लक्ष्यभन्दा आधाले मात्र लगाए खोप

त्रिशुली । नुवाकोटमा अग्रपंक्तिमा सेवा प्रवाहमा कार्यरत लक्षित समूहमध्ये आधाभन्दा कमले मात्रै कोरोना रोग विरुद्धको खोप (कोभिशील्ड)को पहिलो डोज लगाएका छन् । जिल्लामा हालसम्म दुई समूहमा सञ्चालन गरिएको खोप कार्यक्रममा ८ हजार ७९ जनाले कोरोना रोग विरुद्ध खोप लगाउन नाम सूचीकृत गरे पनि कार्यक्रम सम्पन्न हुदाँसम्म ३ हजार ८ सय ८६ जनाले मात्र खोप लगाएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तमराज खनालले जानकारी दिए । दोस्रो चरणको खोप कार्यक्रम सोमबार सम्पन्न भएको छ । २ फागुनदेखि सुरु भएको दोस्रो चरणको लागि ६ गतेसम्म तोकिएको भए पनि लक्ष्यभन्दा निकै कमले सहभागिता जनाएसँगै ८ गतेसम्म समय थप गरिएको थियो ।

स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेका अनुसार नाम दर्ता गराएको लक्ष्यभन्दा आधाभन्दा कमले मात्रै खोप लगाउनुलाई खोप लगाउँदा तोकिएको मापदण्ड (दीर्घरोगसम्बन्धी औषधि सेवनकर्ता, कोरोनाको सक्रिय संक्रमित, गर्भवती तथा स्तनपान गराउँदै आएका सुत्केरीलाई नहुने) अनुसार नाम दर्ता गराउने धेरै र सेवा लिनेको संख्या कम देखिएको हुनसक्ने अनुमान छ । यद्यपि खोप लगाएपछि देखिने शारीरिक प्रतिक्रिया र खोपप्रतिको विश्वाससमेत कम भएर लगाउनेको संख्या लक्ष्यभन्दा कम भएको हुनसक्ने स्वास्थ्य कार्यालयको भनाइ छ । नुवाकोटमा पहिलो चरणको खोप अभियान गत १४ माघदेखि र दोस्रो चरणको खोप अभियान २ फागुनदेखि चलाइएको थियो ।

सरकारी कर्मचारी, स्थानीयतहका जनप्रतिनिधि, पत्रकार, जिल्लास्थित बैंकको शाखा कार्यालय र सहकारी तथा वित्तीय संस्थाका कर्मचारीसमेत गरेर ५ हजार ६ सय ५८ जनाले खोप लगाउन नाम सूचीकृत गरे पनि उक्त अवधिमा २ हजार ८१ जनाले खोप लगाएका थिए । त्यसअघि पहिलो चरणको खोप कार्यक्रममा स्वास्थ्यकर्मी, स्वास्थ्य स्वंयसेविका, एम्बुलेन्स र शवबाहनका चालक, सरसफाइकर्मीलाई लक्षित गरेर चलाइएको खोप कार्यक्रममा २ हजार ४ सय २१ जनालाई खोप लगाउने लक्ष्य राखे पनि १ हजार ५ सय ७६ जनाले मात्रै खोप लगाएका थिए । उक्त दुवै समूहमा छुट भएकालाई समावेश गरेर सोमबार चलाइएको खोप कार्यक्रममा २ सय २९ जनाले सेवा लिएका थिए । १२ स्थानीय तह रहेको नुवाकोटमा त्रिशुली अस्पताल खोप केन्द्रमार्फत नौ र खरानीटार अस्पतालमार्फत बाँकी तीन स्थानीयवासीलाई सेवा दिने गरेर खोप कार्यक्रम चलाइएको थियो ।

प्रतिक्रिया