सेनाद्वारा महानगरलाई बहुउद्देश्यीय हल हस्तान्तरण

चितवन । भरतपुर महानगरपालिकालाई नेपाली सेना बटुक दल गण कसराद्वारा निर्माण गरिएको विपत् व्यवस्थापन बहुउद्देश्यीय भवन हस्तान्तरण गरेको छ । सो अवसरमा महानगरपालिका प्रमुख रेनु दाहालले नेपाली सेनाले नागरिकको सेवामा महत्वपूर्ण काम गरिरहेको बताएकी छन् । भरतपुर महानगरपालिका–२२ को गर्बेटाँडीमा निर्माण गरिएको सो भवनमा बाढीपहिरो पीडितहरूको प्राथमिक उद्धारका साथै विविध आर्थिक सामाजिक विकासका लागि उपयोग गरिने दाहालले बताइन् ।

सो अवसरमा पृतनापति ताराध्वज पाण्डेले नागरिक सहकार्यमा सैनिकले विगतदेखि उल्लेख्य काम गर्दै आएको बताउँदै नेपाली सेनाले राष्ट्रिय सुरक्षा, प्राकृतिक संरक्षण, विपत् व्यवस्थापन राहत र उद्दारका साथै विकास निर्माणमा उल्लेख्य भूमिका खेलिरहेको जानकारी दिए । उनले भवन समुदायको हितमा उपयोग हुने विश्वाससमेत व्यक्त गरे । भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णुराज महत्तोले नेपाली सेनाको बटुक दल गणले निर्माण गरी भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको यो बहुआयामिक हल विपत् ब्यावस्थापनका साथै समुदायको हित र आयआर्जनको रूपमा उपयोग गर्ने बताए ।

कार्यक्रममा बटुकदल गणका गणपति अरूण श्रेष्ठले बहुउद्देश्यीय हल निर्माण र यसको उपयोगिताबारे जानकारी दिँदै नेपाली सेना नागरिकको आर्थिक सामाजिक गतिविधि वृद्धिमा लागिरहेको बताए । नागरिक सैनिक सहकार्य र सम्बन्धलाइ सुमधुर बनाउन यस्तै थप कामहरू अगाडि बढाइरहेको बताउँदै उनले स्थानिय सरकारका प्रतिनिधिहरूसँग समन्वय र सहकार्य गरी १८ लाख रुपैयाँको लागतमा बहुउद्देश्यीय हल निर्माण गरिएको बताए । हल निर्माण भएसँगै बाढीपीडित, दैविक प्रकोप तथा सामाजिक कार्यहरूलाई व्यवस्थित ढंगले सञ्चालन गर्न सहयोग पुग्नेमा विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया