चार वर्षपछि ‘सत्यम्’ मा हमाल

काठमाडौं । अभिनेता राजेश हमाल चाँडै नयाँ चलचित्र ‘सत्यम्’ मा देखिने भएका छन् । शंकर कार्कीले निर्देशन गर्न लागेको उक्त चलचित्रमा उनी प्रमुख भूमिकामा रहने जनाइएको छ । अभिनेत्रीको छनोट भइनसकेको यो चलचित्र दुई महिनापछि छायांकनमा जाने निर्माण पक्षले बताएको छ ।

अभिनेता हमाल लामो समयपछि यसै चलचित्रमार्फत पर्दामा आउन लागेका हुन् । कुनै समय पोस्टरमा हमालको तस्बिर राखेर दर्शक तान्ने निर्माताको लहडै थियो । त्यस्तै, महँगो पारिश्रमिक दिएर उनलाई लामो छोटो भूमिकामा लिन निर्माता निकै लालयित हुन्थे । चलचित्रमा हरेक भूमिकामा आफूलाई उभ्याउन हमाल पनि लालयित हुन्थे । जसका कारण चलचित्रमा उनको प्रभाव विस्तारै कम हुँदै गयो ।

उनले ‘बागमती’ र ‘शकुन्तला’ जस्ता चलचित्रमा काम गरे पनि उनले सोचेजस्तो दर्शकले मन पराएनन् । यसबीचमा अभिनेता हमालले चार वर्षसम्म कुनै पनि चलचित्रमा काम गरेनन् । बरु उनले यस अवधिमा साढे दुई दर्जनभन्दा बढी स्क्रिप्ट पढे पनि कुनै कथा मन पराएनन् । यहीबेला उनले चलचित्र निर्देशनमा हात हाल्न लागेको हल्ला खुबै चल्यो । तैपनि उनले निर्देशन गर्ने भनिएको चलचित्रको अत्तोपत्तो छैन । चार वर्षपछि हमालले ‘सत्यम्’ मा काम गर्ने पक्का गरेका छन् । तर, यसबीचमा उनले केही म्युजिक भिडियोमा काम भने गरेका छन् ।

प्रतिक्रिया