युट्युबमा ‘छ माया छपक्कै’

काठमाडौं । दीपेन्द्र लामाद्वारा निर्देशित चलचित्र ‘छ माया छपक्कै’ युट्युबबाट सार्वजनिक भएको छ । लामाकै लेखन रहेको उक्त चलचित्र आमा अग्निकुमारी मिडियाको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे लगायतको समूहले निर्माण गरेको यस चलचित्रले नेपाली राजनीति र सामाजिक विषयलाई उठान गरेको छ ।

निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत चलचित्र युट्युबमा सार्वजनिक भएको जानकारी दिएका छन् । उनले चलचित्र हल र डिसहोममा समेत चलचित्रले दर्शकको राम्रो माया पाएको जनाउँदै युट्युबमा पनि दर्शकले माया गर्ने विश्वास राखेको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘हाम्रो पछिल्लो फिल्म ‘छ माया छपक्कै’ पनि युट्युबमा आएको छ । यो राजनीतिक कथावस्तुमा आधारित फिल्मलाई तपाईंहरुले धेरै माया दिनुभएको छ । धेरै दर्शकले यो फिल्मलाई हलमा, फिल्म एपमा, डिसहोममा हेरेर माया गर्नुभो, आजदेखि एचडी क्वालिटीसहित युट्युबमा आएको छ । हेरेर प्रतिक्रिया पाऊँ ।’ चलचित्रमा दीपकराज गिरी, अभिनेत्री केकी अधिकारी, केदार घिमिरे, सुपुष्पा भट्ट, जितु नेपाल, रमा थपलिया, प्रकाश घिमिरे, शारदा गिरी लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया