सांसदलाई गोलबद्ध हुन आव्हान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको दाहाल–नेपाल समूहले सबै सांसदलाई आफ्नो समुहमा गोलबद्ध हुन आग्रह गरेको छ । प्रतिनिधिसभा पुनःस्थापना भएपछि नयाँ समिकरण बनाउने प्रयासमा लागेको यो समुहले सांसदलाई एकताबद्ध हुन पनि अपिल गरेको छ । बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा दाहाल–नेपाल समूहका अध्यक्षद्वयले ओलीतिर रहेका सांसदलाई आफूतिर आउन आह्वान गरेका छन् । उनीहरूले ओली समूहका सांसदलाई मूल धारमा आउन समेत आह्वान गरेका छन् । अध्यक्षद्वयले आफूहरू सरकार बनाउनको लागि भन्दा पनि व्यवस्थाको लागि लडेको बताएको बैठकमा उपस्थित सांसद झपट रावलले बताए ।

‘हाम्रो मुख्य उद्धेश्य भनेको कुन सरकार बनाउने, के बनाउने, कसलाई बनाउने भन्दा पनि हामी व्यवस्थाको लागि लडेका थियौं । हाम्रो मुख्य उद्धेश्य भनेको व्यवस्था जोगाउनु हो’, अध्ययद्वयको भनाइ उद्धृत गर्दै उनले भने । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीले एकरातमै अहिलेसम्मका उपलब्धिलाई सकाए पनि सर्वोच्चले फैसला गरेर जोगाएको बताए । ‘अहिलेसम्म रहेको उपलब्धिलाई प्रधानमन्त्रीले एकरातमै सकाउनु भयो । तर त्यसलाई सम्मानित सर्वोच्च अदालतले फैसला गरेको छ । हामी फेरि संघर्षको अर्को चरणमा जानुपर्छ’, उनले भने ।

यस्तै, सो समुहका अर्का अध्यक्ष माधवकुमार नेपालले ओली प्रवृतिले गर्दा पार्टी अगाडि नबढेको भन्दै पार्टीलाई एकबद्ध बनाएर लानुपर्नेमा जोड दिए । ‘पार्टीलाई एकबद्ध बनाएर लानुपर्छ । ओली प्रवृत्तिले गर्दा पार्टी अगाडि बढ्न सकेको छैन । अब हामीले एकताबद्ध भएर अघि बढ्नु पर्छ’, उनले भने । त्यसअघि बसेको स्थायी कमिटि बैठकले पनि नेता, कार्यकर्तालाई जिम्मेवारीमा फर्कन आव्हान गरेको थियो । कुनै पनि कारणले अन्य समूहमा लागेका सबै नेता, कार्यकर्तालाई आ–आफ्नो जिम्मेवारीमा फर्कन आव्हान गर्ने निर्णय गरेको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘नयाँ सन्दर्भमा पार्टीका जति कमरेडहरु भ्रममा परेर वा अन्य कारणले फुटवादी गुटमा र प्रतिगामी गुटमा लाग्नु भएको छ ती सबै साथीहरुलाई मूल पार्टीमा नै फर्केर आ–आफ्नो जिम्मेवारी लिन पनि आव्हान गर्ने निर्णय गरेका छौं ।’

बैठकले आत्मालोचनासहित रुपान्तरण नभएसम्म ओली समूहसँग एकता नहुने निष्कर्षसमेत निकालेको प्रवक्ता श्रेष्ठले बताए । ‘पार्टी एकताको पक्षमा हामी सधैं छौं । हिजो पनि थियौं । पार्टी एकता पनि जोगाउने, संविधान र लोकतन्त्रको पक्षमा र जनमुखी विकासको पक्षमा पनि जान प¥यो भनेर बहस गर्दाखेरी ओलीजीले संविधान र लोकतन्त्रको पनि हत्या गर्न उद्यत हुनुभयो र पार्टीलाई पनि फुटाउने, चोइट्याउने, गुटवादी प्रयत्न अगाडि बढाउनुभयो । हामी त्यसको विरोध गरेका हौं र अहिले पनि हामी पार्टी एकताको पक्षमा छौं,’ उनले भने, ’तर पार्टी एकतालाई प्रहार गर्ने, चोइट्याउने, गुट र फुटमा रमाउने र त्यसक्रममा संविधान र लोकतन्त्रमाथि पनि आक्रमण गर्ने प्रवृत्तिले आफूलाई आत्मालोचक ढंगले र नयाँ रुपमा प्रस्तुत नगरेसम्म त्यो एजेन्डा खाली कुराका कुरा हुनसक्छ ।’

प्रतिक्रिया