लामिछानेको स्मरण

काठमाडौं । सुप्रसिद्ध निबन्धकार शंकर लामिछानेको ४५औं स्मृति दिवसको अवसर पारेर अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको छ । शंकर लामिछाने प्रतिष्ठानले आयोजना गरेको ‘शंकर र आजको साहित्य मन्थन’ कार्यक्रममा वक्ताले नेपाली निबन्धमा देवकोटापछि लामिछाने नै विशिष्ट निबन्धकारको रूपमा देखिएको धारणा व्यक्त गरे । प्रमुख वक्ताका रूपमा समालोचक प्रमोद प्रधानले देवकोटापछि त्यस्तो उचाइको लेखन नदेखिएकोमा चिन्ता पनि व्यक्त गरे ।

उनले ५० वर्षअघिको समयमा लेखिएका भए पनि लामिछानेका निबन्धमा पाइने दर्शन, विचार, संरचना, शैली र प्रयोग अद्वितीय भएको जिकिर गरे । उनले भने, ‘तर आजका निबन्धमा भने त्यसको अभाव देखिन्छ । उनको समयभन्दा धेरै सुगम समय भए पनि लामिछानेले गरे जति अध्ययन न त हामीले गर्न सकेका छौँ, न त उनको स्तरमा पुग्ने लेखन नै गर्न सकेका छौँ ।’ प्रधानले नेपाली साहित्यमा लामिछानेले दिएको योगदानको मूल्यांकन हुन नसकेको चिन्ता प्रकट गरे । अर्का वक्ता भूपेन्द्र खड्काले लामिछानेका लेखनका विशेषताबारे चर्चा गर्दै अहिले त्यस्तो गहन लेखनको अभाव रहेको जिकिर गरे । प्रकाशकका रूपमा आफूले उत्कृष्ट र गहन कृति खोजिरहेको तर पाउन नसकेको उनको भनाइ थियो । साहित्यकार युवराज नयाँघरेले नेपाली साहित्यमा लामिछानेको निबन्धकारिता निकै उच्चस्तर रहेको बताए । उनले निबन्ध लेखनमा लामिछानेको स्तर निकै समृद्ध र पठनीय रहेको विचार व्यक्त गरे ।

शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले संस्थाले लामिछानेको ‘एब्स्ट्¥याक्ट चिन्तन प्याज’ को अंग्रेजी अनुवाद गराइरहेको जानकारी दिए । उनले नेपाली निबन्ध विधाको विकासका लागि प्रतिष्ठानले योजनाबद्ध ढंगले काम गर्न लागिरहेको बताए । उनले भने, ‘नेपाली साहित्यको विकास र अन्तर्राष्ट्रिय स्तरमा पहुँच पु¥याउन प्रतिष्ठानले काम गरिरहेको छ ।’

सोही अवसरमा कथाकार पद्मावती सिंहको नवौं कथासंग्र्रह ‘एक झुल्को घाम’ को विमोचन गरिएको थियो । सोही अवसरमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा कथाकार माया ठकुरीले नेपाली साहित्यमा पछिल्लो समय नयाँ पुस्ता जुर्मुराइरहेको बताइन् । सो कृतिबारे बोल्दै ठकुरीले कथाहरूले उमेरले उत्तराद्र्धमा पुगेका महिलाहरूको मनोविज्ञानलाई सूक्ष्म रूपमा चित्रण गरेको जिकिर गरिन् । उनले भनिन्, पद्मावती सिर्जनामा रमाइरहने सक्रिय स्रष्टा हुन् ।’

कथाकार पद्मावती सिंहले आफूले समाजका विविध पक्षलाई कथाका रुपमा ल्याएको सुनाइन् । को कार्यक्रममा साहित्यकार हिरण्यकुमारी पाठक, रामप्रसाद पन्त, उन्नति बोहरा शीला, अनेसासका वरिष्ठ उपाध्यक्ष बाबा बस्नेत, अनेसास नेपाल च्याप्टरका अध्यक्ष सन्ध्या पहाडी, पुष्पा खनालले लामिछाने र सिंहका कथाका बारेमा धारणाहरू राखेका थिए ।

प्रतिक्रिया