खोजखबर

प्राधिकरणका सेवा सुलभ र विश्वसनीय बनाउन आग्रह

सौर्य अनलाइन २०७७ फागुन २० गते १६:४८ मा प्रकाशित

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जनतालाई प्रत्यक्ष लाभ हुने गरी सेवा विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणसँग आग्रह गरेका छन् । प्राधिकरणको २३औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा उनले प्राधिकरणका सेवालाई सुलभ, गुणस्तरीय, विश्वसनीय र भरपर्दो तुल्याउन सुझाव दिए ।

मन्त्री गुरुङले भने, ‘दूरसञ्चार सेवा गाउँभन्दा पनि शहर केन्द्रित भएको छ, ग्रामीण विकास कोषबाट पनि शहरमै विकास भएको छ, अब पूर्वाधारको विकाससँगै यो सेवालाई गाउँसम्म पुर्याउन जरुरी छ ।’ उनले दूरसञ्चार सेवालाई अन्तरराष्ट्रिय प्रतिस्प्रर्धामा ल्याउन त्यसको अनुसन्धान र समीक्षा गर्नुपर्ने औँल्याए ।

फरक प्रसङ्गमा सरकारका प्रवक्ता गुरुङले सरकार र नेत्रविक्रम चन्द समूहबीचको वार्ता सफल भएको बताउँदै अब मुलुकमा शान्ति हुने विश्वास व्यक्त गरे । उनले अब राजनीतिक अस्थिरताको अन्त्य हुने बताउँदै यसबाट नेपालमा लगानीमैत्री वातावरण सिर्जना हुने बताए ।

सो अवसरमा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सरकारले शिक्षा क्षेत्रलाई सञ्चारमैत्री बनाउने योजनानुसार जतिसक्दो चाँडो गाउँगाउँमा इन्टरनेट पुर्याउन निर्देशन दिए ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले हालसम्म काठमाडौं उपत्यकाबाहेकका ५४२ स्थानीय तह, चार हजार ४१२ वडा कार्यालय तीन हजार १२६ स्वास्थ्य केन्द्र र तीन हजार ७१४ सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच पुर्याइएको जानकारी दिए । उनले सामुदायिक विद्यालयमा सूचना प्रविधिको पहुँच पुर्याउने उद्देश्यअनुरुप शतप्रतिशत विद्यालयमा जडान सम्पन्न भइसकेको जानकारी दिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय