खोजखबर

निकुञ्ज वरपर घरपालुवा पशुको बिमा

प्रकाश पन्त २०७७ माघ १२ गते ७:२९ मा प्रकाशित

हिउँचितुवा संरक्षणका लागि पाँच वटा स्थानीय समितिमार्फत शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले पशुबिमा कार्यक्रम कार्यान्वयन गरेको छ । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जबाट गाउँ छिर्ने हिउँचितुवाले डोल्पाको साल्दाङका किसान दोर्जे छिरिङ गुरुङका बर्सेनि १०÷१२ वटा भेडाबाख्रा र च्यांग्रा मार्ने गरेको छ । विगतमा आफूले पालेका भेडाबाख्रा र च्यांग्रा मारिँदा आफूले ठूलो हानि बेहोर्नुपरेको गुनासो गरेका उनले अब भने उचित क्षतिपूर्ति पाइने आशा गरेका छन् ।

‘हिउँचितुवाले पहिले जति नोक्सानी गरे पनि भने जस्तो क्षतिपूर्ति पाइएन,’ उनले भने, ‘पशुको बिमा गरेकोले उचित क्षतिपूर्ति पाउनेमा ढुक्क छु ।’ दुर्लभ वन्यजन्तु हिउँचितुवा जोगाउन निकुञ्जको मध्यवर्ती क्षेत्रका १ हजार ५ सय घरधुरीका झन्डै २५ हजार घरपालुवा जनावरको बिमा गर्न सुरु गरिएको निकुञ्जले जनाएको छ । पशुबिमा गरेपछि आफूले पालेका पशुचौपाय हिउँ चितुवाले मारिदिएमा दोर्जेजस्ता धेरै किसानले क्षतिपूर्तिस्वरूप बजार मूल्यकै हाराहारीमा रकम पाउनेछन् ।

हिउँचितुवाको मुख्य वासस्थान मानिएका डोल्पाको साल्दाङ, भिजेर, धो, फोक्सुन्डो र डोल्फु क्षेत्रका बासिन्दाको आम्दानीको प्रमुख स्रोत नै चौँरी, भेडाबाख्रा, च्यांग्रा हुन् । त्यसैले निकुञ्जभित्र पर्ने २४ वटा गाउँका प्रत्येक किसानले सरदर ५०÷६० देखि १५०÷२०० वटासम्म भेडाबाख्रा र च्यांग्रा पालेका छन् । उनीहरूको मुख्य आम्दानीको स्रोत भनेकै भेडाबाख्रा र च्यांग्रा पाल्नु हो । यसैबाट उनीहरू घर खर्च जुटाउछन् ।
चराउन वनमा लगेको बेला र राति खोरमै आएर हिउँचितुवाले आफ्ना पशुको सिकार गर्ने उनीहरूका गुनासो छ । हिउँचितुवाले ठूलो क्षति गर्दा समेत विगतमा एक रुपैयाँ पनि राहत नपाएको दाबी गर्ने किसान पशु बिमाबाट क्षतिपूर्ति पाइने भएपछि धेरै खुसी र उत्साहित छन् ।

पशुचौपाया मारेको रिसमा लुकीछिपी कसैले हिउँचितुवालाई नोक्सानी गर्न सक्ने भए पनि अब भने त्यस्तो नदोहोरिने फुर्वा साङ्मो गुरुङले बताइन् । उनले भनिन, ‘पशु बिमाले किसानमा हिउँचितुवा संरक्षण गर्नुपर्छ भन्ने भावना पैदा भएको छ । हिउँचितुवाले विशेषगरी जाडो महिनामा किसानले पालेका घरपालुवा जनावर बढी मार्ने गर्छ । किसान दोर्जे छिरिङ गुरुङका अनुसार खोरभित्र पसेर हिउँचितुवाले एउटै किसानको एकै रातमा ३०÷३५ वटासम्म च्यांग्रा मारेको छ । समुदायमा आधारित पशु बिमाले एकातिर त्यस्ता किसानको घाउमा मलमपट्टी लगाउन सघाउने र अर्कातिर हिउँचितुवा जोगाउन पनि सहयोग पुग्ने अपेक्षा निकुञ्जको छ ।

सन् २००९ मा गरिएको गणनाअनुसार हिउँचितुवाको प्रमुख वासस्थान मानिने शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा ११०÷१३० को संख्यामा हिउँचितुवा थिए । त्यसयता तिनको संख्या उल्लेख्य रूपमा बढेको निकुञ्जको अनुमान छ । पछिल्लो समय हिउँचितुवाको गणना गरिएको भए पनि अहिलेसम्म नयाँ तथ्यांक सार्वजनिक भएको छैन ।

हिउँचितुवाको संखया वृद्धिसँगै क्षति पनि बर्सेनि बढ्दै गएको गुनासो किसानले गर्ने गरेका छन् । हिउँचितुवाले बर्सेनि झन्डै दुई प्रतिशत घरपालुवा जनावर मार्ने गरेको निकुञ्ज प्रशासनले जनाएको छ । आफूले पालेका जनावर मारेको बदलामा हिउँचितुवालाई पनि हानि पु¥याउने प्रवृत्तिलाई पशु बिमाले निरुत्साहित गर्ने निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले ठानेका छन् ।

‘पशुचौपाया मारेको आक्रोशमा किसानले हिउँ चितुवालाई हानि नपु¥याऊन् भनेरै पशुबिमा गरिएको हो,’ उनले भने, ‘प्रतिशोध र द्वेषका कारण अब शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा हिउँचितुवाजस्ता दुर्लभ वन्यजन्तु मारिने छैनन् ।’ वन्यजन्तुबाट हुने क्षतिसम्बन्धी राहत निर्देशिकाअनुसार थोरै मात्र राहत पाइरहेका किसानले अब राहत र बिमाबाट बजार मूल्यकै हाराहारीमा रकम पाउनेछन् ।

पशु बिमाको लागि विश्व वन्यजन्तु कोष (डब्ल्युडब्ल्युएफ) नेपालले १ करोड ६० लाख रुपैयाँको कोष स्थापना गरेको निमित्त प्रमुख संरक्षण अधिकृत पौडेलले बताए । तीन वर्षसम्म हिउँचितुवाले क्षति नगरे आफूले प्रिमियमस्वरूप तिरेको रकम किसानले फिर्ता पाउनेछन् । हिउँचितुवा जोगाउन गठन गरिएका पाँच वटा संरक्षण समितिमार्फत् शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले पशुबिमा कार्यक्रम कार्यान्वयन गरेको छ । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा नेपाली सेनाले गस्ती गर्ने गरेको छ ।

हिउँचितुवा संरक्षणमा लागि समुदायमा आधारित पशुबिमा कार्यक्रम निकै प्रभावकारी हुने आशा डब्ल्युडब्ल्युएफ नेपालले गरेको छ । डब्ल्युडब्ल्युएफ नेपाल डोल्पामा कार्यरत चन्द्रजंग हमाल पशु बिमाले किसान तथा हिउँचितुवाबीच विद्यमान द्वन्द्व घटाउन र किसानको आयआर्जनको स्रोत पनि जोगाउन सहयोग गर्ने विश्वास गरेका छन् ।

‘प्रतिशोध लिन सिनोमा विष हालेर हिउँचितुवा मारिएका थुप्रै उदाहरण अरू देशमा छन्,’ उनले भने, ‘यहाँ त्यस्ता घटना हुन नदिन समयमै सजगता अपनाइएको छ ।’ केही न केही राहत दिएर किसानलाई पनि हिउँचितुवा संरक्षणमा सँगसँगै सहभागी गराउने यसको प्रमुख उद्देश्य रहेको उनले बताए । निकुञ्जका अनुसार समुदायले नै सञ्चालन र व्यवस्थापन गरेको हुनाले किसानले विनाझन्झट सहज रूपमा पशु बिमाको रकम पाउनेछन् ।

निकुञ्जले विभिन्न ठाउँमा तीन सय वटा क्यामरा जडान गरेर हिउँचितुवा तथा अन्य दुर्लभ वन्यजन्तुको निगरानी गरिरहेको छ । दुईवटा हिउँचितुवामा रेडियो कलर जडान गरेको निकुञ्जले आउँदो चैत महिनामा फेरि थप दुईवटा हिउँचितुवामा तिनको गतिविधि निगरानी गर्न रेडियो कलर जडान गर्न लागेको छ ।

पोहोरदेखि निकुञ्जले पशु बिमाको साथै चोरीसिकार नियन्त्रण, जनचेतनामूलक अभियान लगायतका काम थालेकोमा किसानहरू खुसी देखिन्छन् । चोरीसिकार नियन्त्रण गर्न कडाइ गरिएपछि पछिल्लो समय हिउँचितुवाको मुख्य आहारा मानिने नाउरजस्ता वन्यजन्तुको संख्या पनि उल्लेख्य रूपमा वृद्धि उनीहरूले बताउने गरेका छन् । (बिबिसी)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय