प्रधानमन्त्रीले कहिले लाउलान कोभिड खोप !

काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा तीन दिनसम्म सञ्चालन हुने खोपकेन्द्रमा सभामुख अग्नि सापकोटासहित पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी लगायतले बुधवार खोप लगाएका छन् । संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सचिवालयले दुवै सदनका ३ सय ३४ सांसद, संसद् सचिवालय र संसद् भवन नयाँ बानेश्वरमा खटिने कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी, संसदीय समाचार लेख्ने पत्रकारलगायत करिब १ हजार ५ सय जनालाई खोप लगाउन व्यवस्था मिलाइएको छ । भारतबाट ल्याइएको यस खोपमा जुन प्रकारको उत्साह देखिएला भनिएको थियो त्यस्तो देखिएन । सुरुका दिन देखिनै खोप लगाउन कयौं मानिस अनिइच्छुक देखिए । यसमा स्वास्थ्य कर्मिदेखि सञ्चारकर्मी पनि रहे । सरकारले अनुमान गरेको भन्दा निकै कम मानिसले खोप लगाएका समाचार बारबार आउने गरेको छ । अझ सरकारका उपल्लो तहमा रहेका मन्त्रीहरुले नै खोप नलगाएका कारण प्रश्नहरु उठेको थियो । खासमा नेपालमा आउने सुविधाहरुको प्रयोग सबै भन्दा पहिला उच्च पदमा रहेकाले गर्थे । तर, खोप लगाउने बारेमा उनीहरु किन पछि परे भन्ने आममानिसमा प्रश्न उब्जिएको हो । ‘मानव सभ्यतामाथि चुनौतीको रूपमा खडा भएको महामारीका बेला खोप लगाइसकेपछि त्यसमाथि पूर्ण विजय हासिल गर्न सकिन्छ भन्ने विश्वास पैदा भएकोछ,’ खोप लगाएपछि पत्रकारहरूसँग सभामुख सापकोटाले भने । बुधबारबाट उच्चपदमा रहेकाहरुले खोप लगाउन सुरु गरेका हुन । अब यसलाई तलसम्म लैजाने तयारीमा रहेको बताइएको छ । यसले खोप बारेमा मान्छेमा विश्वास बढने ठानिएको छ ।

आइतवारदेखि सुरु हुने पुनस्र्थापित संसद्को हिउँदे अधिवेशनअघि सबै सांसदहरूलाई कोरोना भाइरस विरुद्धको खोप दिइसक्ने लक्ष्य रहेको उनले बताए । खोप नलगाएका सांसदले बैठकमा भाग लिन पाउने वा नपाउने बारेमा केही भनिएको छैन । यसलाई व्यक्तिको इच्छामा छोडिने बताइएको छ । खोप नलगाएकै कारण बैठकमा जान नपाइने भन्ने छैन । संसद् सचिवालयको स्वास्थ्य सेवा एकाइका प्रमुख डाक्टर पुष्प रिजालले खोप लगाउने नलगाउने व्यक्तिगत स्वतन्त्रताको विषय भएकाले संसद् बैठकमा सहभागिताका लागि खोप लगाउनैपर्ने बाध्यकारी व्यवस्था नगरिएको बताए । ‘खोपलगाउन सबैलाई अनुरोध गर्ने हो तर लगाउने नलगाउने व्यक्तिको आफ्नै कुरा हो । हामीले अनिवार्य गरेका छैनौँ,’ उनले भने । उनका अनुसार खोप नलगाए पनि सांसदहरु बैठकमा सहभागि हुन सक्नेछन् । यसअघिको संसद् अधिवेशनमा पीसीआर विधिबाट परीक्षण गरी कोरोना भाइरस संक्रमण नभएको यकिन भएपछि मात्रै सांसदहरूले बैठकमा भाग लिन पाउँथे । आगामी अधिवेशनमा कुनैपनि परीक्षण अनिवार्य नगरिएको सचिवालयका प्रवक्ता पाण्डेले जानकारी दिए । खोप लगाउनु अनिवार्य भन्दा इच्छाको बिषय बनाइएको छ ।

‘हामीले बैठक कक्षमा सामाजिक दूरी कायम रहने गरी बस्ने व्यवस्था मिलाएका छौँ । संसद् भवनभित्र प्रवेश गर्नासाथ सेन्सरजडित थर्मल क्यामराबाट सबै माननीयज्यूहरूको ज्वरो नापिन्छ । बैठक कक्षको निसंक्रमण गर्ने, ठाउँ ठाउँमा स्यानिटाइजर राख्ने र सरसफाई कायम राख्ने व्यवस्था मिलाएका छौँ,’ प्रवक्ता पाण्डेले भने । संसद् भवनमा राखिएको थर्मल क्यामरामा उच्च ज्वरो देखिएका सांसदहरूलाई भवनमै रहेको आइसोलेशन कक्षमा प्राथमिक उपचारपछि अस्पताल लैजाने व्यवस्था मिलाइएको डाक्टर रिजालले बताए । उनले बैठकमा आउने सांसदका लागि गरिने कार्यका बारेमा बताए ।

संसद् विघटन र पुनस्र्थापनाको राजनीतिक घटनाक्रमसँगै भीडभाड हुने कार्यक्रममा उपस्थिति बाक्लो रहेपनि प्रधानमन्त्री ओलीले हालसम्म कोरोना भाइरस विरुद्धको खोप नलगाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए । प्रधानमन्त्री ओलीको खोप लगाउने योजना रहेको तर कहिले लगाउने निश्चित भइनसकेको थापाले बताए ।
‘प्रधानमन्त्रीले पनि खोप लगाउनुभएको छैन उहाँको टीम हामी कसैले पनि लगाएका छैनौँ, हाम्रो चाहना फ्रन्टलाइनरले लगाउन पाउन् भन्ने हो,’ थापाले भने । तर उनीहरुले खोप कहिले लगाउछन् भन्ने बारेमा जानकारी दिएनन् । उनले खोप लगाउन किन ढिला गरेहोलान भन्ने एक तहमा प्रश्न उब्जिएको छ ।

सरकारले दीर्घरोग भएका व्यक्तिहरूलाई कोरोना भाइरस विरुद्धको खोप कार्यक्रममा प्राथमिकतामा राखेको बताएको छ । दुईपटक मृगौला प्रत्यारोपण गरिसकेका ७० वर्षीय प्रधानमन्त्री ओली उमेर समूहका दृष्टिले पनि कोरोना भाइरसको जोखिम समूहमा पर्छन् । सार्वजनिक कार्यक्रमहरूमा उपस्थित हुँदा प्रधानमन्त्रीले उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाउने गरेको सल्लाहकार थापाको दाबी छ ।

स्वास्थ्य मन्त्रालयले मुटु, मस्तिष्क, फोक्सो, मृगौला र क्यान्सर भएका दीर्घरोगीलाई कोरोना भाइरसविरुद्ध खोप दिन मिल्ने बताएकोछ । मन्त्रालयले पहिले खोप लगाउँदा गम्भीर एलर्जी देखिएका, खोपको एलर्जी हुने, १८ वर्ष मुनिका बालबालिका र गर्भवती महिलालाई चाहिँ कोभिशील्ड खोप नलगाउन भनेकोछ । जसअनुसार प्रधानमन्त्री ओलीलाई समेत खोप लगाउँदा कुनै खतरा नहुने स्वास्थ्य मन्त्रालयका अधिकारी बताएका छन् । आइतवार काठमाडौंमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भनेका थिए, ‘हामी भन्दा पहिले यो खोप लगाउनुपर्ने आवश्यकता अरूमा जरुरी थियो । हामी नैतिक रूपमा पनि यसका लागि योग्य थिएनौँ । अब दोश्रो चरणको खोपमा म पनि योग्य हुन्छु र धेरै मन्त्री तथा सांसद साथीहरूले पनि लगाउनुहुन्छ,’ उनले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म चार लाख २८ हजार बढीले यो खोप लगाइसकेका छन् । जसमा सबैभन्दा धेरै स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरू छन् । स्थानीय तहका जनप्रतिनिधिले लगाएपनि प्रदेश र संघीय सांसदहरूलाई सरकारले पहिलो चरणमा खोपकोप्रा थमिकतामा राखिएको थिएन । त्यसैले पनि उनीहरुले अब खोप लगाउन लागेको जनाइएको छ । (बिबिसी)

प्रतिक्रिया