माटोमुनि वैभवशाली इतिहास

प्रदेश–२ अन्तर्गत सिम्रौनगढ नगरपालिका–४ हरिहरपुरमा गत शनिबार ६ फिट अग्लो मूर्ति फेला परेको छ । माछा पालनका लागि पोखरी खन्ने क्रममा कुसुन्दर कुसवाहको जग्गामा फेला परेको कालो पथ्थर मूर्ति भगवान् विष्णुको भएको अनुमान गरिएको छ । दुई वर्षअघि पनि यसै क्षेत्रमा पोखरी खन्ने क्रममा यही प्रकृतिको मूर्ति फेला परेको थियो । उक्त मूर्ति विष्णु भगवान्को भएको र कम्तिमा एक हजार वर्षअघि निर्माण गरिएको निचोड पुरातत्वविद्हरूले निकालेका थिए । केही वर्षअघि स्थानीय एक व्यक्तिको घर निर्माण गर्ने क्रममा फेला परेको मूर्ति भगवान् ब्रह्माको रहेको पुष्टि भएको थियो । सिन्धु उपत्याकामा एउटा फेला परेबाहेक भगवान् ब्रह्माजीको मूर्ति त्यतिबेलासम्म अर्कोे फेला नपरेकोले अति दुर्लभ भन्दै उक्त मूर्तिलाई राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको छ । एक हजार वर्षभन्दा पुराना पत्थर मूर्ति तथा संरचनाहरू सिम्रौनगढ क्षेत्रमा फेला पर्नु नौलो कुरा होइन । त्यहाँ फेला परेका एक दर्जनभन्दा बढी मूर्तिहरू राष्ट्रिय संग्रहालय छाउनीमा छन् । करिब एक दर्जन मूर्तिहरू त्यही क्षेत्रको कंकालिनी मन्दिर नजिकै इशारा पोखरीको डिलमा एउटा भवन बनाएर सुरक्षा पहराका साथ राखिएको छ । पछिल्ला दिनमा सरकारले बारा जिल्लालाई माछा पालनको पकेट क्षेत्र बनाएको छ । यस क्रममा धमाधम पोखरी निर्माण भइरहेका छन् । डोजर लगाएर पोखरी खन्ने क्रममा कतिपय पुरातात्विक सम्पदा धुलोपिठो भएका छन्, कतिपय मूर्तीहरू अंगभंग भएका छन् । फेला परेका सग्ला मूर्तिहरू पनि कतिपयले गुपचुप आफ्नै घरमा लुकाउने गरेका छन् । भारतीय सीमा क्षेत्रको नजिकै भएकोले कतिपय मूर्तिहरू कौडीको भागमा भारतमा बिक्री भएका छन् ।

वास्तवमा राजधानी काठमाडौं उपत्यका बाहिरको नेपाली भूभागमा कुनै जमनामा सभ्य र भव्य सहर थियो भने त्यो कपिलवस्तु र सिम्रौनगढ मात्रै थियो भन्ने कुरा अध्ययनद्वारा पुष्टि भएसकेको छ । कपिलवस्तु सहर करिब २ हजार ५ सय वर्षअघि नै अस्तित्वविहीन भएको थियो भने सिम्रौनगढ सहर आजभन्दा सात सय वर्ष अघिसम्म पनि अस्तित्वमा थियो । राजधानी काठमाडौं उपत्यकामा विगत एक हजार वर्ष यता निर्मित मूर्तिहरू कि त सिम्रौनगढबाट ल्याइएको थियो, कि त सिम्रौनगढका कलाकारहरूले निर्माण गरेका थिए भन्ने कुरा पुरातत्व विद्हरूले बताएका छन् । पुरातत्व विद्हरूका अनुसार आजभन्दा करिब एक हजार वर्षअघि दक्षिण एसियामा धेरै राज्यहरू अस्तित्वमा थिए । जसमध्ये ज्यादै सम्पन्न र वैभवशाली राज्यहरू करिब एक दर्जन थिए । तिनै एक दर्जन वैभावशाली राज्यहरूमध्ये एक राज्यको राजधानी सिम्रौनगढमा थियो भन्ने कुरा पुरतात्वविद्हरूले प्रमाणित गरिसकेका छन् ।

नेपालको यति ठूलो गौरवशाली इतिहास अहिलेसम्म पनि माटोमुनि नै छ । निजी पोखरी निर्माणका क्रममा यो इतिहास विलिन हुँदैछ । नेपालका लागि यहाँभन्दा ठूलो दुर्भाग्यको कुरा अरू के हुन सक्ला ? चिनियाँ यात्री हुवानसाङले गरेको वर्णनअनुसार हिन्दूहरूको यति समृद्ध राजधानी दक्षिण एसियामा सिम्रौनगढबाहेक अर्को थिएन । तर, यो गौरवलाई जंगबहादुर राणाबाहेक नेपालका शासकहरूले आत्मसात गरेको देखिएन । अंग्रेजकालीन भारत र नेपालबीच भौगोलिक सीमांकन गर्ने क्रममा जंगबहादुरले धेरै प्रयत्नद्वारा सिम्रौनगढ क्षेत्रलाई नेपालतर्फ पारेका थिए । आफ्नो पालामा जंगबहादुरले सिम्रौनगढ क्षेत्रको संरक्षणमा निकै ठूलो भूमिका निर्वाह गरेका थिए । जंगबहादुर तथा उनका छोराहरूले निर्माण गरेका संरचनाहरू त्यस क्षेत्रमा अझै धेरै छन् । तर, त्यस यताका शासनकहरू मस्त निन्द्रामा देखिए । सिम्रौनगढको पहिचान हराउँदै गयो । यतिसम्मकी जिल्लाको, अञ्चलको, तथा गाउँ पञ्चायतको नामाकरण गर्दासमेत सिम्रौनगढलाई शासकहरूले वास्ता गरेनन् । वर्तमान संविधान निर्माणपछि त्यस क्षेत्रका पाँच वटा गाविसलाई समेटेर सिम्रौनगढ नगरपालिका कायम गरिएको छ । त्यस यता स्थानीय सरकारको पहलमा सिम्रौनगढको प्रचारप्रसारका लागि धेरै काम भएका छन्, तर प्रदेश सरकार र संघीय सरकारले चासो नराखिदिएका कारण त्यहाँका पुरातात्विक संपदा हराएर सकिने खतरा बढेको छ । संघीय सरकारले यस विषयमा ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया