गीतमा देशको चिन्ता

काठमाडौं । दल ठूलो कि देश ? पक्कै पनि देश ठूलो हो । तर किन दलहरुको आन्तरिक राजनीतिक झमेलामा देश फसिरहेको छ ? देशमा किन दलहरु नै हाबी भएका छन् ? देश चलाउन भनेर दलहरु लागिपरेका छन् तर सत्ताको खेलमा कहिलेसम्म देशलाई बर्बाद पारिरहने ? दलको नेतृत्वपंक्तिले जनताको जनभावनामाथि कहिलेसम्म खेलिरहने ? यिनै प्रश्नको जवाफ खोज्ने प्रयास गरिएको छ ‘दल र देश’ गीतको भिडियोमा । राजा खतिवडाको शब्द तथा संगीत रहेको गीतमा गायक तथा संगीतकार ओम सुनारले संगीत संयोजन गरेका छन् । शिक्षकको भूमिकामा राजा खतिवडा र विद्यार्थीको भूमिकामा लक्ष्मीनारायण सुनुवारको स्वर रहेको गीतको भिडियोमा भने राजा र लक्ष्मीको साथै सृजना घिमिरे, समृद्धि सिलवाल, नारायण घिमिरे, मोहन श्रेष्ठ, नरेन भट्टराई, सुवास सिलवाल, मानबहादुर थापा, श्याम राई लगायतका कलाकारको अभिनय छ ।

द्वन्द्वकालमा आफ्नो श्रीमान् गुमाएपछि छोराछोरीले गर्ने प्रश्नको उत्तर दिन नाजवाफ बनेकी आमाको रोदनात्मक दृश्यबाट कथा सुरु हुन्छ । विद्यालय जाँदै गर्दा राजनीतिक दलको आन्दोलन तथा खिचातानीले १ महिनासम्म विद्यालय बन्द हुँदा राजनीतिले विद्यार्थीमा पारेको प्रभावलाई गीतमा देखाउन खोजिएको छ । विद्यार्थी र शिक्षकको प्रश्नोत्तर शैलीमा गीत सुरु हुन्छ । एकएक गरी विद्यार्थी उठेर शिक्षकलाई प्रश्न गर्न थाल्छन् र शिक्षकले उत्तर दिने प्रयास गर्छन् । राजनीतिक कार्यकर्ता विद्यालयमा छिरेर विद्यार्थीलाई कार्यक्रममा लैजाने, विद्यार्थी संगठन विस्तारको नाममा राजनीति नबुझेका विद्यार्थीलाई जबरजस्ती संगठन बनाउनदेखि शिक्षक कोठामा तालाबन्दी गर्ने तथा आन्दोलनमा उक्साउनेजस्ता कार्यहरु गर्न थाल्छन् । अन्तिममा घण्टी बच्छ । विद्यार्थी बाहिर निस्कन्छन् । राजनीतिक पार्टीको झण्डा एकएक गरी सबै झिक्न थाल्छन्, पोस्टर उप्काउँछन् । विद्यालयको गेटमा सूचना टाँसिएको हुन्छ ।

विद्यालयमा राजनीति गर्न मनाही छ । राजनीति गर्न आउनेलाई प्रवेश निषेध । एउटा शिक्षक राष्ट्रिय झण्डा बोकेर आउँछन् । सबै शिक्षक विद्यार्थी झण्डामुनि आएर शिर निहुराउँछन् । झण्डा फरफराइरहन्छ । पृष्ठभूमिमा सन्देशमूलक आवाज घन्किन्छ । २००७ सालदेखि विभिन्न रङका झण्डाहरु देखापरेपछि देशमा भएको एकतालाई विभाजन गरिदियो । चन्द्रसूर्य अंकित झण्डालाई पर राखेर दलको झण्डा बोक्न लगाइयो । अनेक आकार र प्रकारका झण्डाले भाईभाई फुटिए, परिवार टुक्रिए, नेपाली समाज अनेक कित्तामा बाँडिए । म नेपाली हुँ भन्दा गर्व महशुस हुनुपर्नेमा गर्वका साथ म फलानो दलको भन्ने प्रवृत्तिको विकास भएको भाव गीतमा आएको छ । हजारौं कार्यकर्ता दलको झण्डा बोकेर अरूको विरोध गर्दै नारा लगाउँदै हिँड्ने ती पौरखी हात त्यस्तैगरी राष्ट्रियतालाई मनमुटुमा राखेर देश विकासमा जुट्ने हो भने राष्ट्र कति समृद्धशाली बन्थ्यो होला ? भन्ने कौतुहलता गीतमा उठाइएको छ । गीतमा सधैं दलको मात्र पछि लागिरहँदा पैसा, पद र प्रतिष्ठाको लोभमा कतै आफै प्रयोग भइरहेका त छैनौँ भन्ने प्रश्न उठाइएको छ । राष्ट्रनिर्माणमा जुट्ने समयमा दिनरात नभनी दल र नेताको पछि लागिरहँदा नयाँपुस्ताको भविष्यप्रति चिन्ता व्यक्त गरिएको छ ।

गीतको भिडियोमा नारायण जिसीको छायांकन तथा राकेश दाहालको सम्पादन गरेका छन् । सञ्चारकर्मी तथा रंगकर्मी मोहन अभिलाषीको परिकल्पना तथा निर्देशनमा बनेको भिडियोमा एउटा विद्यालयमा हुने चरम राजनीतिकरणलाई प्रस्तुत गरिएको छ । शिक्षक नै पढाउन छोडेर दलको झण्डा बोक्दै हिँड्ने तथा विद्यार्थीलाई पनि जबरजस्ती दलको झण्डा बोकाउने प्रवृत्तिमाथि प्रहार गरिएको छ । बजारमा आइरहेका अन्य गीतभन्दा फरक स्वाद रहेको गीतले राष्ट्रियताको पक्षमा बोलेको गीतकार खतिवडाले बताए ।

प्रतिक्रिया