खोजखबर

चैनपुरमा खानेपानीको हाहाकार

सौर्य अनलाइन २०७७ फागुन १६ गते २०:२९ मा प्रकाशित

बझाङ । सदरमुकाम चैनपुरमा दुई सातादेखि खानेपानीको हाहाकार भएको छ । खानेपानीको पाइपको उचित व्यवस्थापन हुन नसक्दा समस्या भएको हो । सदरमुकामलाई लक्षित गरेर तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम भइरहेको छ ।लामो समयदेखि धारामा खानेपानी नआउँदा होटल व्यवसायी बढी मर्कामा परेका छन् । धारामा खानेपानी नआउँदा सदरमुकामवासी बाउली खोला र सेती नदीको फोहर पानी पिउन बाध्य छन् ।

धारामा पानी नआउँदा सास्ती भएको होटल व्यवसायी हर्क बोहराले बताए । उनका अनुसार होटलमा आएका ग्राहकलाई हातमुख धुन र चर्पीमा प्रयोग गर्नका लागि बिहानै उठेर पानी बोक्नुपर्छ । धारामा पानी नआउँदा होटल व्यवसायी मात्र नभई सदरमुकाम चैनपुरमा डेरा गरी बस्दै आएका र अध्ययनका लागि आएका विद्यार्थीलाई पनि निकै सास्ती भएको छ ।

सेती नदी र बाहुलीगाढ खोलाको दूषित पानी पिउँदा सदरमुकामवासी बिरामी हुन थालेका छन् । फोहर पानीका कारण जिल्ला अस्पतालमा पानीजन्य संक्रमणका बिरामीको संख्या बढ्दै गएको अस्पतालका प्रमुख डा.सन्दीप ओखेडाले बताए । उनले सदरमुकाम क्षेत्रका मानिसमा पछिल्लो समय मौसम परिवर्तनसँगै स्वच्छ पानी पिउन नपाउँदा झाडापखाला, आउँ, ज्वरो, रुघाखोकीजस्ता समस्या बढ्दै गएको बताए ।

चैनपुर कुचा सडक निर्माणका क्रममा खानेपानीको पाइप काटिँदा सदरमुकाममा खानेपानीको समस्या आएको चैनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले बताए । खानेपानीको पाइप जडान भइरहेकाले अब केही दिनभित्रै समस्या समाधान हुने उनको भनाइ थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय