डा. सन्दुक रुइतसहित दुई विशेषज्ञलाई अवार्ड

काठमाडौं । भिजन एक्सलेन्स अवार्डबाट प्रख्यात नेत्र विशेषज्ञ डा। सन्दुक रुइतसहित अन्य दुई विशेषज्ञलाई सम्मान गरिएको छ । आँखा स्वास्थ्य सेवाका लागि वकालत गरेको तथा यसको कार्यान्वयन र संस्थागत संरचनाको विकास गरि अन्धोपन नियन्त्रण कार्यमा उल्लेख्य भूमिका निर्वाह गरेका कारण भिजन एक्सलेन्स अवार्डबाट विशेषज्ञहरूलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरूमा प्रख्यात नेत्र विशेषज्ञ डा सन्दुक रुइतसहित नेत्र विशेषज्ञहरू प्रा डा रामप्रसाद पोख्रेल र डा गोपालप्रसाद पोख्रेल छन । नेपाल नेत्रज्योति सङ्घ तथा नेपाल आँखा अस्पतालको संयुक्त आयोजनामा भएको कार्यक्रममा पूर्वराष्ट्रपति रामवरण यादवले अवार्डबाट सम्मान गरे । नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्रा डा चेतनाथ पन्तले आँखा क्षेत्रको सेवा विस्तारमा उहाँहरूको नेतृत्व, भिजन र मार्गनिर्देशनको महत्त्वपूर्ण योगदान भएकाले सम्मान गरिएको बताए ।

सम्मानित डा सन्दुक रुइत तिलगङ्गा इन्स्टिच्युटल अफ अप्थाल्मोलोजिका संस्थापक एवं कार्यकारी निर्देशक हुन, भने प्रा डा रामप्रसाद पोख्रेल नेपाल आँखा अस्पताल र नेपाल नेत्रज्योति सङ्घका संस्थापक मध्येका एक हुन । त्यसैगरी डा गोपालप्रसाद पोख्रेल नेपाल आँखा अस्पतालका अध्यक्ष एवं नेपाल नेत्रज्योति सङ्घका कार्यकारी सदस्य हुन ।

प्रतिक्रिया