मूलपानी क्रिकेट मैदान निर्माण तिब्र

काठमाडौं । राजधानीको मूलपानी क्रिकेट मैदानले पूर्ण आकार लिँदै छ । पिचको निर्माणकार्य जारी छ । कुल सातवटा पिच निर्माण गर्ने लक्ष्य रहेकोमा दुईवटा पिच निर्माण भइसकेका छन् । २०६० सालबाट निर्माणकार्य थालिएको मैदानमा अहिले पिच बनाउने कार्यले गति लिएको हो । ०६० पुस ९ गते साविकको मूलपानी गाविसका सबै राजनीतिक दलको सहमतिमा एसियन क्रिकेट एकेडेमी बनाउन स्थानीयवासीले सार्वजनिक जग्गा दिएका थिए ।

२९६ रोपनी जग्गामा दुईवटा मैदान बनाउने कार्य अन्तिम चरणमा पुगेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का तर्फबाट मूलपानी क्रिकेट मैदानको संयोजन गरिरहेका राधाकृष्ण विष्टले बताए । माथिल्लो मैदानमा क्रिकेटका केही प्रतियोगिता भइसकेका छन् । तर, तल्लो भागमा रहेको अन्तर्राष्ट्रिय मैदान भने जग्गा मुआब्जाका कारण निर्माणकार्य सम्पन्न हुन ढिलाइ भएको छ ।

पिच पूर्ण रूपमा नबन्दा गत वर्षको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता मैदानमा म्याट बिच्छाएर सम्पन्न गरिएको थियो । ०७५ साउनमा दुई वर्षभित्र मैदानको काम पूरा हुने बताइएको थियो । हाल क्रिकेट मैदान निर्माणकार्यले अन्तिम रूप पाउन थालेको विष्टको भनाइ छ । उनले छिट्टै मैदानमा पिच बनाउने कार्य पूरा गर्ने र मैदान तल रहेको सुकुम्बासी बस्तीलाई पनि हटाउने कार्य थालिएको बताए ।

‘कुल पाँच पिच बनाउने हाम्रो योजना हो । त्यसैअनुसार हाल दुई पिच पूर्ण रूपमा खेल्न योग्य भइसकेका छन् । अन्य पिचहरुलाई पनि हामी छिट्टै नै पूर्ण आकार दिने योजनामा छौँ,’ विष्टले भने । अरु दुईवटा पिच भने आवश्यकताअनुसार थप गरिने बताइएको छ । मूलपानी क्रिकेट मैदानले पूर्ण आकार लिएमा नेपाली क्रिकेटले गति लिने र अन्तर्राष्ट्रिय प्रतियोगिताहरु मूलपानीमै गर्न सकिने विश्वास लिइएको छ ।

प्रतिक्रिया