नेकपा फुटेको छैन : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले नेकपाको दुवै पक्षको दावी अस्वीकार गर्ने निर्णय गरेको छ। नेकपाका दुवै पक्षले आयोगमा पेस गरेको कागजपत्र र जवाफका आधारमा आइतबार साँझ आयोगमा बसेको बैठकले उनीहरूको दावी अस्वीकार गर्ने निर्णय गरेको हो।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेकपाका दुवै पक्षले विवरण संशोधनका लागि पेश गरेको कागजपत्र अनुसार संशोधन गर्न नमिल्ने देखिएको छ। ‘उहाँहरुले अहिले दावी गर्दै पेश गरेको विवरण संशोधन गर्न कानुनसम्मत देखिएन,’ उनले भने, ‘त्यसकारण आयोगले साविककै विवरण अनुसार अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै रहेको विवरणका विषयमा जानकारी गराउने निर्णय भएको छ।’ उनले दुवै पक्षलाई छलफलमा भएको निर्णयको पत्र पठाइने जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस अनुसार पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक रुपमा फुटिसकेको नेकपा भने आयोगको यो निर्णयसँगै कानूनी रुपमा अझै पनि एउटै पार्टीका रुपमा देखिएको छ। पुस ५ पछि नेकपा ओली पक्ष र प्रचण्ड–माधव पक्ष गरी २ भागमा राजनीतिक रूपमा विभाजित छ।

प्रतिक्रिया