मत-विमत

मेलम्ची : गणेशमानको सपना र सोम शर्माको सातु

नरेन्द्रमान श्रेष्ठ २०७७ फागुन १९ गते ७:०१ मा प्रकाशित

नरेन्द्रमान श्रेष्ठ

पछिल्लो समयमा पनि प्रचण्डकी बुहारीसमेत रहेकी तत्कालीन खानेपानी मन्त्री विना मगरले मेलम्चीको ठेक्का लिएको सिएमसी कम्पनीसँग कमिसनको मागेको कुरा चर्चामा आयो । कमिसन नमिलेकोले ठेकेदार भागेको भन्ने चर्चा थियो । प्रचण्डकी बुहारीले ठूलो कमिसन मागेकोले ठेकेदार कम्पनी ओयाजना छोडेर गएको प्रधानमन्त्री ओलीका निकटस्थहरूको भनाइ छ । प्रचण्डकै कारण मेलम्ची आयोजना ढिलाइ भएको स्पष्टोक्ति प्रधानमन्त्री ओलीले दिन थालेका छन् ।

०४६ सालको सफल जनआन्दोलनपछि प्रधानमन्त्री बनेका सन्त नेता कृष्णप्रसाद भट्टराइले राजधानी काठमाडौं उपत्याकाको खानेपानी समस्या समाधानका लागि मेलम्चीको प्रस्ताव अघि सार्दा धेरै बुद्धिजीवीहरूले असंभव भन्दै हाँसोमा उडाए । हास्य कलाकारको संज्ञा दिँदै उनलाई काठमाडौंवासीले दुई/दुईपटक चुनाव हराइदिए । तराईमा गएर चुनाव लड्न बाध्य बनाइदिए । ०५६ सालको आमनिर्वाचनमा भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिएका भट्टराई चुनाव लड्न वीरगञ्ज पुगे । काठमाडौं क्षेत्र नं १ मा पनि तेस्रोपटक उमेदवार बने ।
काठमाडौंमा चुनावी भाषण गर्ने क्रममा उनले फेरी पनि मेलम्चीको कुरा अघि सार्दै भने, ‘म प्रधानमन्त्री बने भने तीन वर्षभित्र मेलम्चीको पानी काठमाडौं ल्याएर सडकसमेत पखाल्छु, यति मात्रै होइन, कम्युनिस्टहरूको आँखा छ्यापिदिन्छु ।’ काठमाडौंवासीले पटकपटक चुनाव हराइदिए पनि उनी वीरगञ्जबाट सांसद पदमा चुनाव जितेर ०५६ सालमा दोस्रोपटक मुलुकको प्रधानमन्त्री बने । प्रधानमन्त्री पदमा सपथ ग्रहण गर्नासाथ उनले मेलम्ची खानेपानी आयोजना निर्माण गर्ने निर्णय गरे । त्यतिबेला करिव ६ महिना प्रधानमन्त्री बन्ने अवसर पाएका भट्टराईले मेलम्ची खानेपानी आयोजनाको निर्माण थालनी गरे । निर्माण थालनी भएको आज २१ वर्ष बितेको छ । तर, मेलम्ची आउँछ भन्ने पत्यार अझै कतिपय राजधानीवासीलाई छैन ।

त्यसो त मेलम्चीको पहिलो सपनाद्रष्टा गणेशमान सिंह हुन् । उनले २०१५ सालमा मन्त्री बनेका बेला मेलम्चीको अध्ययन प्रक्रिया अघि बढाएका थिए, तर ०१७ सालको कु पछि पञ्चायतकालको करिब ३० वर्ष मेलम्ची ओझेलमा प¥यो । ०४६ सालमा पञ्चायत ढल्दासम्म राजधानी काठमाडौंमा खानेपानीको समस्या निकै विकराल बनिसकेको थियो । उपत्याका भित्रको स्रोतले संभव थिएन । बाहिरबाट ल्याउनुपर्दा मेलम्चीबाहेक अर्को विकल्प थिएन । ३६ वर्ष अघि गणेशमान सिंहले देखेको सपनालाई ०५६ सालमा कृष्णप्रसाद भट्टराईले कार्यान्वयनको प्रयास गरे । त्यतिबेलासम्म गणेशमान सिंहको निधन भइसकेको थियो । तर भट्टराईलाई प्रधानमन्त्री पदबाट हटाउनासाथ मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य ओझेलमा प¥यो । अर्थात बेवारिस बन्यो ।

गणेशमानले सपना देख्दै गर्दा अर्थात ०१५ सालमा जन्मेका व्यक्तिहरू अहिले ६२ वर्ष भइसकेका छन् । उनीहरूका नातीसमेत मुलुकको निर्णायक तहमा हस्तक्षेप गर्ने अवस्थामा पुगिसकेका छन् । त्यतिबेला ११ लाखको हाराहारीमा रहेको काठमाडौं उपत्यकाको जनसंख्या बढेर यतिबेला ५० लाखको हाराहारीमा पुगिसकेको छ । तर, मेलम्चीको पानी काठमाडौंवासीको घरघरमा छिरेको छैन । काठमाडौंवासीहरूका लागि मेलम्चीको पानी गणेशमानको सपना नभएर सोमप्रसादको सपनाजस्तो त हुने होइन ? भन्ने आशंका अझै जीवित छ । तर, यतिबेला मेलम्चीको पानी सुरुङमा पठाएर परीक्षण गरिएको छ । त्यसो त आठ महिना पहिले नै पानी पठाएर परीक्षण गरिएको थियो, तर सुरुङमा भएको प्राबिधिक त्रुटीको कारणले दुर्घटनासमेत घटे भने आठ महिनापछि धकेलिएको थियो । अहिले पनि काठमाडौंमा मेलम्चीको पानी आउँछ भन्नेमा राजधानीवासी ढुक्क छैनन् । मेलम्चीको बारेमा धेरै चर्चा परिचर्चाहरू भइसकेका छन् । करिव दुईतिहाइ बहुमतका साथ तीन वर्षअघि केपी ओली प्रधानमन्त्री बन्दै गर्दा मेलम्चीको काम ९७ प्रतिशत सकिएको थियो ।

अब ६ महिनाभित्र सम्पन्न हुने भनिएको थियो । तर, प्रधानमन्त्री बन्नासाथ ओलीले मेलम्चीलाई फेरी बेवारिस बनाए । ठेकेदारलाई नै भगाए । उनले मेलम्चीलाई भन्दा पानीजहाजलाई प्राथमिकता दिँदै कार्यालय नै खोले । भारत र चीनबाट काठमाडौंमा रेल ल्याउने कुरा गरे । तर, मेलम्चीको पानी छिटोभन्दा छिटो ल्याउनका लागि पहल गरेनन् । काठमाडौंको पानीको समस्या समाधानका लागि मेलम्चीबाहेक अर्को बिकल्प अहिलेसम्म देखिएको छैन । मेलम्चीले आफूहरूको तीर्खा मेटाउँछ भन्ने आशमा बसेका काठमाडौंवासीहरूलाई मेलम्चीको पानी पिउनै नपाइ परमधाम होइने हो कि, भन्ने चिन्ता छ । त्यसो त अब पनि मेलम्चीको पानी काठमाडौंवासीहरूका लागि अहिलेको अवस्थामा ‘आकाशको फल आँखातरी मर’ भन्ने उखानजस्तो हुने त होइन भन्ने आशंका जीवितै छ । मेलम्चीको पानी काठमाडौंमा आउँछ भनेको पनि दशकौँ भइसक्यो । मेलम्चीको पानी आउँछ आउँछ भन्दाभन्दै कैयौँ सरकार परिवर्तन भइसके धेरै राजनीतिक व्यवस्थासमेत परिवर्तन भइसके । भनिन्छ मेलम्ची आयोजनामा जालझेल भइरहेको छ ।

मेलम्ची आयोजनामा कमिसनको ठूलो चलखेल भइरहेको चर्चा छ । ट्यांकर, जार र बोत्तलमा पानी बिक्री गरेर ठूलो आर्थिक लाभ लिइरहेको माफियाले हरेक सरकार तथा मेलम्ची आयोजनामा कार्यरत कर्मचारी तथा ठेकेदारलाई किन्ने गरेको चर्चा पनि छ । पछिल्लो समयमा पनि प्रचण्डकी बुहारीसमेत रहेकी तत्कालीन खानेपानी मन्त्री विना मगरले मेलम्चीको ठेक्का लिएको सिएमसी कम्पनीसँग कमिसनको मागेको कुरा चर्चामा आयो । कमिसन नमिलेकोले ठेकेदार भागेको भन्ने चर्चा थियो । प्रचण्डकी बुहारीले ठूलो कमिसन मागेकाले ठेकेदार कम्पनी ओयाजना छोडेर गएको प्रधानमन्त्री ओलीका निकटस्थहरूको भनाइ छ । प्रचण्डकै कारण मेलम्ची आयोजना ढिलाइ भएको स्पष्टोक्ति प्रधानमन्त्री ओलीलेसमेत दिएका छन् ।

नागरिकहरूको जनजीविकासँग गाँसिएको पानीजस्तो मामिलामा पनि कमिसनको ¥याल चुहाएका हुन् भने प्रचण्ड असल नेता होइनन् । तर, समयमै यो रहस्य नखोलेर अहिले पार्टी विभाजनपछि मात्रै उजागर गर्ने ओली पनि असल नेता होेइनन् । शक्तिशाली प्रधानमन्त्री केपी ओली इमानदार भएको भए, विना मगरको केही लाग्ने थिएन, तर ओलीले पानी जहाज र रेलको भाषण गर्न थाले । मेलम्ची आयोजना अलपत्र पार्ने मन्त्री तथा कर्मचारीहरूसँग एकपटक पनि प्रधानमन्त्री ओलीले स्पष्टीकरण लिएनन् ।

हावादारी भाषण गर्ने प्रचण्ड र ओलीका कुरा पत्याउने तर सत्य कुरा गर्दा पनि गणेशमान र कृष्णप्रसाद भट्टराईको हुर्मत लिने काम राजधानीवासीले गरे । यसकारण पनि गणेशमान सिंहले कुनै बेला राजधानीवासीलाई ‘भेरा’ (भेडा) को संज्ञा दिएका हुन सक्छन् । तर, अब त राजधानीवासीले कम्युनिस्ट नेताको चरित्र बुझिसकेका छन् । अब पनि नबुझ्नेहरूले कहिल्यै बुझ्दैनन् । नेकपाका सामान्य कार्यकर्ताहरूदेखि नेता सांसदहरू समेत बेलुनजस्तो फूलेका छन्, कहिले पट्ट फुट्ने हो थाहा छैन । कोही आफ्नो दलको, आफ्नो सरकारको अन्धो समर्थन गर्छन् त कोही सांसद भने यो कम्युनिस्टले मेलम्ची बिगारेको गरेको हो र ? भन्दै रिसाउँछन् । काठमाडांै उपत्यका खानेपानी लिमिटेडका ग्राहकहरूको घरघरमा धारा छ तर लिमिटेडसँग धारामा पानी पठाउन पानी छैन । महँगोमा ट्यांकरबाट बेच्नलाई भने लिमिटेडसँग जति भने पनि छ । यो कस्तो चाला हो काठमाडौं उपत्यका खानेपानी लिमिटेडको ? काठमाडांै उपत्यका खानेपानी लिमिटेडले ग्राहकहरूको धाराहरूमा पानी नपठाए पनि निजी ट्यांकर व्यवसायीहरूसँग भने जति पनि किन्न पाइन्छ महँगोमा । ट्यांकरको पानी, जारको पानी, बोतलको पानी बेच्नेहरूको व्यवसाय भने धमाधम बढिरहेको छ । यिनीहरूसँग भने पानी जति भने पनि हुने काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग मात्र किन नहुने ? उपत्यकाका नागरिकहरूले एक लिटर पानीको ३ देखि ३० रुपैयाँ तिरेर पिउन परिरहेको छ । काडमाडौं उपत्यकामा महिनामा अर्बांै रुपियाँको पानीको कारोबार हुने गरेको छ । निजी पानी व्यवसायीहरूको कारणले नै मेलम्चीको पानी काठमाडौंमा ल्याउन नचाहेको हो भन्ने आरोपमा सत्यता छ । चलि नै रहेका छन् । काठमाडांै उपत्यका खानेपानी लिमिटेडका हाकिमहरू, खानेपानी मन्त्री, मेलम्ची आयोजनाका हाकिमहरू र पानी व्यापारीहरूको मिलोमतोमा मेलम्ची आयोजनामा जालझेल भइरहेको आरोप भुठो होइन ।

बहुदलीय व्यवस्था पुनःस्थापना पछिका सरकारहरू र सरकारको नेतृत्व गर्नेहरूले कामभन्दा बढी हावादारी भाषण गर्ने गरेको अनुभव जनताको छ । देश संघीय लोकतान्त्रिक गणतन्त्रमा आइसक्दा पनि यो प्रवृत्तिले निरन्तरता पाइरहेको छ ।
काठमाडौं उपत्यकामा जनसंख्याको चाप दिनानुदिन बढिरहेको छ । काठमाडांै उपत्यकाले क्षमताभन्दा पनि बढी जनसंख्या धानिरहेको छ । जनसंख्याको वृद्धिसँगै खानेपानीको माग बढ्नु स्वभाविक हो, तर काठमाडौं उपत्यका खानेपानी लिमिटेडले मागको ५० प्रतिशत पनि आपूर्ति गर्न सकिरहेको छैन । विगतमा काठमाडाैं उपत्यकामा पानीको थुप्रै स्रोतहरू थिए । तर जनसंख्याको चापको वृद्धिसँगै र सहरीकरणको विकाशले पानीका स्रोतहरू धमाधम सुक्दै गइरहेका छन् । काठमाडांै उपत्यकामा रहेका कतिपय इनार र ढुंगेधाराहरूबाट पानी आउन छाडेको छ । काठमाडौंमा खानेपानीको समस्या दिनानुदिन बढ्दै गइरहेता पनि सरोकारवालाहरू बेखबर जस्तै बनिरहेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय