५५ वर्षमाथिका नागरिकलाई खोप दिने तयारी

इलाम । सरकारले २३ फागुनदेखि ५५ वर्षमाथिका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिने तयारी गरेको छ । दोस्रो चरणको पहिलो प्राथमिकतामा ५५ देखि ७४ वर्ष उमेरसमूहका व्यक्तिहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाउने भएको हो । यसको तयारी इलामसहित देशैभर सुरु गरिएको छ । इलाममा यस चरणमा ७१ हजार जना नागरिकलाई खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ । तत्काल १५ हजार जनालाई पुग्ने खोप आइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘अहिले १७ सय भायल खोप आइसकेको छ । त्यसले १७ हजारलाई पुग्छ । ग्रामीण क्षेत्रमा १० प्रतिशत खेर गए पनि १५ हजारलाई पुग्छ’, कार्यालय वृजकुमार दासले पत्रकारहरुसँगको अन्तरक्रियामा भने, ‘भण्डारणमा समस्या भएकाले एकैपटक नल्याइएको हो । बाँकी पनि आउँछ ।’

यसपटक स्वास्थ्य केन्द्र र खोप केन्द्रबाट खोप लगाइनेछ । अन्य खोपजस्तो वडावडामा गएर दिन असम्भव भएकाले स्वास्थ्य केन्द्र र खोप केन्द्रबाट मात्र खोप लगाइने कार्यालयले जनाएको छ । कोभिड–१९ विरुद्धको दोस्रो चरणका खोपका लागि करिब तीन सय स्वास्थ्यकर्मीलाई तालिम दिने तयारी कार्यालयले गरेको छ । स्वास्थ्यकर्मीको साथमा दुई जना स्वयमसेवकसमेत हुनेछन् । उनीहरुले जिल्लाका २ सय १४ वटा खोप केन्द्रबाट खोप लगाउने स्वास्थ्य कार्यालय इलामका खोप सुपरभाईजर गंगाधर पण्डितले जानकारी दिए । यसैगरी यही चरणमा ४० देखि ५४ वर्ष उमेर समूहमध्ये तोकिएका दीर्घ रोगीलाई पनि खोप लगाइनेछ ।

भारतले १० लाख डोज खोप अनुदान दिएपछि १४ माघदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएको थियो । पहिलो चरणको पहिलो प्राथमिकतामा २६ माघदेखि ३० माघसम्म फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शबबाहन चालक, कारागारका कर्मचारी, कैदी, सफाइकर्मीलाई खोप लगाइएको थियो । पहिलो चरणको दोस्रो प्राथमिकतामा २ फागुनदेखि ८ गतेसम्म पत्रकार, सरकारी कर्मचारी, बैंकका कर्मचारी स्थानीय तहका जनप्रतिनिधि, सीमा सुरक्षा पोष्टमा खटिएका कर्मचारी र पहिलो चरणमा छुटेकाहरूलाई कोभिड–१९ विरुद्धको खोप दिइएको थियो ।

पहिलो चरणमा इलामका ६२ प्रतिशतले कोभिड १९ रोग विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका अनुसार २ हजार ६० जनाले कोभिड १९ रोग विरुद्धको खोप लगाएका हुन् । कार्यालयले ३ हजार ३ सय ३० जनालाई खोप लगाउने लक्ष्य भएपनि पूरा भने हुन नसकेको कार्यालय प्रमुख दासले बताए । उनका अनुसार पहिलो चरणको पहिलो प्राथमिकतामा परेका १४ सय ६५ जना र पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका २ हजार ६० जनाले खोप लगाएका छन् ।

जिल्लाका १० स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीमध्ये ३९ प्रतिशत, निजामती कर्मचारीध्ये ७० प्रतिशत, जनपथ प्रहरीमध्ये ३८ प्रतिशत, सशस्त्र प्रहरी शतप्रतिशत, बैंक तथा वित्तीय समूहका कर्मचारीमध्ये ५४ प्रतिशत, प्राधिकरण तथा संस्थानमा कार्यरतमध्ये १० प्रतिशत र न्याय सेवा समूहका ९३ प्रतिशत कर्मचारीले मात्र कोभिड १९ रोग विरुद्धको खोप लगाएका छन् । पत्रकारहरुमध्ये करिब ४० प्रतिशतले मात्र कोरोना बिरुद्धको खोप लगाएका छन् ।

यो खोपको दुई मात्रा १० देखि १२ साताको अन्तरमा दिइन्छ । पहिलो चरणमा पहिलो मात्रा खोप लगाएकाहरूले बैशाख ७ मा दोस्रो मात्राको खोप लगाउनेछन् ।
स्वास्थ्य कार्यालयका प्रमुख दासले कोरोना बिरुद्धको खोप निर्धक्क भएर लगाउन सबैलाई आव्हान गरेका छन् । विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त भएको यस खोपले कुनै असर नगर्ने भएकाले यस खोप लगाउन आह्वानसमेत गरे । कोभिड–१९ विरुद्धको खोप लगाउनुअघि वा पछि निश्चित खाना खाँदा खोप बढी प्रभावकारी वा कम प्रभावकारी हुने भन्ने नहुने चिकित्सकहरू बताउँछन् । सामान्य आफूले सधैँ खाइरहेको खाना खाँदा समस्या हुँदैन ।

हालसम्म नेपाल लगायत संसारका अन्य मुलुकमा पनि कोभिडको खोप लगाएपछि मानिसहरूलाई ज्वरो आए जस्तो हुने, जिउ दुख्ने वा बिसन्चो हुने जस्ता लक्षणहरू देखिएको पाइएको छ । विश्व स्वास्थ्य संगठनले पनि कोभिड खोप लगाएपछि देखिने तर हानिकारक नठानिएका त्यस्ता लक्षणहरूबारे उल्लेख गरेको छ । त्यस्तो बेला शरीरमा पानीको मात्रा कम भएको हुन सक्ने कुरामा ध्यान दिनुपर्छ । त्यस्तै मद्यपानले शरीरमा पानी कम हुने अवस्था सिर्जना गर्ने र रोग प्रतिरोधी प्रणालीलाई कमजोर बनाइदिन्छ भन्ने पुराना अध्ययनहरूले देखाएको कारण मदिरा सेवन नगर्नु उचित नहुने चिकित्सकहरु सुझाव दिन्छन् ।

प्रतिक्रिया