जैविक विविधता संरक्षणको आवश्यकता

केबी बस्नेत

केही वर्ष यता यहाँका वन्यजन्तु तथा चराचुरुंगी बिस्तारै लोप हुन थालेपछि पर्यावरणमा पनि केही असर परेको छ । वन्यजन्तु तथा चराचुरुंगीहरू लोप हुँदै गएकोले पर्यावरणमा असन्तुलन बढ्दै गएको संकेत देखिएको छ । यस्तो अवस्थामा मानव जातिलाई अस्तित्वमा राख्नका लागि पनि वातावरण सन्तुलन आवश्यक देखिन्छ ।

नेपालका १८ जिल्लाहरू जैविक विविधतामा धनी छन् । तर उचित संरक्षणको कमीले जैविक विविधतामा नकारात्मक प्रभाव परेको छ । आज जैविक विविधाको संरक्षणमा यथोचित ध्यान नपुग्नाले सिंह, बाघ, गैँडा, अर्नाजस्ता वन्यजन्तुहरूको संख्या निकै कम भएको छ भने नौ प्रजातिका चराहरू लोप भएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसहितको साझेदारी संस्थाले गरेको सर्वेक्षणमा उक्त तथ्य प्रकाशमा आएको हो । वनजंगलमा पाइने चराचुरुंगीहरूको विषयमा गरिएको ०७३ सालको एक सर्वेक्षणमा नेपालबाट ६७ प्रजातिका चराचुरुंगी अति संकटपूर्ण अवस्थामा छन् । साधारणतया हरेक चार वर्षमा गरिने सर्वेक्षणमा यहाँका चराचुरुंगीहरूको संख्या घट्दो क्रममा छ । यसो हुनुमा चराचुरुंगीहरूको बासस्थान मासिँदै जानु, नहर तथा कुलाजस्ता संरचना धेरै निर्माण गर्नु, जथाभावी सडक तथा भौतिक संरचनाको निर्माण गर्नु, विद्युतको हाई टेन्सनको निर्माण आदि विभिन्न किसिमका संरचनाले निकै प्रभाव पारेको छ । यति मात्र होइन, बढ्दो चोरी सिकारी र खाद्यान्नमा विषादीको प्रयोग गर्नाले पनि यहाँका चराचुरुंगीहरूमा नकारात्मक प्रभाव परेको छ ।

केही वर्ष यता यहाँका वन्यजन्तु तथा चराचुरुंगी विस्तारै लोप हुन थालेपछि पर्यावरणमा पनि केही असर परेको छ । वन्यजन्तु तथा चराचुरुंगीहरू लोप हुँदै गएकोले पर्यावरणमा असन्तुलन बढ्दै गएको संकेत देखिएको छ । यस्तो अवस्थामा मानव जातिलाई अस्तित्वमा राख्नका लागि पनि वातावरण सन्तुलन आवश्यक देखिन्छ । केही वन्यजन्तु तथा चराचुरुंगीहरू लोप हुन थालेकोले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यिनीहरूका लागि २७ स्थानलाई अति महत्वपूर्ण स्थानको रूपमा छुट्याई संरक्षणका लागि केही काम थालनी गरेको छ । तर, यस कामको सफलताका लागि स्थानीय जनताको सक्रिय सहभागिताको आवश्यकता छ ।

सिमसार क्षेत्रमा विभिन्न किसिमका वनस्पती हुन्छन् । यहाँ धेरै थरीका जीवजन्तुहरू बसोवास गर्ने हुनाले उक्त क्षेत्रको संरक्षण गर्नसकेमा वनस्पती तथा जीवजन्तुहरूको सुरक्षा हुन्छ । फलतः यहाँको वातावरण संरक्षणमा पनि सकारात्मक प्रभाव पर्छ । यद्यपि, धेरैजसो देशहरूमा बढ्दो सहरीकरण, अनियन्त्रित बसाइँसराइ, जनसंख्या वृद्धि, भौतिक पूर्वाधारहरूको तीव्ररूपले निर्माण लगायतका विभिन्न क्रियाकलापहरूले गर्दा सिमसार क्षेत्रको अस्तित्व नै संकटमा परेको छ । केही राष्ट्रहरूमा भूमाफियाहरूको चलखेलको कारण उक्त क्षेत्र तीव्र रुपले संक्रमित हुँदैछ भने अव्यवस्थित रुपमा बढिरहेको आवास क्षेत्रको कारणले केही सिमसार क्षेत्रको अस्तित्व नै लोप हुने अवस्थामा छ ।

अधिकांश जीवजन्तुले वनजंगल, घाँसे मैदान र जलक्षेत्र वरपर बच्चा कोरल्ने, बासस्थान बनाउने र विचरण गर्ने भएकाले सिमसार क्षेत्रले जैविक विविधताको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छ । तर वनजंगलको बढ्दो अतिक्रमण, चुरे क्षेत्रको अत्याधिक दोहन, भूमाफियाहरूद्वारा जग्गा अतिक्रमण र अव्यवस्थित फोहरमैला विसर्जनको कारण नेपालको सिमसार क्षेत्रहरू घट्दो क्रममा छन् । एक तथ्यांकअनुसार नेपालमा ६० हजार ५ सय ६१ हेक्टर जग्गा सिमसार क्षेत्रले ओगटेको छ । उक्त क्षेत्र संरक्षण गर्नसके यहाँको जैविक विविधता संरक्षणमा धेरै सघाउ हुनेछ । नेपालमा पवित्र स्थलहरूको संरक्षण यहाँ विद्यमान धर्मसँग आबद्ध छ । आजसम्म पनि यहाँको परम्परागत समाजमा विभिन्न किसिमका बनस्पतिका पवित्र प्रजातिहरूको संरक्षण,खान तथा औषधिको रुपमा प्रयोग गरेको पाइन्छ । यसबाट यहाँका पवित्रस्थल तथा गुफाहरूको समेत संरक्षण भएको छ ।

धार्मिक दृटिले यहाँ वर, पीपल, बेल, निम आदि वनस्पति प्रजाति महत्वपूर्ण मानिन्छ । त्यसैले यिनीहरूको संरक्षणले यहाँको पारिस्थितिक प्रणालीको संरक्षणमा समेत सकारात्मक असर पर्छ । पीपल परिवारका प्रजातिले उष्ण प्रदेशका चरा तथा ससानाकिराहरूलाई बास तथा खानेकुरा प्रदान गरेको छ । पहाडका देवी स्थान तथा तराईका ब्रह्मस्थानहरूले वर पीपल लगायत लोप हुने अवस्थामा पुगेका चाप र पलाँस जस्ता प्रजातिहरूको सुरक्षा गरेको पाइन्छ । केही देशमा पवित्र प्रजातिको वनस्पति संरक्षण गरिए तापनि पवित्र भूस्वरूपको संरक्षणमा ध्यानदिएको पाइँदैन । तर नेपालमा गोसाइकुण्ड, खप्तड र मुक्तिनाथ जस्ता पवित्र भूस्वरूपको रूपमा अंगीकार गर्न सकिन्छ । यी पवित्र भूस्वरूप सांस्कृतिक तथा धार्मिक महत्वका हुनुका साथै जैविक दृष्टिकोणले महत्वपूर्ण छन् ।

नेपालमा मध्यवर्ती क्षेत्रको व्यवस्थापन, संरक्षित क्षेत्रहरूको व्यवस्थापन, पार्क–पीपुल कार्यक्रम, सामुदायिक वन आदिको माध्यमबाट जैविक विविधता संरक्षण गर्ने प्रयास गरिएको छ । परन्तु संरक्षित क्षेत्रहरूको भूस्वरूप व्यवस्थापन भने एक नौलो कार्य हो । यहाँका केही स्थानीय भूस्वरूप, व्यवस्थापन गर्ने काम नेपाल सरकार, संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम र विश्ववन्यजन्तु कोषको संयुक्त प्रयासमा सुरु गरिएको छ । यस सन्दर्भमा मकालु वरुण क्षेत्र, कञ्चनजंघा तथा बर्दिया निकुञ्ज र शुक्लाफाँट वन्यजन्तु आरक्षको भूभागलाई जनसहभागिता जुटाई भूस्वरुप व्यवस्थापन गरिएको छ ।

तर स्थानीय जनताको आवश्यकता पूर्ति गर्दा जैविक विविधताको संरक्षण, पारिस्थितिक प्रणालीको स्थायित्व, परम्परागत ज्ञान तथा सीपको सम्बद्र्धन तथा प्रवद्र्धन भएमामात्र भूस्वरूपको व्यवस्थापन प्रभावकारी हुन्छ । वस्तुतः आनुवशिक स्रोतको संरक्षण प्रवद्र्धन र सही परिचालन गरी स्थानीय समुदायको परम्परागत ज्ञान, सीप र अभ्यास सम्बन्धी हकहितको संरक्षण गर्न जैविक विविधता ऐन १९९२ लाई नेपालले अनुमोदन गरेको छ । तर यसलाई व्यवहारमा उतार्न जरुरी छ । जैविक विविधताको व्यापारिक खोजको प्रक्रियाद्वारा जैविक स्रोतहरूको आर्थिक महत्व बढ्छ । परन्तु यिनीहरू लोप हुने डर हुँदा समयमै आनुवशिक स्रोत तथा सम्पत्ति अधिकारसम्बन्धी नीतिनियमहरू अविलम्ब बनाई कार्यान्वयन गर्न आवश्यक छ ।

प्रतिक्रिया