए ।

प्रतिक्रिया