राजनीतिक निकासको बाधक नेकपा !

काठमाडौं । २०७४ मंसिरमा भएको निर्वाचनमा झण्डै दुई तिहाई नजिक पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै अहिलेको राजनीतिक निकासको बाधक बनेको छ । नेकपा नेतृत्वको सरकार गठन भएको ३ वर्ष पुगेपनि अहिले निक्कै जटिल अवस्थामा राजनीति आइपुगेको हो । नेकपा आफै अहिले न सरकार जोगाउने स्थितिमा छ न त नयाँ सरकार बनाउने सक्षम अवस्थामा छ । निक्कै लामो समयदेखीको विवाद पुष ५ गते पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरिदिएपछि नेकपा पार्टी दुई समानान्तर गतिविधिमा चलिरहेको छ । कानुनी र संविधानको हिसाबले नेकपा एक भएपनि बाँकी सम्पूर्ण गतिविधि दुई पार्टीको जस्तो छ । प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल दुई खेमामा विभाजित छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि दुवै पक्ष अहिले शक्ति प्रर्दशनको होडमा लागेका छन् ।

दाहाल–नेपाल समुह नयाँ सरकार बनाउने जोडमा लागेका छन् । ओली भने सकेसम्म आफु नेतृत्वकै सरकार जोगाउने नभए कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउने दाउमा छन् । पुनःस्थापना भएको प्रतिनिधिसभामा नेकपाको मात्रै स्पष्ट बहुमत छ । तर यो पार्टी अहिले कानुनी रुपमा विभाजित नभएपनि दुई समुहमा बाँडिएको छ । जबसम्म कानुनी रुपमा यो पार्टी फुट्दैन वा एक मनले जुट हुदैन तबसम्म नेपालको राजनीति के हुन्छ भन्न सक्ने अवस्थामा छैन । नयाँ सरकार बनाउन वा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले पहिले आफ्नो पार्टी क्लियर गर्न दाहाल–नेपाललाई सुझाव दिइसकेका छन् । तर, कांग्रेस र जसपाले भनेजस्तो सजिलो नेकपा विभाजन गर्ने अवस्थामा छैन । कानुनी रुपमा निक्कै जटिल अवस्थाबाट नेकपा गुज्रिरहेको छ । न त पार्टी एक हुने अवस्थामा छ न त तत्काल फुट्ने अवस्थामा छ ।

दाहाल–नेपाल समुह जसरी पनि ओलीलाई प्रधानमन्त्रीबाट हटाउने दाउमा देखिएका छन् । त्यसका लागि उनिहरु कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा स्विकार गर्न तयार देखिएका छन् । ओलीसँग कुनै पनि हालतमा सहकार्य गर्ने पक्षमा सो समुह देखिएको छैन । तर, दुवै समुहका दोस्रो तहका नेता भने फेरी एकताको पक्षमा उभिन थालेका छन् । विगतमा पनि यस्तै पक्षमा देखिएको ति युवा नेता विभाजनका क्रममा दुवै पक्षका शिर्ष नेताको फेरो समाएर गालीगलौजमा आफै उत्रिएका थिए । यता, ओली पक्ष भने जसरी पनि ओलीलाई प्रधानमन्त्रीमा टिकाइरहने नभए देउवा नेतृत्वमा चुनावी सरकार बनाउने पक्षमा देखिएको छ । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री ओलीले राजीनामा नदिइ संसद्मा डटेर सामना गर्ने बताएका छन् ।

पार्टीनिकट अनेरास्ववियुको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले सर्वोच्च अदालतले गरेको निर्णयको सम्मान गर्ने बताए । उनले प्रधानमन्त्री ओलीले कसैले राजीनामा माग्दैमा नदिने र संसद्को सर्वोच्चतालाई मानेर संसदमा नै सामना गर्ने बताए । उनले नेकपाको अर्काे समूहलाई हिम्मत भए अविश्वासको प्रस्ताव लिएर आउने चेतावनी दिए । ‘प्रधानमन्त्रीले अविश्वासको सामना गर्नुहुन्छ । नेकपाले लोकतान्त्रिक विधिबाट आउने सबैको सामना गर्छ’, उनले भने । प्रधानमन्त्री संसद्को सामना गरेर नेपाली जनताप्रति आफ्नो लोकतन्त्रको प्रतिबद्धतालाई प्रमाणित गर्ने बताउँदै प्रधानमन्त्रीविरुद्ध सडकमा नारा लगाएको भरमा राजीनामा नगर्ने स्पष्ट उनले पारे ।

नेकपाको दुवै पक्षले अहिले नेपाली कांग्रेसको आस व्यक्त गरेका छन् । तर, कांग्रेस भने अहिलेसम्म मौन देखिएको छ । यद्यपी भारत र चीनका राजदूतले आगामी सरकार निर्माणमा निर्णायक देखिएका देउवासँग भेटवार्ता गरिसकेका छन् । जसले गर्दा भावी समिकरण कस्तो बन्ने भन्नेमा अन्यौल देखिएको छ । नेकपा कानुनी रुपमा विभाजन नभएसम्म नेपालको राजनीति कसरी अगाडी बढ्छ भनेर एकीन नहुने राजनीतिक विश्लेषकहरु बताउछन् । नेपालको राजनीति अब अगाडी बढ्छ भन्नका लागि कि नेकपा एकता हुनुपर्ने नभए विभाजन हुनुपर्ने उनिहरु बताउछन् ।

प्रतिक्रिया