आर्थिक अभाव भएका विद्यार्थीले चोरे कम्प्युटर

सल्यान । जिल्लामा कम्प्युटर अप्रेटर पढिरहेका एक विद्यार्थीले विद्यालयको कम्प्युटर चोरी गरेका छन् । घरमा कम्प्युटर किन्ने पैसा नभएपछि आफनो पढाइ सुधार गर्ने भन्दै विद्यार्थीले कम्प्युटर चोरी गरेका हुन् । शारदा नगरपालिका–६ निवासी कक्षा ११ मा पढ्ने १८ वर्षीय छात्रले घरमा आर्थिक अभाव भएको र कम्प्युटर किन्न सक्ने अवस्था नभएपछि आफ्नै दुई जना साथीहरूको सहयोगमा कम्प्युटर चोरी गरेको प्रहरीले जनाएको छ ।

मुख्य आरोपित छात्रले सल्यानकै शिवजन उमाविमा अध्यनरत दुई जना साथीको सहयोगमा माघ २२ गते दुई र मदमकाँडा विद्यालयको एक सेट कम्प्युटर चोरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेपछि चोरी गर्नुको रहस्य खुलेको हो । पक्राउ पर्नेमा शारदा नगरपालिका–६ निवासी १८ वर्षीय मुख्य आरोपित उनलाई साथ दिने कक्षा १२ मा अध्ययन गर्ने १८ वर्षीय एक जना र बनगाड कुपिण्डे नगरपालिका–९ निवासी कक्षा ९ मा अध्ययनरत १५ वर्षीय बालक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता लक्ष्मण वलीले जानकारी दिए ।

उनीहरू तीनै जनालाई २२ गते राती मोबाइल गस्तीमा रहेको प्रहरी टोलीले श्रीनगर बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । श्रीनगरमा भाडाको एउटै कोठामा सँगै बस्दै आएका साथीहरूलाई मुख्य आरोपितले ‘मलाइ आफ्नो पढाइ राम्रोसँग अगाडि बढाउन कम्प्युटरको आवश्यकता प¥यो, घरमा किन्ने पैसा छैन, त्यसैले मैले एसइइ दिएको विद्यालयमा गएर लिएर आम, सबैलाइ सिक्न सजिलो पनि हुन्छ’ भने पछि तीन जनाले योजना बनाएर चोरी गरेको वयान प्रहरीलाई दिएका छन् ।

प्रतिक्रिया