बेवारिसे सुत्केरी महिलाको उद्धार

दैलेख । दैलेखमा एक बेवारिसे सुत्केरी महिला र नवजात शिशुको उद्धार गरिएको छ । नारायण नगरपालिका–५ भैँसीखोर नजिकै इटाडाँडाबाट बेवारिसे सुत्केरी महिला र नवजात शिशुको उद्धार गरिएको हो । जिल्ला प्रहरी कार्यालय दैलेख र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको संयुक्त प्रयासमा उनिहरूलाई उद्धार गरिएको छ ।

बेवारिसे ३० बर्षीया सुत्केरी महिला, पाँचदिने नवजात शिशु र ती महिलाका चार वर्षीया छोरा समेतलाई उद्धार गरिएको हो । उनीहरू स्थानीय एक व्यक्तिले छोडेर गएको घरमा बस्दै आएका थिए । उक्त घरबाट बेवारिसे अवस्थामा रहेका सुत्केरी महिला र शिशुलाई उद्धार गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखमा बालअधिकार अनुगमन अधिकृत प्रभाकुमार विश्वकर्माले बताए ।

उद्धार गरिएको सुत्केरी महिला, नवजात शिशु र चार वर्षीया बालकलाई बालबालिकाको आपत्तकालीन उद्धार, राहत, संरक्षण र परामर्श सेवाका लागि सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्वारा सञ्चालिन बाल हेल्पलाइन १०९८, महिला बालबालिका केन्द्रको संरक्षणमा राखिएको बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले जानकारी दिइन् । ती महिला शारीरिक रूपमा अपांगसमेत छिन् । उनको दायाँ हात र खुट्टा चल्दैन ।

प्रतिक्रिया