सर्वोच्चले नेकपा पार्टी आधिकारिताको निर्णय आइतबार सुनाउने

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी दल कस्को भन्ने विवादको निर्णय आइतबार सुनाउने भएको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही गत फागुन १३ गते विहीबार निर्णय सुनाउने मिति तय गरेपनि पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक विदा परेकाले यही फागुन २३ गते आइतबार उक्त विवादको निर्णय सुनाउने भएको हो ।

नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले आफ्नो पार्टीसँग नाम जुधाएको विवादमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको रिट निवेदनको सुनुवाइ सम्पन्न भइसकेको छ ।

अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा २०६९ मा नेकपाका नाममा आफूले दल दर्ता गरेको तर तत्कालीन एमाले र माओवादीबीच २०७५ साल जेठ ३ गते एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नाममा निर्वाचन आयोगमा दल दर्ता भएको विरुद्ध रिट निवेदन दायर गरेका थिए ।

अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा त्यसविरुद्ध उजुरी दिएपनि केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पक्षमा निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अध्यक्ष कट्टेलले २०७५ साल मङ्सिर २१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया