आगामी दशैंमा ‘परदेशी–२’

काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’ आगामी वर्षको दशैंमा प्रदर्शन हुने भएको छ । हालै चलचित्रको छायांकन सकिएसँगै निर्माण टिमले आउँदो वर्षको दशैंलाई प्रदर्शन मिति तय गरेको हो । निर्माता राजेश वंशलले कोरोना कहरपछि लगाइएको बन्दाबन्दीअघि र पछि गरी ५० दिन लगाएर चलचित्रको छायांकन गरिएको जनाए । चलचित्रको अमेरिका, भारतको विभिन्न स्थानसँगै नेपालको पोखरा, पाल्पा, चितवन, काठमाडौं लगायतका स्थानमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ । निर्माता वंशलले छायांकन सकिएको र परिस्थिति सामान्यतर्फ फर्किदै गरेको हुनाले प्रदर्शन मिति तय गरिएको बताए ।

उनले भने, ‘यस वर्षको दशैंमा प्रदर्शन गर्ने सोचका साथ फिल्मको छायांकन सुरु गरेका थियौं, तर कोरोना महामारीका कारण सम्भव भएन । अब आउँदो वर्ष दशैंमा प्रदर्शन गर्छौ ।’ चलचित्रको कथा दशैंको परिवेशसँग जोडिएको हुनाले प्रदर्शनका लागि दशैंलाई नै रोज्नुपरेको निर्देशक रायमाझीले बताए । उनले चलचित्रको विषयवस्तुले दर्शकको मनछुने जिकिर गरे । उनले भने, ‘हामीले यसपटक अध्ययनका लागि विदेशिने नेपाली विद्यार्थीको विषयवस्तुलाई केन्द्रमा राखेका छौँ । जुन विषयवस्तुलाई दर्शकले रुचाउनुहुनेछ ।’

नारायण इन्टरनेसनल प्रालिको ब्यानरमा राजेश वंशल र नारायण रायमाझीले संयुक्तरुपमा चलचित्र निर्माण गरेका हुन् । चलचित्रको कथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रहेका गीतकार रमेश विजीले तयार पारेका हुन् । चलचित्रमा अभिनेता दीलिप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देवेन्द्र बब्लू लगायतका कलाकारको अभिनय छ । लोकगायक प्रकाश यसै चलचित्रमार्फत अभिनेताको रुपमा डेब्यु गर्दै छन् ।

यसअघि दर्शकका लागि ‘गोर्खा पल्टन’, ‘परदेशी’ लगायतका सुपरहिट चलचित्र दिएका निर्देशक रायमाझी र निर्माता वंशलको ‘परदेशी–२’ तेस्रो चलचित्र हो । सुदिप कुवँर मुख्य सहायक निर्देशक रहेको चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, बिबी अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी, श्यामस्वेत रसाइलीको ध्वनी मिश्रण तथा दीर्घ खड्काको सम्पादन छ ।

प्रतिक्रिया