खोजखबर

सडक विस्तारसँगै फेरियोे भोजपुरको मुहार

युवराज विष्ट २०७७ माघ ९ गते ८:०३ मा प्रकाशित

भोजपुर जिल्ला सडक पहुँचमा जोडिएको लामो समय भएको छैन । छिमेकी जिल्ला धनकुटामा सडक विस्तार भएको करिब ३० वर्षपछि भोजपुरमा सडकको विकास भएको हो । यहाँको सडक ०५६ सालबाट खन्न सुरु भएको स्थानीय गणेश श्रेष्ठले बताए । श्रेष्ठका अनुसार तत्कालीन ग्रामीण सडक परियोजना (¥याप) अन्तर्गत सर्वप्रथम भोजपुर–च्यानडाँडा सडक खनिएको थियो । त्यसपछि मात्र लेगुवा–भोजपुर सडकको ट्रयाक खोलिएको उनले बताए । २०६५ असार २६ गते भोजपुर जिल्लामा नेपाली सेनाको हेलिकोप्टरले बोकेर पहिलो पटक टँुडीखेलमा महिन्द्रा जिप ओरालेको थियो ।

त्यसबेलासम्म हिउँदको समयमा दुई दिनसम्म लगाएर भोजपुरबाट लेगुवासम्म ट्रयाक्टरहरू आवतजावत गर्ने गर्दथे । बसको यात्रा गर्न भने करिब ६६ किलोमिटर पैदल यात्रा गरेर धनकुटाको सीमा क्षेत्र लेगुवा पुग्नुपर्ने वाध्यतामा थिए भोजपुरबासी । नुन, चामल, मट्टीतेल १० दिनसम्म ढाकरमा बोकेर ल्याउनुपर्ने अवस्था यहाँका स्थानीयले भोगेका छन् । नुनको जोहो गर्न तत्कालीन अवस्थामा सुनसरीको चतरा, धनकुटाको हिले, उदयपुरको बेलटार मुख्य बजार रहेको स्थानीय वृद्ध मानबहादुर विष्टले बताए । उनले भने, ‘भोजपुरमा यातायातका क्षेत्रमा भएको विकास हेर्दा आफैँलाई अचम्म लाग्छ, हाम्रो पालामा बस चढ्न पाइएला जस्तो लागेको थिएन तर बसमा सवार गर्न भने पाइयो ।’

पछिल्लो दुई दशकको अवधिमा भोजपुरले सडकको क्षेत्रमा अग्रता लिएको छ । विशेष गरेर भोजपुर र धनकुटाको सीमामा रहेको अरुण नदीमा पक्की पुल बनेपछि भोजपुरको विकासले अग्रता लिएको हो । आजभन्दा करीब आठ वर्षअघि अरुण नदीमा पुल बनेपछि भोजपुरवासीले यातायातको सहज पहुँच पाएका हुन् । त्यसबेला भोजपुर खण्डमा कच्ची बाटोको ट्र्याक खोलिएको थियो ।

अहिले भने एसियाली विकास बैंकको लगानीमा भोजपुर–लेगुवा ६६ किलोमिटर सडक कालोपत्र भएको छ । यो सडक जिल्लामा कालोपत्रे भएको पहिलो कालोपत्रे सडक पनि हो । भोजपुरको लेगुवा, धनकुटा हुँदै धरान जोड्ने यो सडकको कुल लम्बाइ करिब १ सय ५४ किलोमिटर छ । अहिले सुविधायुक्त बसहरू, भोजपुरबाट दैनिक काठमाडौं, विराटनगर, धरानलगायत सहरका लागि छुट्ने गरेका छन् ।

राष्ट्रिय राजमार्गसँग जोडिएको यो सडक भोजपुरवासीका लागि विकासको एउटा उपहारका रूपमा प्रकट पनि भयो । यस जिल्लालाई काठमाडौंसम्मको छोटो सडक सञ्जालसँग जोड्नका लागि देउराली चोक–चखेवा भञ्याङ ४२ किलोमिटर सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा छ । खोटाङ जिल्ला हुँदै यो सडक विस्तार भइरहेको छ । आगामी ६ महिनाभित्र सक्ने लक्ष्यका साथ काम भइरहेको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय पाँचथरले जनाएको छ । कालोपत्रको काम भएकाले मौसमका कारण कठिनाइ भए पनि कामलाई गति दिइएको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालयका प्रमुख सुरेश न्यौपानेले बताए ।

प्रमुख न्यौपानेले भने, ‘यो सडक निर्माणको काम तीव्र गतिमा बढेको छ, लकडाउन तथा मौसमका कारण कालोपत्रको काममा केही बाधा पुगेको छ, तैपनि अबको ६ महिनाभित्र सम्पूर्ण काम सक्ने तयारीका साथ काम गरिरहेका छौँ ।’

तामाङ गोल्डेन गुड्सले आर्थिक वर्ष ०७२÷७३ बाट कामको थालनी गरेको थियो । यसअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि बन्दाबन्दी, मौसमलगायतका कारण केही ढिला भएको निर्माण कम्पनीले जनाएको छ । खास गरेर काम गर्ने समय पाँच महिना मात्र उपयुक्त हुने भएकाले काममा केही बाधा पुग्ने गरेको कम्पनीका इञ्जिनियर शैलेन्द्र मल्लले बताए । आउने जेठ महिनाभित्र निर्माण सम्पन्न गर्ने उनको दाबी छ ।

सडकको निर्माण लागत करिब ६५ करोड रहेको छ । सडक निर्माणको काम दुई प्याकेजमा भइरहेकोे छ । यसमध्ये पहिलो प्याकेजको काम पूर्णरूपमा सम्पन्न भएको छ । सडक निर्माणले गति लिएपछि स्थानीयमा उत्साह थपिएको छ । पश्चिमी क्षेत्रबाट भोजपुर नगरपालिकाकाको बोखिम, शिद्धेश्वर, गुप्तेश्वर र टेम्केमैयुङ गाउँपालिकाको सेतीबगर, शिरदली, मेस्पाङ, खोङटाङ, अन्नपूर्णलगायत ठाउँलाई छोएर यो सडक विस्तार भइरहेको छ । एक दिनसम्मको पैदल यात्रा गरेर भोजपुर बजार आउनुपर्ने अवस्था रहेका यस क्षेत्रका मानिसहरू सडकको सुविधा भएपछि आफ्ना क्षेत्रमा उत्पादन भएका कृषि उपज बिक्री गरेर घर फर्कन पाएका छन् । यस क्षेत्रमा उत्पादन भएका कृषिउपजहरू अहिले काठमाडौं, धरान विराटनगरलगायतका सहरमा पुग्ने गरेका छन् ।

प्रदेश सरकारको करिब १७ करोड लागतमा जिल्लाको एक मात्र टक्सार विमानस्थलबाट सदरमुकामसम्मको पाँच किलोमिटर सडक कालोपत्र गरिएको छ । यो प्रेदश–१ सरकारले कालोपत्र गरेको भोजपुरको पहिलो सडक पनि हो । यहाँ पहिलो आस्फाल्ड प्रविधिबाट करिब १७ करोड लागतमा सडक कालोपत्र भएको छ । त्यस्तै रामप्रसाद राई गाउँपालिकाको डढुवादेखि आरीखोलासम्मको करिब २० किलोमिटर सडक कालोपत्रको काम भइरहेको छ । पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत निर्माण भइरहेको यो सडकमा प्रदेश सरकारको करिब ५४ करोड लगानी रहेको छ । जुन सडकको काम २० प्रतिशत बढी सकिएको पूर्वाधार विकास कार्यालयका इञ्जिनियर डिल्लीश्वर कार्कीले बताए । यो सडक अबको करिब २६ महिनामा सम्पन्न गरिसक्नुपर्नेछ ।

त्यस्तै प्रदेश सरकारले षडानन्द नगरपालिका–१२ तुर्केपुल–फाली दोबाटो २२ किलोमिटर सडक कालोपत्रको काम सुरु गरेको छ । ६१ करोड ६० लाख लागतमा आस्फाल्ड प्रविधिबाट कालोपत्र भइरहेको सो सडक आगामी दुई वर्षभित्र सम्पन्न गर्ने सम्झौता रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

भोजपुरलाई छोटो सडक मार्गबाट तराईका जिल्लासँग जोड्ने लक्ष्यका साथ हतुवागढी–९ हसनपुरको चुहार र उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी जोड्ने दूधकोसी नदीमा मोटर गुड्नसक्ने पक्की पुल निर्माण भइरहेको छ । प्रदेश–१ सरकारको २१ करोड, २३ लाख १२ हजार ४ सय ७ लागतमा पुल निर्माण सुरु भएको हो । पुलको लम्बाई ९० मिटर र चौडाई १० मिटर रहेको छ । पुल भूकम्प प्रतिरोधी हुने यातायात पूर्वाधार निर्देशनालय प्रदेश–१ का प्रमुख रेवतीरमण पराजुलीले बताए ।

सदरमुकामबाट दूधकोसी पुलसम्मको लम्बाइ करिब ६५ किलोमिटर रहेको छ । तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्ग भएकाले यसले जिल्लाको आर्थिकरूपमा टेवा पुग्ने हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताए । अध्यक्ष राईले भने, ‘प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको यो पुलको काम धमाधम भइरहेको छ, हामीले पनि बेलाबेलामा अनुगमन गरिरहेका छाँै, यो पुल निर्माण भएपश्चात् दक्षिणी क्षेत्र हुँदै तराईका जिल्ला पुग्न अत्यन्तै छोटो बाटो हुनेछ । यसबाट हाम्रो करिब ४५ किलोमिटर बाटो छोटो हुने देखिन्छ ।’ पूर्वक्षेत्रबाट धरानसम्म पुग्न भोजपुरवासीले १ सय ५४ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ ।

दक्षिणी क्षेत्रबाटै भोजपुर हतुवागढीको होमताङ र धनकुटाको मुघा जोड्ने सुन बालुवा र आमचोक गाउँपालिकाको पाङचा सेतो गरगरे र उदयपुरको चौदण्डीगढी रानीटार जोड्ने दूधकोसी नदीमा पनि संघीय सरकारको ठूलो लगानीमा पक्की पुल निर्माण भइरहेको छ । यी तीनवटै पुल निर्माण भएपछि दक्षिणी क्षेत्रका सबै नाका सडकको सहज पहुँचमा जोडिने छन् ।

त्यस्तै उत्तर–दक्षिण सडक विस्तार रणनीतिक योजना अनुसार उदयपुरको मैनामनी हाल निर्माण भइरहेको दूधकोसी पुलबाट हतुवागढी, आमचोक गाउँपालिकाबाट भोजपुर सदुरमुकाम हुँदै संखुुवासभाको किमाथाङकासम्म सडक जोड्ने लक्ष्य रहेको प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले बताए । मुख्यमन्त्री राईले भने, ‘तराई हुँदै भोजपुरलाई उत्तर–दक्षिण सडकको पहुँचमा जोड्नका लागि प्रदेश सरकारको प्राथमिकता प्राप्त रणनीतिक वैकल्पिक सडकका रूपमा हामीले यो सडकलाई राखेका छौँ । यसका लागि मेरो पहलमा एसियाली विकास बैंकको लगानीमा आरसी आइपी संस्थाले आधारभूत प्रक्रिया पूरा गरेर डिपिआर बन्ने तयारीमा छ । तत्काललाई चतरादेखि भोजपुर सदरमुकाम हुँदै दिङ्गलासम्म र भविष्यमा किमाथाङ्कासम्म जोडेर वैकल्पिक राजमार्ग बनाउने प्रदेश सरकारको योजना छ ।’

त्यसैगरी प्रदेश सरकारले मुख्य सडकसँगै यहाँ आवश्यक पर्ने सम्पूर्ण नदी, तथा खोलामा पुल निर्माणको प्रक्रिया सुरु गरेको छ । जिल्लाभित्र प्रदेश सरकारको लगानी तथा समन्वयमा १३ वटा पक्की पुल बन्ने पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । जसमध्ये आधा दर्जनभन्दा बढी पुलको निर्माण सुरु भएको र अन्यको बोलपत्र भइरहेको कार्यालयको भनाइ छ ।

रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिका जोड्ने कावा खोलामा प्रदेश–१ सरकारको समन्वय तथा स्विस सरकारको पाँच करोड लागतमा पक्की पुल निर्माण भइरहेको छ । पुल ४५ मिटर लम्बाइ, ६ मिटर चौडाइ र १ दशमलव २० मिटरको दुवैतिर पैदल हिँड्न मिल्ने गरी बनाउन लागिएको छ । त्यस्तै स्विस सरकारको तीन करोड लागतमा सिक्तेल खोलामा निर्माण भइरहेको २५ मिटर लामो पक्की पुलको काम भने अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।

त्यस्तै भोजपुर नगरपालिका–१२ टक्सार र रामप्रसादराई गाउँपालिकाको मानेभञ्याङ जोड्ने पिखुवा खोलामा पनि पक्की पुल निर्माण भइरहेको छ । पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत प्रदेश–१ सरकारको ६ करोड, १३ लाख ५३ हजार लागतमा ७६ दशमलव ३ मिटर लामो मोटेरेवल पक्की पुलको काम ६० प्रतिशत सकिएको निर्माण कम्पनी मार्सेली निर्माण सेवाका प्रमुख श्याम श्रेष्ठले बताए । पुलको डिजाइन अवधि ५० वर्षको रहेको छ । सम्झौताअनुसार पुलको निर्माण दुई वर्ष अर्थात् ०७८ असारमा सम्पन्न गरिसक्नुपर्नेछ ।

प्रदेश सरकारकै ३ करोड २४ लाख लगानीमा बन्दै गरेको आरीखोला पक्की पुलको ५० प्रतिशत काम सकिएको छ । जुन पुलको लम्बाई २५ मिटर रहेको छ भने निर्माण अवधि ०७८ साल फागुनसम्म रहेको छ । तमुटार साम्पाङमा प्रदेश सरकारको ६ करोड ३३ लाख लागतमा पक्की पुल निर्माण भइरहेको छ । यो पुल ०७६ सालमा सम्झौता भएको छ भने ०७८ चैतमा सम्पन्न गर्नुपर्ने पूर्वाधार विकास कार्यालय भोजपुर निमित्त प्रमुख अमृतकुमार दाहालले बताए ।

भोजपुरलाई उत्तरी क्षेत्रबाट संखुवासभासँग जोड्ने सटीघाटमा पनि पुल निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । सो स्थानमा पुल निर्माण गर्न पाँच करोड बजेट आएको षडानन्द नगरपालिका उपप्रमुख मेरीका राईले जानकारी दिइन् । प्रदेश सरकारले बोलपत्र आह्वान गरेपछि काम सुरु हुने उनले बताइन् । उनको अनुसार अहिले षडानन्द नगरपालिकाको १४ वटै वडामा कच्ची सडक विस्तार भएको छ । यस्तै पौवादुङमा गाउँपालिकाले पनि गाउँपालिका केन्द्र च्याङ्ग्रेबाट मानेडाँडासम्मको करिब चार किलोमिटर सडक समानीकरणका आधारमा प्रदेश सरकारको तीन करोड र अन्य गाउँपालिकाको लगानीमा ग्राबेल गरेको छ ।

विश्व वंैकको एसएन आरटिपी कार्यक्रमअन्तर्गत करिब ३० करोड लागतमा सडक स्तरोन्नति भइसकेको छ । यस कार्यक्रमअन्तर्गत भोजपुर–मानेभञ्याङ–घोडेटार, ४८ किलोमिटरमध्ये १२ दशमलव पाँच किलोमिटर सडकको स्तरोन्नतिको काम भइसकेको छ । त्यस्तै भोजपुर दिङ्गला सडकखण्डमध्ये पानीट्यांकीबाट बाघखोरसम्मको १३ दशमलव ३६ किलोमिटर सडक स्तरोन्नतिको काम पनि गत वर्ष नै सम्पन्न भएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय