कुमारी बैंकको ‘डिजिटल इन्सेन्टिभ’ योजना सुरु

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गरी डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन दिने उद्देश्यले आकर्षक इन्सेन्टिभ योजना सुरु गरेको छ। योजना अन्तर्गत २०७७ पुस १ पछि कुमारी बैंकको मोबाइल एप्लिकेसन ‘कुमारी स्मार्ट’मा रजिष्टर भएका ग्राहकहरुले वार्षिक मोबाइल रेजिस्ट्रेसन शुल्कमा सय रुपैयाँ फिर्ता पाउनेछन्। सो रकम फिर्ता पाउन ग्राहकवर्गले रेजिस्ट्रेसन गरेको मितिदेखि ३ महिनाभित्र कुमारी स्मार्टमार्फत २ हजार रुपैयाँसम्मको कारोबार गरेको हुनुपर्ने बैंकले जनाएको छ।

सो कारोबारमा कुमारी स्मार्टमार्फत गरिएका हरेक क्यू आर भुक्तानी, टपअप तथा पानी, बिजुली, इन्टरनेट, टिभी भुक्तानी लगायत स्कुल कलेजको फी तथा मर्चेन्टको बिल भुक्तानी समेत सम्मिलित हुनेछन् ।

यो योजना सीमित अवधिको लागि मात्र रहनेछ। सो रिफन्ड योजनाले सेवाग्राहीहरुमा डिजिटल भुक्तानी प्रणालीतर्फ उत्साह जगाउने र डिजिटल प्रविधिको अधिकतम प्रयोग तर्फ डो¥याउने बैंकका डिजिटल प्रमुख अनिष ताम्राकारले बताए।

विगत २० वर्षदेखि निरन्तर आधुनिक बैंकिङ सेवासुविधाहरु दिँदै आएको कुमारी बैंकले डिजिटल रुपान्तरणलाई आत्मसात् गर्दै आएको जनाएको छ। बैंकका देशव्यापी १९२ शाखा सञ्जाल, १५६ एटीएम, २३ शाखारहित बैंकिङ इकाइ रहेका छन्।

प्रतिक्रिया