हिमालयन उद्धार संघको वार्षिक साधारणसभा

काठमाडौं । कोरोना संक्रमणपछि विस्तारै पर्यटन व्यवसायले गति लिन सुरु गरेको अवस्थामा पर्वतीय पर्यटनमा आउने पर्यटकका लागि सुरक्षित अनुभूति दिलाउन आवश्यक भएकोमा जोड दिइएको छ ।

हिमालयन उद्धार संघ नेपालको सम्पन्न ४६औँ वार्षिक साधारणसभाले मनाङ तथा फेरिचे स्वास्थ्यचौकी तथा सगरमाथा आधारशिविर र गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन कार्यालय निरन्तरता दिने निर्णय गरेको छ ।

सो अवसरमा संघका अध्यक्ष हरिप्रसाद धरेलले लेक लाग्ने रोगको रोकथामका लागि प्रभावकारी सूूचना प्रवाह गर्न ठाउँठाउँमा सूचनापाटी राख्ने, पर्चा पम्पलेट वितरण गर्ने, विद्यार्थीहरुलाई प्रशिक्षित गराउने तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्रमा संघका कार्यक्रम विस्तार गरिने बताए ।

उनले खुम्बु पासाङल्हामु तथा मनाङको ङिस्याङ गाउँपालिकासँग समन्वय गरी विभिन्न सुरक्षात्मक कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिए ।

बैठकमा संघका महासचिव श्रीराम खत्रीले प्रस्तुत गर्नु भएको आव २०७६–७७ को प्रगति प्रतिवेदन तथा आव २०७७–७८ को वार्षिक कार्यक्रम तथा कोषाध्यक्ष सुशीलकृष्ण अधिकारीले आव २०७६–७७ को लेखापरीक्षण प्रतिवेदन तथा आव २०७७–७८ को वार्षिक बजेटलाई पारित गरेको छ । साथै, संघका मेडिकल निर्देशक डा. बुद्ध बस्न्यातले प्रस्तुत गरेको मेडिकल प्रतिवेदनलाई पनि बैठकले पारित गरेको छ ।

प्रतिक्रिया