अज्ञात रोगका कारण मर्न थाले कुखुरा

सिमकोट । हुम्ला गाउँपालिका–२ थालीमा अज्ञात रोगका कारण दैनिक १५ देखि २० कुखुरा मर्ने गरेका छन् । विगत तीन दिनदेखि अज्ञात रोगका कारण यहाँका दैनिक करिब २० वटा स्थानीय जातका (लोकल) कुखुरा मर्ने गरेको स्थानीयवासी बताउँछन् । पाँच दिनअगाडि मात्रै बाजुराको कोल्टीबाट सर्केगाड गाउँपालिका–२ उनपानी र रिप गाउँका दुई जना व्यापारीले बिक्रीका लागि १६ वटा कुखुरा ल्याएपछि गाउँका स्थानीय जातका (लोकल) कुखुरामा रोग फैलिएको बताइएको छ ।

कुखुरामा कुन रोग लागेको हो भन्ने पहिचान हुन नसकेको भए पनि स्थानीयवासीले मरेका कुखरा दैनिकजसो पकाएर खाने गरेका छन् । जिल्ला बाहिरबाट ती कुखुरा नल्याउँदासम्म गाउँका कुखुरामा कुनै पनि रोग नलागेको स्थानीयवासी लामा रावलले बताए । बाहिरबाट ल्याएका कुखुराबाट रोग सरेको हुन सक्ने उनको अनुमान छ । बाहिरबाट ल्याएका कुखुरा जोडीको ५ हजार ५ सयका दरले गाउँलेले किनेपछि यहाँका स्थानीय जातका कुखुरामा रोगको प्रकोप देखापरेको स्थानीयवासी रावलको भनाइ छ ।

कुखुरामा कराउने र झोक्राउने जस्ता लक्षण देखिने र केही समयपछि मर्ने गरेको छ । गाउँमा सयौँ कुखुरा मरिसक्दा पनि खार्पुनाथ गाउँपालिका पशु शाखा कार्यालयले यसतर्फ गम्भीर हुन सकेको छैन । मरेको कुखुरालाई क्षेत्रीय प्रयोगशालामा पठाएर परीक्षण गरेपछि खाने योग्य भए मात्र खानुपर्ने पशुसेवा तथा भेटेनरी कार्यालय हुम्लाका सूचना अधिकारी कृष्ण रोकायाले बताए । थाली गाउँमा अज्ञात रोगका कारण कुखुरा मर्ने गरेको जानकारी हालसम्म नआएको खार्पुनाथ गाउँपालिका पशुसेवा प्रमुख नरेन्द्र शाहीले बताए ।

प्रतिक्रिया