सरिताले ल्याइन् नारी संघर्षका कथा

काठमाडौं । नेपाली गायनमा संघर्ष गरेर आफ्नो फरक पहिचान बनाएका विभिन्न गायिका पुस्तकमा समेटिएका छन् । गायिका सरिता भारतीले लेखेको पुस्तक ‘नारी स्वरका कथा’ मा उनीहरुको संघर्ष कथा समेटिएको हो । लोक आधुनिक गायिका भारतीले दुई वर्ष लगाएर तयार गरेको पुस्तकमा पुराना तथा नयाँ पुस्ताका प्रायः गायिकाको आरोह, अवरोह र सफलताको विषय समेटिएको छ । प्रकाशक पुष्पराज पौडेलले कलाकारको जीवनसंघर्ष र सफलताका विषय पुस्तकमा आएको बताए । उनले भने, ‘पाठकले कलाकारको बारेमा निकै चासो राख्ने गर्छन् । सरिताजीले लिनुभएको अन्तर्वार्ता हेरेपछि म प्रभावित भएँ र कलाकारको संघर्षको यात्रालाई पुस्तकमा ल्याउनुपर्छ भन्ने सोचका साथ कृति बजारमा आएको छ । गायिकाको संघर्ष र सफलता पाठकलाई निकै चाख लाग्ने भएकाले यसपटक डेढ दर्जन गायिकाको संघर्ष र सफलतालाई नारी स्वरका कथामा समेटेका हौं ।’

पुस्तकलाई प्रकाशक र लेखकले संयुक्त रुपमा सार्वजनिक गरेका छन् । पुस्तकलाई केही दिनमै देशभरका पुस्तक पसलमा पु¥याउने प्रकाशक पौडेलले जानकारी दिए । पुस्तकमा अघिल्लो पुस्ताका गायिका मीरा राणा, ज्ञानु राणा, चन्द्रकला शाह, कविता आले, उन्नती बोहरा ‘शिला’ त्यसपछिका पुस्ताका गायिका कुन्ती मोक्तान, लोचन भट्टराई, कमल वली, इन्दिरा गुरुङदेखि पछिल्ला पुस्ताका गायिकाको संघर्षको कथा पुस्तकमा समेटिएको छ । संगीतमा कम्तिमा २० देखि ५० वर्ष तथा त्योभन्दा लामो समय काम गरेका गायिकाको कथा पुस्तकमा समेटिएको लेखिका भारतीले जनाइन् । उनले नारी भएर गायनमा लाग्दा गर्नुपरेको संघर्षलाई यसमा समेटिएको बताइन् । आधा दशकदेखि गायनमा सक्रिय सरिता भारतीका एक दर्जन गीत बजारमा आइसकेका छन् । उनको यो पहिलो पुस्तक हो ।

प्रतिक्रिया