बैतडी । जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । २५ जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७३ कैदीबन्दी छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापन र सुरक्षा चुनौती थपिएको जेलर अनिल तिवारीले जानकारी दिए । ‘कैदीबन्दी बढी हुँदा बसोवास र सुरक्षाका दृष्टिकोणले चुनौती छ’, उनले भने, ‘बस्ने ठाउँ अभावमा त्रिपाल राखेर कैदीबन्दीलाई राख्नु परिरहेको छ ।’ कारागारमा अहिले ३२ कैदी र ४१ थुनुवा छन् । भित्र बस्ने ठाउँ नभएपछि कारागारको आँगनमा टेन्ट राखेर कैदीबन्दीलाई बसोवासको व्यवस्था मिलाइएको छ ।
‘१० जना टेन्टभित्र बसिरहेका छन् भने बाँकीलाई कोठाभित्र बसोवासको व्यवस्था मिलाइएको छ’, उनले भने, ‘कोठाको अभावमा दुईतले खाट बनाएर कैदीबन्दीलाई बसोवासको व्यवस्था मिलाइएको छ ।’ जीर्ण भवन रहेको र कोठा पनि कम रहेकाले निकै समस्या झेल्नुपरेको छ । जिल्ला कारागारमा बसोवासको उचित व्यवस्था नहुँदा कैदीबन्दीले बेलाबेलामा गुनासोसमेत गर्ने गरेका छन् । ०४० मा निर्माण गरिएको कारागार भवनलाई बेलाबेलामा मर्मत गरिएको भए पनि कोठा थपिएको छैन । एकातिर भवनमा कोठाको अभाव छ भने अर्कोतिर कैदीबन्दी बढ्दै जाँदा बसोवासको व्यवस्था मिलाउन गाह्रो भइरहेको जनाइएको छ ।
प्रतिक्रिया