५ हजार जरिवाना तिर्न नसक्दा बिनिताले गरिन् आत्महत्या

काठमाडौं । परम्परागतरुपमा रहेको पञ्चायती व्यवस्था अहिलेसम्म हट्न नसक्दा विभिन्न किसिमका घटनाहरु निम्तिने गरेको छ । पञ्चायतीकै कारण एक महिलाले ५ हजार रुपैयाँ जरिवाना तिर्न नसक्दा एक महिलाले आत्महत्या रोज्नु परेको छ । धनुषाको औरही गाउँपालिका वडा नम्बर २ स्थित देउरी बस्ने रामजीवन यादवकी पत्नी अन्दाजी ३६ वर्षीया बिनिता देवी यादवले अर्काको खेतमा रहेको साग टिपेको विषयमा गाउँमा पञ्चायती भएको थियो । र सो पञ्चायतले बिनितालाई ५ हजार रुपैयाँ गरेको थियो । सो जरिवाना उनले तिर्न नसकेपछि आत्महत्या नै गरिन् ।

गत बिहीवार दिउँसो सोही ठाउँ बस्ने सुमित्रा देवी यादव र बबिता यादवसँग बिनिता यादव गाउँको छेउमै रहेको ओसराबला भनिनेको खेतमा घाँस काट्न गएकी थिईन् । घाँस काट्न गएकी ति बिनिताले खेतमा साग टिपेको उनीमाथि ओसरवालाले आरोप लगाएको थियो । साग टिपेको भन्दै उनीहरुलाई खेतमा रहेकी केहि महिलाहरुले कुटपिट समेत गरेकी थिइन् ।

समुदायका माइन्जनसहित वडाध्यक्ष अमित यादवको अगुवाइमा गाउँमा पञ्चायतीको लागि भेला बोलाइएको थियो । सो पञ्चायतले घास काट्न गएकी ति महिलाहरुलाई प्रतिव्यक्ति ५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने निर्णय तत्कालै गरि सुनाइएको थियो ।

सो पञ्चायतीबाट बिनिता, सुमित्रा र बबितालाई न्यायँ दिनु साटो उनीहरुलाई ५–५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरियो । एक स्थानीयले बताए अनुसार घाँस काट्न गएकी महिलाहरुमाथि साग टिपेको आरोप लाग्नुका साथै कुटपिट समेत भएको थियो । तर कुटपीटको विषयमा पञ्चायतले केहि नगरि साग टिपेको आरोप महिलाहरुमाथि लगाइयो र उनीहरुमाथि जरिवाना नै तोकिदियो ।

सो पञ्चायतले जरिवाना तोकेपछि घर फर्केकी बिनिताले सामाजिक रुपमै आफुलाई अपमान गरेको भन्दै आत्मसम्मानमाथि ठेस पुगेको कुरा सहन नसकेर आत्महत्या गरेको हुनसक्ने आफन्तजनको भनाई छ ।

प्रतिक्रिया