नेपाल एसियन कपमा छनोट हुन्छ : फिलिप्स

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमका नवनियुक्त मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले महिला टिमले एएफसी एसियन कप खेल्ने सम्भावना रहेको बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले टेक्निकल कमिटीको प्रस्तावमा बिहीबार एन्फाका टेक्निकल डिरेक्टर समेत रहेका अष्ट्रेलियन नागरिक ग्यारी फिलिप्सलाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

फिलिप्सले अब एक वर्षभन्दा बढी समयदेखि रिक्त महिला टिमको प्रशिक्षकको रुपमा काम थाल्नेछन् । प्रशिक्षक नियुक्त भएपछि फिलिप्सले यस कामका लागि आफू गम्भीर रहेको बताएका छन् । उनले नेपाली महिला फुटबलको भविष्य राम्रो रहेको भन्दै अर्को वर्ष भारतमा हुने एएफसी एसियन कप खेल्ने सम्भावना रहेको बताएका हुन् ।

एन्फासँगको कुराकानीमा फिलिप्सले भने, ‘मैले यस कामलाई सिरियस रुपमा लिएको छु । म यसका लागि इच्छुक पनि थिएँ । त्यही कारणले गर्दा हामीसँग ठूलो अवसर छ फुटबल विकास गर्नको लागि । महिला खेलाडीहरुले नेपालको राम्रो प्रतिनिधित्व गरेका छन् । राष्ट्रिय लिग भयो । नयाँ खेलाडीहरु आएका छन् । एक्साइटिङ ट्यालेन्टहरु छन् । एएफसी कपमा छनोट हुने अवसर छ ।’ एसियन कप २०२२ जनवरीमा भारतमा हुँदैछ । जसमा १२ टिमले भाग लिने छन् । आयोजकको हैसियतमा भारत छनोट भइसकेको छ । यस्तै २०१८ को संस्करणमा शीर्ष तीनमा रहेका जापान, अष्ट्रेलिया र चीन पनि सिधै छनोट भइसकेका छन् ।

अब बाँकी ८ स्थानका लागि २०२१ को सेप्टेम्बर १३ देखि २५ सम्म एएफसी कप क्वालिफायर हुनेछ । जसमा नेपालले समेत खेल्दैछ । छनोट चरणका खेल सेप्टेम्बरमा हुने तय छ । एन्फाले पनि एउटा समूहको छनोट खेल आयोजना गर्न बिडिङ गरेको छ । प्रशिक्षक फिलिप्सले त्यसका लागि अहिलेदेखि योजना बनाएर अगाडि बढ्ने बताए । उनले राष्ट्रिय लिगबाट उत्कृष्ट खेलाडीहरु छनोट गरिने र उनीहरुलाई मासिक प्रशिक्षण दिने बताए । उनले खेलाडी छनोट गरेर क्याम्प सुरु गर्ने बताए । ‘केही फरक मेथड प्रयोग गर्ने ट्रेनिङ फिलोसोफी लागु गर्ने योजना छ,’ फिलिप्सले भने,’अर्को महिनासम्म क्याम्पको लागि टिम तयार हुन्छ ।’

त्यसपछि राम्रो लेभलका खेलाडीहरु छनोट गरिने उनले बताए । उनले उत्कृष्ट खेलाडी छान्दै अन्तिमा २३ खेलाडी छनोट गरिने बताए । हरेक महिना प्रशिक्षित गरिने र युवा खेलाडीलाई पनि समावेश गर्ने उनले बताए । फिलिप्सले नेपाली महिला फुटबलको भविष्य राम्रो देखेका छन् । त्यसका लागि ग्रासरुटदेखि सबै प्रदेशमा गएर उत्कृष्ट प्रतिभाहरु खोज्ने बताए । ‘हामी ग्रासरुटदेखि महिला खेलाडीको विकास गर्न चाहन्छौँ । सिस्टम र प्रोसेसअनुसार राम्रो खेलाडी बनाउने हो । महिला फुटबलको भविष्य राम्रो छ । त्यो हाम्रो दायित्व हो,’ फिलिप्सले भने, ‘हामी सबै प्रदेशमा खेलाडी हेर्छौँ र ट्यालेन्छ हेर्छौँ । उनीहरुको पहिचान गर्छौँ र अवसर दिन्छौँ ।’

नेपाली महिला फुटबल एसियामा राम्रो रहेको फिलिप्सको बुझाइ छ । फिलिप्सले यसअघि पपुवा न्युगिनीको महिला टिमको प्रशिक्षण सम्हालेका थिए । ‘नेपाल एसियामा राम्रो छ । एसियन कपमा १२ टिम जान्छ । हामी एसियामा शीर्ष १५औं भित्र पर्छौँ । फिलिप्सले भने । एसीएन कपमा छनोट हुने चाहना धेरै छ,’ उनले भने ।

यस्तै फिलिप्सले सावित्रा भण्डारी साम्बा घाइते हुनु निराशाजनक रहेको बताए । ‘साम्बा घाइते हुनु निराशाजनक हो । म खुशी छैन । उनी राम्रो खेलाडी हुन्,’ फिलिप्सले साम्बाबारे भने, ‘उनले अष्ट्रेलियाको लिग खेल्न सक्छिन् । यदि युरोपमा नभए पनि एसियाको कुनै पनि लिग खेल्न सक्छिन् । उनको राम्रो पक्ष भनेको उनी आफ्नो वरपर अरु खेलाडी विकास गर्न सहयोग गर्छिन् ।’ फिलिप्सले साम्बालाई मिस गर्ने बताउँदै चाँडै राम्रो उपचार हुने र चाँडै मैदान फर्कने विश्वास व्यक्त गरे । ‘हाम्रो लक्ष्य एसियन कप हो र साम्बा फेरि खेलमा फर्कनेछिन् भन्ने आशा छ,’ उनले भने ।

राष्ट्रिय लिगमा पुलिसविरुद्धको खेलमा साम्बा घाइते भएकी छिन् । उनको एसिएल च्यातिएकाले शल्यक्रिया गर्नुपर्ने भएको छ । साम्बा कम्तीमा ९ महिना मैदान बाहिर हुनेछिन् । लिगमा सर्वाधिक ४३ गोल गरेकी उनी बेस्ट फरवार्ड घोषित भएकी थिइन् ।

प्रतिक्रिया