विस्थापितका झुपडी हात्तीले भत्कायो

कञ्चनपुर । ढक्कामा बस्दै आएका आरक्ष विस्थपित १३ परिवारका झुपडी हात्तीको बथानले भत्काइदिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै विस्थापित परिवारको शिविरमा आइतबार राति छिरेको हात्तीको बथानले झुपडिभित्र राखेको अन्नबाली खानुका साथै झुपडी भत्काई बिचल्लीमा पारेको छ । ५० भन्दा बढीको संख्यामा रहेको हात्तीको बथानले झुपडी भत्काउन थालेपछि स्थानीय बासिन्दा भागेर ज्यान जोगाएका छन् ।

‘खाना खाएर सुत्ने तरखर गर्दै थियौँ’, आरक्ष संघर्ष समितिका अध्यक्ष हीरा सिंह भण्डारीले भने, ‘हात्तीको बथान शिविरमा छिरेर उपद्रव मच्चाउन थाल्यो ।’ बालबालिका बोकेर सुरक्षित स्थानमा पुगेर ज्यान जोगायौँ ।’ झुपडीभित्र रहेको अन्न, ओढ्ने ओछ्याउने र लगाउने कपडासँगै खाना पकाउने भाडाँकुडामासमेत हात्तीको बथानले कामै नलाग्ने गरी नोक्सानी पु¥याएको उनले बताए ।

साँझ ६ बजे नै शिविर नजिकैको क्षेत्रमा सडकमा सवारीका साधन हात्तीको अवरोधका कारण रोकिएपछि हो–हल्ला गरी, पटाका पड्काएर भगाए पनि पुनः रातीका बेला हात्तीको बथानले शिविरमै पुगेर झुपडी नै भत्काएर चिसो मौसममा बेहाल बनाएको शिवराज भारतीले बताए ।

हात्तीको बथानले शिविरका बासिन्दाले लगाएको गहुँबालीमासमेत नोक्सानी पुर्याएको छ । मजदुरी गरी झुपडीमा राखेको अन्नपात, लत्ताकपडा सबैमा हात्तीको बथानले नोक्सानी गरेपछि रातभर बालबालिकासहित एकसरो लुगामै रुखमुनि ओत लागेर आगो तापेर ज्यान जोगाएको शिविरका बासिन्दाले बताएका छन् ।

‘वर्षाैंदेखि पुनःस्थापनको माग गर्दै आए पनि पुनःस्थापन नहुँदाको पीडा त छँदै थियो’, जंगबहादुर खत्रीले भने, ‘जंगली हात्तीको पीडासमेत खेप्न बाध्य छौँ । ०५८ सालमा तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा ती परिवारलाई हटाइएको थियो । आरक्षबाट विस्थापनमा परेका परिवार ढक्का, तारापुर लगायतका क्षेत्रमा शिविर बनाइ बस्दै आएका छन् ।

प्रतिक्रिया